१ नं. प्रदेश सरकारलाई आमसञ्चार विधेयकको नमुना मस्यौदा हस्तान्तरण
विराटनगर, पुस २९
प्रदेश १ का पत्रकारको तर्फबाट प्रदेश सरकारलाई प्रदेश आमसञ्चार विधेयकको नमुना मस्यौदा हस्तान्तरण गरिएको छ । नेपाल पत्रकार महासंघ प्रदेश १ कार्यसमितिले आज मुख्यमन्त्री शेरधन राईसमक्ष विधेयकको नमुना हस्तान्तरण गरेको हो ।
मुलुक संघीय संरचनामा गईसकेको अवस्थामा प्रदेश सरकार आफ्नो कानुन, संरचना र पूर्वाधार निर्माणमा केन्द्रीत छ । यस्ता अवस्थामा पत्रकारको क्षमता विकासको लागि आमसञ्चार प्रतिष्ठान स्थापनादेखि प्रदेशका सञ्चार माध्यमको प्रवद्र्धनमा समेत सघाउ पुग्ने गरी कानुन ल्याउन आग्रह गर्दै सरकारलाई कानुनको मस्यौदा नै सुझावस्वरुप हस्तान्तरण गरिएको महासंघका प्रदेश १ अध्यक्ष बिक्रम लुइँटेलले बताउनुभयो ।

मस्यौदा बुझ्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले पत्रकार र सञ्चार माध्यमको हितमा काम गर्न कुनै कसर बाँकी नराख्ने बताउँदै राष्ट्रिय आमसञ्चार नीतिकै मर्मअनुसार प्रदेशमा पनि कानुन निर्माण हुने बताउनुभयो । मुख्यमन्त्री राईले महासंघको तर्फबाट प्राप्त भएको मस्यौदाका विषयलाई समेत समावेश गरी ऐन निर्माण हुने आश्वासन दिनुभयो ।
त्यस अवसरमा महासंघका प्रदेश महासचिव विवेक गौतमले नमुना मस्यौदाले समेटेका मुख्य विशेषताहरु पढेर सुनाउनुभएको थियो । यसमा केन्द्रमा मात्र मिडियाको दर्ता, नवीकरण, वर्गीकरण, विज्ञापन वितरण, पत्रकारिता प्रशिक्षणका प्रावधान प्रदेशमा ल्याउन, सरकारी विज्ञापनको भुक्तानी प्रदेश र स्थानीय तहबाटै हुने प्रस्ताव गरिएको छ ।
मस्यौदामा कन्टेन्टबाहेक अन्य विषय निमयमन गर्न तथा हाल केन्द्रमा सूचना विभाग, प्रेस काउन्सील र संचार मन्त्रालयले गरिरहेको मिडिया वर्गीकरण, प्रशिक्षण, लोककल्याणकारी विज्ञापन वितरण, मिडिया अभिलेखीकरण र परिचय पत्र वितरण जसता कामको लागि प्रदेशस्तरमा स्वतन्त्र र स्वायत्त खालको प्रदेश सञ्चार प्राधिकरण स्थापना गर्ने प्रस्ताव छ ।
प्रकाशित मिति: २९ पुस २०७५, आइतबार












