कठै ! कसरी चल्दै छ सरकारी सहयोग विना यत्रो परिवार


 


उर्लाबारी, पुस २७

५४ जनाको परिवार सरकारी सहयोग विना चल्दैछ भन्दा कस्ले पत्याउला । स्थानीय र दाताकै भरमा दुःख सुखका साथ यति ठूलो परिवार चलाउनु पर्दाको पीडा कस्तो होला ।

दाल, चामल, खाजापानी, पालनपोषण, स्वास्थ्य, लुगाफाटो, शिक्षा उस्तै समस्या छन् । जाबो एउटा सानो परिवार चलाउन हाराबारा खेल्नेका लागि त यो परिवार चलाउन त झनै मुस्किल देखिन्छ ।

समस्यासँग झेल्दै विभिन्न आरोह अवरोह पार गर्दै मोरङको उर्लाबारी–७ मा रहेको नमुना बाल गृह दाताकै सहयोगमा चल्दै आएको छ । सरकारी सहयोग विना नै सहयोगी हात र सहयोगी मनले चल्दै आएको गृहकी अध्यक्ष मीना बराल बताउनुहुन्छ । ‘कोठाबाट झिक्ने र बारीबाट टिप्ने केही छैन । जनस्तरबाट मात्र सहयोग छ’ उहाँले भन्नुभयो, ‘सहयोगी हात र सहयोगी टिमको साथ सहयोग भएर यति ठूलो परिवार चल्दै आएको छ ।’

विहान, दिउँसो र बेलुकाको खर्च जोड्दा मासिक १ लाख ५० हजार खर्च हुन आउने गृहका सचिव तेजबहादुर घिमिरे बताउनुहुन्छ । सरकारले चलाएको भए दैनिक लाखौँ खर्च हुन्थ्यो, देखाइन्थ्यो जेनतेन प्रकारेण जनस्तरबाट चल्दै र चलाउँदै आएको गृहको खर्च बिल हामी कहाँ गएर पेस्ने समस्या भएको कार्यसमिति सदस्य प्रल्हाद थापाले बताउनुभयो ।

२०५७ सालमा स्थापित गृहमा देशका विभिन्न २० जिल्लाका ४६ जना बालबालिका आश्रित रहेका छन् । गृहको लागि सहयोग गर्ने, गृह हेर्न आउने अहिलेका प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्री, पूर्व मन्त्री र पार्टीका अध्यक्ष लगायतका नेता आए गए सहयोगका फोस्रा आश्वासन बाँडे तर सहयोग भने नगरेको प्रति गृहकी अध्यक्ष बरालले अत्यन्त दुःख प्रकट गर्नुभयो ।

पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला, सूर्यबहादुर थापादेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी गृहमा आएर सहयोग गर्ने बताएपनि आजसम्म सहयोग नभएको बुझिएको छ । अरु नेता, मन्त्री त कति आए आए । केन्द्रीय सरकारले नहेरेको, प्रदेश सरकारले नदेखेको र स्थानीय सरकारले नबुझेको प्रति गृहले दुःख प्रकट गर्दै आएको छ ।

‘नेताहरु आउँछन् जान्छन् । हुन्छ भन्छन्, सहयोग भने अहिलेसम्म जिरो छ’ अध्यक्ष बराल बताउनुहुन्छ । यत्रो विधि मन्त्री, नेताहरु आएर गृहको यस्तो हरिबिजोक देख्दा कुनै केही सहयोग नगर्नु भनेको उनीहरुकै गैर जिम्मेवारी भन्ने गृहको बुझाई छ । ‘अहिलेको महंगीमा दिनहुँको खर्च धान्न मुस्किल पर्दै आएको नमुना बालगृहमा सरकारी नजर नपर्नु दुःख लाग्दो विषय हो’ सल्लाहकार जयधर्म आचार्यले बताउनुभयो ।

दुर्घटनामा परेका, आफैँ वेपत्ता भएका, अभिभावक विहिन, जेलमै जन्मेका लगायतका विभिन्न घटनाबाट आश्रित बालबालिकाको लागि सहयोग कै भर देखिएको छ । झन् जाडोको समयमा त ओड्ने ओछ्याउने र लगाउने लुगाको समेत समस्या बालबालिकाले भोगिरहनु परेको छ ।

आफ्नो करोड माथिको सम्पत्ति गृहलाई सुम्पेर गृहकै एउटा कोठामा निस्वार्थ भावनाले बस्दै आएकी अध्यक्ष बराल ४६ सन्तानकी एक्ली आमा बनेकी छिन् । सबै बालबालिका उहाँलाई देख्नेसाथ ‘आमा’ भन्दै झुम्मिन्छन्, काखमा बस्न खोज्छन् । एक विगाहा जग्गा, एउटा एम्बुलेन्स र गृहको भवन ४ वटा दुुहुना गाई गृहको सम्पत्ति नै त्यति बनेको छ । गृहका बालबालिकालाई स्थानीय विद्यालयहरुले सहुलियत शुल्कमा पठनपाठन गराइदिएका छन् । यस्तै, स्वास्थ्यकर्मी बालचन्द्र सुब्बाले बेलाबेलामा स्वास्थ्य उपचार गराउँदै आउनुभएको छ । दाताहरुले अलग अलग बनाइदिएको कोठामा गृहको दैनिक कार्य सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति: २७ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्