मलेसिया गन्तव्य गुम्ने खतरा, नेपालका मागहरु बंगलादेशतिर


 


काठमाडौं माघ २४
आप्रवासी कामदारको समस्या झेलिरहेको मलेसियाले आयल प्लान्ट उद्योगमा देखिएको कामदारको समस्या हटाउन रोवोटिक र स्टेट अफ आर्ट प्रविधि प्रयोग गर्ने बताएको छ । लामो समयदेखि मलेसियामा देखिएको आप्रवासी कामदार समस्या समाधान हुन सकेको छैन । त्यस सम्वन्धमा मलेसियाको मानव संशाधन तथा गृह मन्त्रालयसँग छलफल गरेकी प्राईमरी ईण्डष्ट्री मन्त्री टेरेजा कोकले मलेसियामा विदेशी कामदारको समस्या गहिरिएको भन्दै दीर्घकालीन रुपमा समस्याको समाधानका लागि रोवोटिक र स्टेट अफ आर्ट प्रविधि प्रयोग एउटा विकल्प भएको बताएकी छन् । गत मे महिनामा प्लान्टेशन क्षेत्रमा ५० हजार आप्रवासी कामदारको समस्या रहेको मलेसियामा पछिल्ला दिनमा करीब १५ हजार कामदारको समस्या देखिएको छ ।

नेपालसहित बगंलादेश, पाकिस्तान, भारत, श्रीलंका र इन्डोनेसियाका कामदारहरूको मलेसिया मुख्य रोजगार गन्तव्यमा रहँदै आएको छ । इन्डोनेसियापछि सबैभन्दा बढी कामदार पठाउने देशमा नेपाल रहेको छ । नेपाल भित्रिने कुल रेमिट्यान्स अर्थात विप्रेषणमध्ये ३५ प्रतिशत हिस्सा मलेसियाबाट आउने गरेको छ । तर नेपालले गत जेठ २ गतेपछि औपचारिक रुपमा कामदार पठाउन रोकेको छ । अवरुद्ध रहेको कामदार पठाउने प्रक्रिया गत कार्तिकमा भएको कामदार आदान प्रदान तथा फिर्ता सम्वन्धी द्धिपक्षीय श्रम समझदारीपछि शुरु हुने अपेक्षा थियो तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले कामदार पठाउने प्रक्रिया शुरु गर्न चाहेका छैनन् । त्यस विषयमा मलेसियाले चिन्ता व्यक्त गर्दै नेपालबाट कामदार नगए आफ्नो मुलुकले बंगलादेशबाट कामदार आपूर्ति गर्ने संकेत दिएको छ । मंगलवार राजधानीबाट प्रकाशित एक राष्ट्रिय दैनिकसँगको अन्तर्वार्तामा नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत (चार्ज डे अफेयर्स) अहमद फाडिल इस्माइलले उक्त जानकारी दिएका हुन् ।

नौ महिना नेपाली कामदार ठप्प हुँदा मलेसियाको श्रम बजारमा कस्तो प्रभाव परेको छ ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘पक्कै केही असर त परिहाल्छ । हामीलाई केही कामदार चाहिएको छ । नेपालबाट रोकिँदा हामीले अन्यत्रबाट व्यवस्थापन गर्नुपर्छ । नेपालबाट होला भनेर हेर्दाहेर्दै समय बित्यो र, पछि हामीले बंगलादेशसँग पनि प्रक्रिया अघि बढायौं । तर बंगलादेशमा पनि निर्वाचन परेकाले त्यसमा उपलब्धि खासै भएन । अब त्यहाँ पनि सहज भएको छ । हामीले नेपालीलाई प्राथमिकता दिएका हौं । अधिकांश नेपाली इमान्दार र कडा परिश्रम गर्ने हुनाले हाम्रो रोजगारदाताको चासो रहनु स्वाभाविक पनि हो । यताबाट भएन भने हामीले तय गर्ने बंगलादेशबाटै हो । अन्य पनि सोच्न सक्छौं ।’

राजदुत फाडिलको यो भनाई र मलेसियाका प्राईमरी ईण्डष्ट्री मन्त्री टेरेजा कोकको रोवोटिक र स्टेट अफ आर्ट प्रविधि प्रयोग गर्ने भनाईले मन्त्रालयले तत्काल मलेसियाको श्रम स्वीकृति रोक्न नौ महिना पुरानो निर्णय नसच्चाए मलेसियाको श्रम गन्तव्य नेपालीको हातबाट सधैका लागि फुत्कने सम्भावना बढेको आंकलन गरिएको छ ।

मलेसियामा बैधानिक र अबैधानिक गरी ५ लाख ४० हजार बढी नेपाली कामदार रहेको अनुमान छ । द्धिपक्षीय श्रम समझदारी पछि पनि कामदार नपठाउँदा त्यहाँ रहेको कामदारको सुरक्षा समेत खतरामा पर्ने देखिएको छ । पछिल्ला दिनमा मलेसियन रिंगिटको विनिमय दर पनि उक्लिरहेको छ । मंगलवार मलेसियन रिगिटको खरिद दर २७ रुपैंयाँ ९९ पैसा छ भने विक्रि दर २८ रुपैंयाँ १४ पैसा रहेको छ । तर कामदार नै जान नपाएपछि मलेसियाको अर्थतन्त्रमा आएको सुधार नेपालीका लागि कागलाई बेल पाक्यो सरह भएको कतिपयको टिप्पणी छ ।

प्रकाशित मिति: २४ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्