श्री स्वस्थानी व्रत कसरी लिइन्छ ? नयाँ व्रत थाल्नेका लागि उत्तम समय कहिले भिडियो सहित



स्वस्थानी व्रतको आफ्नै धार्मीक, ऐतिहासीक र पौराणीक महत्व रहेको छ । पौष शुक्ल पूर्णिमा देखि व्रत शुरु हुने भएतापनि अघिल्लो दिनमै पुरुष व्रतालुहरूले हात गोडाको नङ्ग काटी, कपाल खौरिएर , शुद्घ एकभक्त भई ज्र्योितलिङ्गेश्वर महादेवस्थानबाट जल र संकल्प सहित माधव नारायण राखेको पुजारी घरमा गई दर्शन गरी व्रत बस्ने प्रतिज्ञा गर्नुपर्दछ

मणिशैल महावदानमा मायासुर दानवको अत्याचार अन्त्य गर्न भगवान् नारायणले सर्वप्रथम विश्व ब्रम्हाण्डमा सालीनदीको मुहान तारातीर्थ स्थानमा एकमहिने व्रत अनुष्ठान गरी महाँकाल क्षेत्रपाल भैरवको पुरोहित्याइँमा सम्पन्न गरी वज्रायोगिनीको दर्शन प्राप्त गरी विजयबाहिणी मन्त्रसमेत प्राप्त गरेर मायासुर दानव संहार गरेको सन्दर्भ लेखिएको अनुसार नै सालिनदी तीरमा व्रत बसाल्ने परम्परा रही आएको छ र हालसम्म स्वस्थानी व्रतले निरन्तरता प्राप्त गरिरहेको छ ।

स्वस्थानी पुस्तकअनुसार स्वस्थानी व्रत सर्वप्रथम नारायण विष्णु, त्यसपछि पार्वती, गंगा, अप्सरा, गोमा, नागनागिनी, चन्द्रावती, नवराज हुँदै सर्वसाधारणमा स्वस्थानी व्रत सुरु भएको मानिन्छ । पवित्र सालीनदीको पानीले नुहाएमा शरिरमा भएका विभिन्न रोगहरू नष्ट भई रोग निको हुनुका साथै शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त हुने जनविश्वास रहेको छ ।

शालीनदी क्षेत्रमा वासुकी नागको संगमस्थल, स्वस्थानी मन्दिर, नवराज, डोलेहरू, माधवनारायण, गुफा राख्ने मन्दिर, अश्वमेघ यज्ञ स्थल, भीमसेन मन्दिर, सरस्वती हनुमान्, विष्णु, बुद्घ, विष्णुपाली, शिवलिंगहरू रहेका छन् । सालीनदी बीचमा माधवनारायण स्नान गराउने ठाउँमा सातवटा कुण्ड रहेको र कुण्डबाट दूध बग्नेसमेत जनविश्वास रहेको छ ।

  न्हुंछेनारायण श्रेष्ठ

हरेक बर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्री स्वस्थानी माताको व्रत उपासना गर्ने पौराणिक धारणा रही आएकोे छ । स्वस्थानी व्रत सँगसँगै नेपालीको घरघरमा स्वस्थानी वाचन गर्ने परम्परासमेत रहेको छ । हरेक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म राजधानीको सांखुस्थित सालीनदीमा मेला लाग्ने गर्दछ । मुलुकका विभिन्न स्थानबाट आएका व्रतालुहरू माधवनारायण सँगसँगै आफ्नो मनोकांक्षा पूरा गर्ने हेतुले व्रतउपासना बस्ने गर्दछन् ।

हिन्दू शास्त्रअनुसार विष्णु स्वयंले पार्वतीलाई स्वस्थानी व्रत विधि ज्ञानोपदेश दिई स्वयं भगवान् नारायणले पूर्ण ज्ञान, व्रत कथा र व्रत सांगे पनि गुरु स्वरूप भई पार्वतीको स्वस्थानी पूर्ण गरीदिएको र माताको व्रत फलस्वरूप श्रीमहादेव स्वामी पाएको र नारायणको आशिर्वादमा कैलाश प्राप्त भएको किंवदन्ती र जनविश्वास रहेकोले स्वस्थानी(माधव नारायण भगवानलाई) साक्षी राखेर प्रत्येक वर्ष यो व्रत निरन्तर चलिरहेकोछ ।

