सरकारले धोका दिएको आरोप लगाउँदै डा. केसीले सुरु गरे आमरण अनसन


 


इलाम, पुस २५ त्रिवि शिक्षण अस्पतालका विशेषज्ञ डा गोविन्द केसीले इलामबाट १६ औँ आमरण अनसन सुरु गर्नुभएको छ । आफूसँग भएका पूर्व सम्झौताहरु कार्यान्वयन गर्नुको सट्टा सरकारले धोका दिएर शिक्षा तथा स्वास्थ्य समितिबाट चिकित्सा शिक्षा विधेयक पास गरेको भन्दै आजदेखि डा केसीले आमरण अनसन सुरु गर्नुभएको हो ।

डा केसीले आज अपराह्न ४ :३० बजेबाट अनशन सुरु गर्नुभयो । सरकारले सम्झौता अनुसार काम नगरेको कारण १६औँ अनसन शुरु गर्नुपरेको डा केसीले बताउनुभयो । डा.केसी इलाम फुलगाछीमा अवस्थित शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजना झापा फिल्ड इलामको भवनको भुइ तल्लाको हलमा आमरण अनसन सुरु गरेको स्थानीय पत्रकार गणेश घिमिरेले जानकारी दिनुभयो ।

यसअघि अनशन शुरु गर्न इलाम आउनुभएका डा. केसीले पुस २५ सम्मलाई माग सम्बोधन गर्न समय दिदै अनसनको कार्यक्रम स्थगन गर्नुभएको थियो ।

गत साउन १० गते सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने, संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम सुरु गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएस भर्ना सुरु गर्नुपर्ने, नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारवाही गर्नुपर्नेलगायतका माग डा. केसीले राख्नुभएको छ ।

प्रकाशित मिति: २५ पुस २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्