​नयां युगको आरम्भ


 


bidhya bhandari

नेपालको संविधान जारी भइसकेपछिको प्रथम र गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारीको विजयको साङ्केतिक अर्थ छ । यसले नयाँ बिहानी सुरु भएको जनाउ दिँदै शङ्खध्वनी प्रतिध्वनित गरेको छ ।

राष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारीको विजयका धेरै अर्थहरू छन् । यो त्यस्तो युगको सङ्केत हो, जहाँ भोजपुर जस्तो विकट ठाउँमा जन्मेकी सामान्य नागरिक राष्ट्राध्यक्ष जस्तो मुलुकको सर्वोच्च र गरिमामय ओहदामा पुग्न सक्छिन् ।

गणतन्त्रको सौन्दर्य र सामथ्र्य भनेकै यही हो । यस अघि धनुषाको सपहीमा जन्मेका एकजना किसान पुत्र रामवरण यादवले यो सम्मान प्राप्त गरेका छन् । यस निर्वाचनले गणतन्त्रको यस अर्थवत्तालाई नयाँ ढङ्गले उद्घाटन गरेको छ ।

Pradip_Gyanwali
लेखक प्रदीप ज्ञवाली

विद्यादेवी भण्डारी त्यस्ती महिलाको नाम हो, जसले सङ्घर्षको निकै कष्टकर चरण पार गरेर यो उचाइ प्राप्त गरेकी छिन् । प्रतिकूल पारिवारिक पृष्ठभूमिमा वामपन्थी आन्दोलनमा सङ्लग्न भएकी उनले पारिवारिक दबाबलाई अस्वीकार गर्दै जननेता मदन भण्डारीसँग वैवाहिक सम्बन्ध गाँसेकी थिइन् ।

पञ्चायती शासकहरूको वक्र दृष्टिमा परेका र हरबखत जिन्दगी एवं मृत्युबीचको डोरीमा पाइला चाल्दै हिंडेका भूमिगत नेतासँग दाम्पत्य सम्बन्ध स्वीकार्नु आफैमा जोखिमपूर्ण निर्णय थियो । त्यसमाथि, विवाह भएको ११ बर्ष बित्दानबित्दै र सँगै बस्न सुरु गरेको तेस्रो बर्षमै दासढुङ्गा घटनामा पति गुमाउनु विद्या भण्डारीको व्यक्तिगत जिन्दगीको कहिल्यै निको नहुने घाउ थियो ।

हामी कल्पना मात्रै गर्न सक्छौं– पति वियोगपछि महिलाले झेल्नु पर्ने सामाजिक, पारिवारिक र मनोवैज्ञानिक पीडा कति गहिरो हुन्छ । तर उनी घाउ सुम्सुम्याउँदै राजनीतिको उर्लिंदो भेलमा होमिइन् ।

उनको सफलता महिलाहरूलाई सधैभरि कमजोर, आश्रित र क्षमताबिहीन ठान्ने पितृसत्तात्मक प्रणालीमाथिको गतिलो जवाफ हो । २०५० माघमा भएको उपनिर्वाचनमा नेपाली काङ्ग्रेसका सभापति र पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गर्दै विद्यादेवी भण्डारी संसदीय राजनीतिमा उदाइन् ।

त्यो विजय कमरेड मदन भण्डारीप्रतिको सहानुभूतिका कारण आर्जित विजय थियो भन्ने आरोपलाई खण्डित गर्दै उनी २०५१ को मध्यावधि निर्वाचन र २०५६ को तेस्रो प्रतिनिधिसभा निर्वाचनमा पनि भारी बहुमतका साथ विजयी भइन् । यसले देखायो– उनी स्वयंमा पनि विशिष्ट क्षमता बोकेकी महिला नेतृ हुन् ।

२०५४ मा सम्पन्न छैटौं महाधिवेशनबाट नेकपा (एमाले) को केन्द्रीय राजनीतिमा स्थापित भएकी विद्यादेवी भण्डारी सातौं महाधिवेशनबाट पुनः केन्द्रीय सदस्यमा निर्वाचित भइन् भने आठौं र नवौं महाधिवेशनबाट पार्टीको केन्द्रीय उपाध्यक्ष जस्तो गरिमामय पदमा स्थापित भइन् । जनताको बहुदलीय जनवादको विकास र मदन भण्डारीका विचारहरूको प्रवद्र्धनका लागि उनको निरन्तर क्रियाशीलता रह्यो ।

नेपाली राजनीतिमा विद्यादेवी भण्डारीलाई सधैभरि सम्झिइरहने एउटा विशेष परिघटना हो– राज्यका हरेक अङ्गमा न्यूनतम एक तिहाई महिला सहभागिता सुनिश्चित गरिनुपर्छ भनेर पुनस्र्थापित प्रतिनिधिसभामा उनले राखेको सङ्कल्प प्रस्ताव । संसदबाट सर्वसम्मतिबाट पारित उक्त सङ्कल्प प्रस्ताव आज महिला अधिकारको एउटा मानक जस्तो बनेको छ ।

सुखद संयोग– उनी समेतको पहलबाट अगाडि बढाइएको महिला सशक्तीकरणको मुद्दा स्थापित भएसँगै आज राज्यका दुईवटा सर्वोच्च पद– राष्ट्राध्यक्ष र सभामुख– मा दुईजना सङ्घर्षशील महिला निर्वाचित भएका छन् । अबको केही महिनाभित्रै सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रूपमा अर्की महिलाले राज्यको तेस्रो अङ्गको बागडोर सम्हाल्दै छिन् ।

