मूल्यवृद्धि ६.९ प्रतिशत मात्रै : राष्ट्र बैंक


 


८ जेठ, काठमाडौं । गत ०७१/७२ को चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्वि ६.९ प्रतिशत रहेको छ । गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.४ प्रतिशत थियो । वार्षिक  विन्दुगत आधारमा खाद्य तथा पेय पदार्थ समूह ८.७ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मूल्य सूचकांकको वृद्धिदर ५.३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिमा उल्लेख छ । गत वर्षको सोही अवधिमा यी समूहहरुको मूल्य सूचकांक क्रमशः १२.३ प्रतिशत र ७.० प्रतिशतले बढेको थियो ।

यो चैतमा खाद्य तथा पेय पदाNRB-Photoर्थ समूहमा पर्ने वस्तुहरुमध्ये सुर्तीजन्य पदार्थ उप-समूहको मूल्य सूचकांकको वृद्धिदर सबैभन्दा बढी अर्थात् २६.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस उप-समूहको मूल्य सूचकांकमा २५.३ प्रतिशतले वृद्धि भएको थियो ।

त्यस्तै, मदिराजन्य पदार्थ उप-समूहको २१.१ प्रतिशत र दाल तथा गेडागुडी उप-समूहको मूल्य सूचकांक १९.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको यसै अवधिमा उक्त उप-समूहहरुको मूल्य सूचकांकमा क्रमशः २२.५ प्रतिशत र ७.४ प्रतिशतले वृद्धि भएको थियो ।

त्यसैगरी, समीक्षा अवधिमा दुग्ध पदार्थ तथा अण्डा उप-समूह र रेष्टुरेण्ट तथा होटल उप-समूहको मूल्य सूचकाङ्कमा क्रमशः १३.१ प्रतिशत र ११.३ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा उक्त उप-समूहहरुको मूल्य सूचकांकमा क्रमशः ९.९ प्रतिशत र १०.२ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा गैर-खाद्य तथा सेवा समूहका वस्तुहरुमध्ये लत्ता कपडा तथा जुत्ता-चप्पल उप-समूहको मूल्य सूचकांक सबैभन्दा बढी अर्थात् १२.० प्रतिशतले वृद्धि भएको छ ।

गत वर्षको सोही अवधिमा यस उप-समूहको मूल्य सूचकाङ्कमा ११.० प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै, समीक्षा अवधिमा फर्निसिङ तथा घरायसी उपकरण उप-समूह र अन्य वस्तु तथा सेवा उप-समूहको मूल्य सूचकांकमा क्रमशः ९.४ प्रतिशत र ८.७ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्षको सोही अवधिमा उक्त उप-समूहहरुको मूल्य सूचकाङ्कमा क्रमशः ९.२ प्रतिशत र ७.२ प्रतिशतले बढेको थियो । समिक्षा अवधिमा मनोरञ्जन तथा संस्कृति उप-समूह र शिक्षा उप-समूहकोे मूल्य सूचकांकमा क्रमशः ५.८ प्रतिशत र ५.५ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा उल्लिखित उप-समूहहरुको मूल्य सूचकांकमा क्रमशः ८.३ प्रतिशत र ७.८ प्रतिशतले बढेको थियो ।

हिमाल र तराई भन्दा पहाडमा मूल्यवृद्धि धेरै

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा पहाड क्षेत्रको मूल्य सूचकांक सबैभन्दा धेरै अर्थात ७.४ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

तराई र काठमाडौं उपत्यका क्षेत्रहरुको मूल्य सूचकांकमा क्रमशः ६.८ प्रतिशत र ६.५ प्रतिशतलेे वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा मूल्य सूचकांकहरुको वृद्धिदर पहाडमा ८.६ प्रतिशत, तराईमा १०.० प्रतिशत र काठमाडौं उपत्यकामा ९.५ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति: ८ जेष्ठ २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्