श्रम स्वीकृति दिने प्रदेशका श्रम कार्यालय विचौलियाको कमाउने थलो बन्दै


 


काठमाडौं माघ २०
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजागारीमा जाने युवाहरुलाई प्रदेशस्तरबाट पुनः श्रम स्वीकृति दिन स्थापना गरेका कार्यालय एक महिना नपुग्दै भ्रष्ट कर्मचारीको आड भरोसामा विचौलियाका स्वार्थ पुरा गर्ने स्थल बन्न थालेका छन् ।

मन्त्रालयले गत पुस १५ गते देखि वैदेशिक रोजगारीमा गई छुट्टीमा घरआई दोहोर्‍याएर जाने कामदारलाई पुनः श्रम स्वीकृतिको कार्य प्रदेशस्तरबाट शुरु गरेको हो । प्रदेशस्तरबाट पुनः श्रमस्वीकृति दिँदा शुरुमा व्यापक उत्साह देखा परेको थियो । तर सेवा शुरुवातको एक महिना नबित्दै ती कार्यालय भ्रष्ट कर्मचारी र विचौलियाहरुको आर्थिक स्वार्थ पुरा गर्ने स्थल बन्न थालेको सेवाग्राहीहरुको गुनासो बढेको छ ।

ठूलो संख्यामा तराई मधेशबाट वैदेशिक रोजागारीमा जाने युवाहरुको हितलाई ध्यानमा राखी मन्त्रालयले गत पुस १५ गते प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाममा पुनः श्रम स्वीकृतिको लागि शाखा स्थापना गरेको थियो । जनकपुरको मुरली चोक (विद्यापति) चोकदेखि क्याम्पसचोक (एयरपोर्ट) जाने बाटोको बीचमै रहेको अमित टेन्ट हाउसको गल्लीको पश्चिम पट्टि श्रम तथा रोजगार कार्यालय स्थापना गरिएको छ । सेवाग्राही कार्यालयको अगाडि पालो कुर्दै लाईनमा बस्ने तर कर्मचारीले परिचालन गरेका विचौलियाहरुले प्रति कामदार ५ हजार रुपैयाँ लिएर पछाडीबाट फाईल लगेर श्रम स्वीकृती निकाल्ने गरेका छन् ।

विचौलियाहरुले आफुहरुले २ हजार मात्र राख्ने र ३ हजार भित्र हाकिमलाई दिनु पर्ने भन्दै पुनः श्रम स्वीकृति लिन आउने युवा युवतीहरुबाट ५ हजार असुल्ने गरेका छन् । गत पुस १५ गते जनकपुरमा पुनः श्रम स्वीकृतिको कार्यालय स्थापना भएपछि संघीय संरचनाले अधिकार विकेन्द्रीकरण गर्दै जनताको घर दैलोमा सेवा पुग्ने र सहज हुने भन्दै धेरैले टिप्पणी गरेका थिए । तर एक महिना नपुग्दै जनताका लागि भनेर स्थापना गरिएको कार्यालय भ्रष्ट कर्मचारी र विचौलियाहरुको कमाउने अखडा बनेपछि सेवाग्राहीले यसअघि ताहाचलबाट सेवाप्रदान गर्दाको दुरावस्था भन्दा फरक नरहेको बताएका छन् ।

प्रकाशित मिति: २० माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्