समावेशी लोकतन्त्रको उच्च नमूनाका रूपमा नेपाल स्थापित हुँदैछ । महिला अधिकारका लागि सतत् लडिरहेकै कारण उनी अखिल नेपाल महिला सङ्घलाई झण्डै दुई दशकदेखि अनवरत नेतृत्व गरिरहिन् ।

महिला अधिकारका लागि सशक्त ढङ्गले लडिरहँदा पनि विद्या भण्डारीको पृथक पहिचान के कुरामा स्थापित रह्यो भने उनी ‘नारीवाद’ का नाममा प्रकट हुने अतिवाद या सङ्कीर्णताबाट धेरै हदसम्म मुक्त रहिन् । विद्यादेवी भण्डारीलाई स्थापित गर्ने अर्को महत्वपूर्ण पक्ष उनले पहिलो महिला रक्षा मन्त्रीको रूपमा राष्ट्रिय सुरक्षा जस्तो चुनौतीपूर्ण जिम्मेवारीलाई कुशलतापूर्वक सम्पादन गर्नु हो ।

उनको करिब २० महिने कार्यकालमा नेपाली सेनाले कुशल अभिभावकत्व प्राप्त गरेको अनुभूत गरेको छ । यसले उनको नेतृत्व क्षमतालाई उजागर गर्छ ।

तर विद्यादेवी भण्डारीको व्यक्तित्वलाई केबल अग्रणी महिला नेतृको सीमित अर्थमा परिभाषित गर्नु त्रुटिपूर्ण हुन्छ । उनले आफूलाई राष्ट्रिय व्यक्तित्वका रूपमा स्थापित गरेकी छिन् ।

उनी हिंजो अस्तिसम्म हुने उच्चस्तरीय राजनीतिक वार्ताहरूमा सहभागी हुने एकमात्र महिला अग्रणी  थिइन् । यसले उनको बढ्दो भूमिकालाई सङ्केत गर्छ ।

नेपालको संविधान निर्माणमा उनको प्रभावकारी भूमिकाले उनलाई आफ्नो पार्टीभित्र मात्रै होइन, अरु पार्टीका बीचमा पनि स्वीकार्य बनाइदियो । त्यसैले त उनको प्रस्तावक बने एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ र उनले संसदमा रहेका दर्जनौं दलहरूको समर्थन प्राप्त गरिन् । उनको स्वीकार्यताको बलियो प्रमाण हो यो ।

अब विद्यादेवी भण्डारी बिल्कुल नयाँ भूमिकामा पुगेकी छिन् । अलि अघिसम्म एउटा पार्टीको नेतृत्वदायी स्थानमा रहेकी उनी पार्टी आवद्धताबाट मुक्त भएर राष्ट्रकै अभिभावकीय भूमिकामा पुगेकी छिन्,  जहाँबाट उनले संविधानको संरक्षक र राष्ट्रिय एकताको सूत्रधारको भूमिका खेल्नु पर्नेछ ।

उनले शितल निवासमा पाइला हाल्दै गर्दा देश असामान्य सङ्कटबाट गुज्रिरहेको छ । एउटा सार्वभौम मुलुकले आत्मनिर्णयको अधिकार प्रयोग गर्दै संविधान बनाए बापत् र त्यो संविधानलाई अत्यधिक लोकतान्त्रिक विधि एवम् प्रगतिशील अन्तरवस्तुको बनाए बापत् नेपाल दण्डित हुनु परेको छ, भारतबाट अघोषित नाकाबन्दीको शिकार बन्नु परिरहेको छ ।

अनि, आफ्नै देशभित्रका केही दाजुभाइहरू आन्दोलित छन् र उनीहरूका केही स्वाभाविक र केही भावनात्मक गुनासाहरूलाई भड्काउँदै केही नेताहरू, जसले पञ्चायती घाटको पानी पिए, जसले काङ्ग्रेस सरकारमा सबभन्दा बढी लाभ लिए, जसले ज्ञानेन्द्रको सत्तामा पनि मीठो मुख गर्न भ्याए र जसका लागि गणतन्त्र निरन्तर भोज जस्तो बन्न पुग्यो– आज हामी दोस्रो दर्जाको नागरिक भयौं भन्दै सीमा पारिबाट ढुङ्गा हान्दैछन् ।

संविधान बनाउँदा बडो मुस्किलले प्राप्त भएको मुख्य दलबीचको एकतामा कसैको ‘बुरी नजर’ परेको छ । यस्तो बेलामा विद्यादेवी भण्डारीले शितल निवासबाट कुशल अभिभावकीय नेतृत्व दिनुपर्नेछ ।

विद्यादेवी भण्डारीको राष्ट्रपति पदमा सफलता जननेता मदन भण्डारीप्रति उच्च सम्मानका रूपमा पनि अङ्कित छ, जो गणतन्त्रका स्वप्नद्रष्टा थिए । शक्तिसन्तुलन बदलिंदै जाँदा नेपालमा छिटै गणतन्त्र आउँछ भन्ने कुरामा उनको दृढ विश्वास थियो । उनकी जीवनसँगिनीको गणतन्त्र नेपालको सर्वोच्च पदमा आरोहण ती स्वप्नद्रष्टा नेताप्रतिको साँचो सम्मान हो ।

प्रकाशित मिति: १७ कार्तिक २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्