स्वस्थानी व्रत विष्णु भगवान्को आदेशमा पार्वतीको आज्ञा बमोजिम स्वर्ग, पाताल र मत्र्यमण्डलमा स्वस्थानीको व्रतपूजा सम्पन्न गराई फल प्राप्त गरेको किंवदन्तीमा रहेकोछ । स्वस्थानीलाई माधव नारायण भन्नुका कारण १२ महिनामा नारायण विष्णु भगवानले विभिन्न रूप लिनुहुने जसअनुसार बैशाखमा मधुसुदन नारायण, जेठमा त्रिविक्रम नारायण, आषाढमा वामन नारायण, श्रावणमा श्रीधर नारायण, भाद्रमा ऋषिकेश नारायण, असोजमा पद्मनारायण, कार्तिकमा दामोदर नारायण, मंसिरमा केशव नारायण, पौष महिनामा नारायण, माघमा माधव नारायण, फाल्गुणमा गोविन्द नारायण र चैत्र महिनामा विष्णुरूपले पुजिने हुंदा माघ महिनामा नारायणको नाम माधव हुनेभएकोले माधव नारायणको नामले माघ महिनाभर पुजिने र कान्ति लक्ष्मी प्राप्त हुने विश्वास लिइएको छ ।

स्वस्थानी व्रतका व्रतालुहरूले अलिनो खाना एक छाक मात्र खाएर, जुत्ता, मोजा नलगाई खाली खुट्टाले हिंडीं, घरधन्दा, र परिवारलाई छोडेर स्वस्थानी परमेश्वरीको व्रत उपासनामा लीन भई भगवान् नारायण सँगसँगै आफ्नो मनोकांक्षा पूरा गराउनको लागि साँखुस्थित शालीनदी घाटमा स्वस्थानीको व्रत बस्ने गर्दछन् । स्वस्थानी व्रतको आफ्नै धार्मीक, ऐतिहासीक र पौराणीक महत्व रहेको छ । पौष शुक्ल पूर्णिमा देखि व्रत शुरु हुने भएतापनि अघिल्लो दिनमै पुरुष व्रतालुहरूले हात गोडाको नङ्ग काटी, कपाल खौरिएर , शुद्घ एकभक्त भई ज्र्योितलिङ्गेश्वर महादेवस्थानबाट जल र संकल्प सहित माधव नारायण राखेको पुजारी घरमा गई दर्शन गरी व्रत बस्ने प्रतिज्ञा गर्नुपर्दछ ।

सुवर्ण वर्णकी कमलको फूलको पात जस्ता तीन वटा आंखाहरू भएकी शोभामान भई सिंह वाहन, अनेक अल्लंकारले युक्त चारवटा हातमा नीलउत्पल, अभरबर, खडग, चमर दायांबांयां लिएकी स्वस्थानी माताको दैनिक ध्यानजप र पूजापाठ गर्नुपर्दछ त्यस्तै गरी महिला व्रतालुहरूले नुहाई हातगोडाको नङ्ग काटी शुद्घ भै संकल्प गर्नुपर्दछ । एक महिना सम्म पुरुष व्रतालुहरू सालिनदीको धलंपुली(पौवा) मै सुत्नुपर्ने र महिलाहरू सांखु नगरभित्रको घरमा बहालमा बस्न सक्दछन् ।

व्रत अवधिमा माछा, मासु, अण्डा, दाल, लसून, प्याज, साग, नून, तेल, मसलाा खान र प्रयोग गर्न बर्जित गरिएको छ । केराऊ, चाकु, अदुवा, दुध, घयू, पाटने पालुङ्गो, लप्सी, रातो मूला मात्रै खान हुन्छ । व्रतालुहरूले प्रत्येक दिन व्रतालुहरूले दैनिक स्नान गरी नित्यपूजा, जप, तप, ध्यान, स्वस्थानी श्रवण गरी सूर्यपूजा, शिवपार्वती सहित सम्पूर्ण देवीदेवताहरूको पूजा अर्चना गरि सांखु नगर भित्र एकसय आठ स्थानमा अष्टाङ्ग प्रमाण, सहस्र जलधारा अर्पण गर्नुपर्दछ र बेलुकी भएपछि कोठामा गई अलिनो खाना खानुपर्दछ । पुरुष व्रतालुहरू पुनः सालीनदी किनारको पाटी धलंपुलीमा गई आरती गरेर मात्र सुत्नपाउंदछन् ।

