सुनको भाउ तोलाको ६२ हजार ५ सय पुग्यो


 


काठमाडौं, माघ २१

तीन दिनदेखि स्थिर रहेको बहुमूल्य धातु सुनको भाउ थप बढेर ६२ हजार ५ सय रुपैयाँ पुगेको छ । आज सोमबार तोलामा २ सय रुपैयाँ बढेको हो । यो भाउ पछिल्लो ६ वर्षयताकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार, शनिबार र गएको शुक्रबार छापावाल सुन तोलाको ६२ हजार ३ सयमा कारोबार भएको थियो । आज सोमबार तोलाको साढे ६२ हजार पुगेको हो ।

खस्किँदै गएको अमेरिकी अर्थतन्त्र, अन्तर्राष्ट्रिय बजारमा शक्तिशाली मुद्रा अमेरिकी डलर कमजोर हुँदै जानुलगायत कारण सुनको भाउ उच्च हुँदै गएको व्यवसायीको भनाइ छ ।

महासंघका अनुसार छापावाल सुनको भाउ यसअघि २०७० भदौ १२ गते नेपाली इतिहासकै सबैभन्दा बढी तोलाको ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको आधिकारिक ‘रेकर्ड’ छ । स्थानीय बजारमा सुनको भाउ अझै बढ्ने अनुमान छ । अमेरिकाको अर्थतन्त्र पछिल्लो पटक ओरालो लाग्नुका साथै अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ खस्किँदै गएका कारण अमेरिकीले सुनमा लगानी बढाउँदै लगेपछि भाउ उच्च हुँदै गएको महासंघको भनाइ छ ।

प्रकाशित मिति: २१ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्