माघ कृष्ण त्रयोदशीका दिन व्रतालुहरू शालीनदी देखि बज्रयोगिनीसम्म पुरुष व्रतालुहरूले जीउ नाप्दै र महिला व्रतालुहरू उनीहरूको पछि–पछि गई स्वस्थानी माताको प्रतिक बज्रयोगिनीको दर्शन गर्ने र त्यस्को भोलीपल्ट चर्तुदशीका दिन सम्पूर्ण व्रतालुहरू माधवनारायण सहित बज्रयोगिनी दर्शन गरी पूजाआजा सकेर सांखु आई भोजन गरी पशुपतिनाथ मन्दिर पुग्ने गर्दछन् । माघ कृष्ण औशीको दिनमा आर्यघाटमा रहेको विरूपाक्ष लाई नारायणको रूप मानी माधव नारायणलाई विराजमान गरी व्रत पूजा सकेपछि पशुपति क्षेत्रका देवीदेवताहरूको दर्शन पूजा र पुरुष व्रतालुहरू सहस्रजलधारा अर्पण गरी अष्टाङ्ग प्रमाण कार्य जयबागेश्वरीको शिवलिंग पुगी पूजागर्ने चलन रहेकोछ ।

पूजा पछि गुठी संस्थानले सानो गौचरणमा व्रतालुहरूलाई भोजन गराउने चलन रहेकोछ र भोजनपछि पैदल फर्पिङ्ग शेषनारायणमा बास बस्न पुग्दछन् । माघ शुक्ल प्रतिपदाको दिन शेषनारायणमा सम्पूर्ण व्रतालुहरूले स्नान गरी नित्य पूजा अर्चना गरिसकेपछि फर्पिङ्ग नगरपरिक्रमा गरी पाटनको शंखमूल घाटमा आई माधव नारायणसंगै लहरै बसेर भोजन गर्ने परम्परा रहेकोछ । भोजन पश्चात सम्पूर्ण व्रतालुहरू सालीनदी पुग्ने गर्दछन् ।

फर्पिङ्गबाट सालीनदी फर्किएको भोलिपल्ट द्घितिया भएमा एकदिन सालीनदीमै बास बस्न पाईन्छ भने तृतिया तिथी परेको खण्डमा पनौती गई चौथीको दिन सालीनदीमै बास बस्न आउनुपर्ने कथिन यात्रा तय गर्नुपर्ने हुन्छ । पनौती त्रिवेणी दोभानमा व्रतपूजा सम्पन्न गरी नगर परिक्रमा गरीसकेपछि नाला जानेबाटोको भोखुसी छेउमा माधवनारायण संगै सम्पूर्ण व्रतालुहरूले भोजन गरी सांखुस्थित सालीनदी फिर्ने चलन रहेकोछ ।

श्रीपञ्चमी र ललासप्तमीका दिन सालीनदीमा धेरै भिडभाड हुने गर्दछ । माघ शुक्ल सप्तमीको दिनलाई सूर्य ग्रहण समानको दिन जतिकै महत्व दिएको कुरा पौराणिक ग्रन्थहरूमा रहेको पाईन्छ । उक्त दिन व्रतालुहरूले विशेष गरी राम्रा रातो पहिरण लगाई सांखु नगर परिक्रमा गर्ने गर्दछन् भने पुरुष व्रतालुहरूले एकजना गुल्टने र अर्कोले सहस्रधारा बोकी नगर परिक्रमा गर्नुपर्ने चलन रहेकोछ ।

भीमा एकादशीको दिन माधवनारायण(स्वस्थानी मातालाई) परदेश यात्राको अन्तिम स्थान चांगु नारायणस्थित सानदहमा लगिन्छ । भीमा एकादशीको दिन दुईपटक व्रत पूजा गरिने चलन रहेकोछ । व्रतपूजा सकिएपछि सांखु सालीनदीमा गई बास बस्ने चलन रहेकोछ । भीमा एकादशीको दुईदिन अघि सालीनदी तिरमा व्रतालुहरूलाई तस्मी खुवाईने पुरानो चलन समेत हालसम्म रहिआएकै छ ।

स्वस्थानी व्रतको अन्तिम दिन माधव नारायण भगवानलाई भीमसेनपाटी पछाडीको चौरमा रहेको गुफा राख्ने मन्दिर भित्र राखी इहि गर्ने, व्रतवन्ध गर्ने, हवन यज्ञ (अश्वमेघ यज्ञ ) गर्ने गरिन्छ । सम्पूर्ण व्रतालुहरूलाई चौरमा राखी एउटै धागोले बेरेर व्रतपूजा सम्पन्न गराइन्छ । अन्तिम दिनको पूजाको लागि १०८ प्रकारको फूल, रक्तचन्दन, अक्षता, बत्ती, धुप, पंचरङ्गी धागो, इता, जजंका, जाईको फूल, द्घाफ्वस्वां, वयर सतिवयर १०८ का दरले तयार गरि पूजापाठ गर्नुपर्दछ ।

व्रतालुहरू अघि माधवनारायणलाई विराजमान गराई अन्मि पटक दर्शन गरिसकेपछि आफ्नो मनोकामना पुरा गराउनको लागि, आफूले इच्छाएको वर प्राप्त गर्नाको लागि अश्वमेघ यज्ञ सामु बसी व्रतपूजा सकिसकेपछि आफ्नो घरका परिवारहरूलाई स्वस्थानीमा उल्लेख भएअनुसार फूल प्रसाद दिनुपर्दछ र भोलीपल्ट ज्योर्तीलिङ्गेश्वर दर्शन गरी यथासक्य दान पुरोहितलाई दिई चिभ्वय् (नूनीलो) खानेकुरा समावेश गरिएको भोज सालीनदी तिरमा बसी खानुपर्दछ ।

शिवरात्रीको दिन ज्योतीलिङ्गेश्वरमा जाग्राम वसी भोलीपल्ट विहानै वज्रयोगीनी दर्शन गर्नुपर्ने परम्परा रहीआएकोछ । सांखु सालीनदीमा स्वयम् विष्णु भगवानको नारायण अवतारको माधवनारायणको सुवर्ण मूर्तिलाई नै स्वस्थानी व्रत उपासना गराई तीर्थ भ्रमण र अश्वमेघ यज्ञ गरी व्रतपूजा गर्दछन् भने शिवरात्रीमा साधुश्मसान, ब्रम्हायणी पीठमा सर्पहोम, चराहोम, माछाहोम र छांगवली होम गरिने चलन रहेकोछ । अश्वमेघ यज्ञपछि प्रसाद स्वस्थानीमा उल्लेख भएअनुसार बांडीएपछि पुर्ण हुने चलन रहीआएको छ ।

स्वस्थानीको महिमा गाईएको पुस्तकहरू नेपाली, संस्कृत, हिन्दी र नेपाल भाषामा लिपीवद्घ गरी प्रकाशित गरिएता पनि हाल नेपाली भाषामा लेखिएको पुस्तक बढी विक्री हुने गरेकोछ । स्वस्थानी पुस्तक प्रकाशन करिब ५०० बर्ष पहिले देखि प्रकाशन गरिएको बुभिएकोछ । स्वस्थानी पुस्तकमा शिव पार्वती सम्वाद गरी व्रतहरूमा उत्तम व्रत राजवप्रत स्वस्थानी व्रत भनी लेखिएकोछ ।

स्वस्थानी पुस्तकभित्र कालान्तरमा शून्यदेखि सृष्टिकल्पसम्मका कुराहरू, देवासुर संग्राम, शिवसति विवाह, जालन्धर, कामदेव र रती, शिव सती विवह र विछोड, शक्तिपीठ उत्पत्तीका कथा, रामायण, महाभारत, शिवरात्री महिमा, धर्मराज, नवराज, शिवपार्वती विवाह, हिमालय पर्वत, डोलेहरू, शिवशर्मा र शिवभट्ट, सत्य, त्रेता, द्घापर युगका कथा, स्र्वग, मत्र्य र पातालमा स्वस्थानीको व्रत आदी विषयमा ३० अध्याय देखी साठी अभ्याय सम्मको कथा समेटीएका पुस्तकहरू बजारमा पाईन्छन् र तीनै पुस्तकहरू घरघरमा बाचन गरिन्छन् ।

स्वस्थानी व्रत शालीनदीमा बस्न नसकेपनि कथा वाचन र श्रवण गर्दा पुण्य मिल्ने , रोगव्याधी हट्ने जनविश्वास रहीआएकोछ । स्वस्थानीमा उल्लेख भएअनुसार स्वस्थानी माता चारहात भएकी चर्म, कमलको फूल समाएकी, सुवर्ण वर्णको रूप, ममतामयी, त्रिनेत्र भएकी, दयामयी, फलदिने, वरदिने, करुणामयी, भाग्यमानी, ज्वाजल्यमान, अष्टमातृका गणहरूले चारैतिरबाट बन्दना गरेका, मध्यभागमा बसेकी देवी भनी वर्णन गरिएकोछ ।

स्वस्थानी व्रत हिन्दु धर्माम्वलीहरूको मात्र होईन स्वस्थानी शेर्पा जातीहरूको समेत महत्वपूर्ण पर्व मान्न सकिन्छ । स्वस्थानी सांङगेको दिन शेर्पा, तामाङ जातीका दर्शनार्थीहरू तामाङ्गसेलो गाउंदै नाच्दै भगवान शिवको आराधना गर्दै शालीनदीमा नुहाई धुवाई मेला भर्ने गर्दछन् । विविधतामा एकता भनेजस्तै हाम्रो धर्म संस्कृतिमा विविधता भएता पनि मनाउने क्रममा एकता रहेको छ । शालीनदी पुग्ना लागि रत्नपार्क, कोटेश्वर र नयाँ बानेश्वरबाट सार्वजनिक यातायातमा पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News