संविधानमा महिला अधिकार सुनिश्चित : अध्यक्ष तिमिल्सिना


 


कास्की, फागुन ११

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले वर्तमान संविधानले महिला अधिकार सुनिश्चित गरेको बताउनुभएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकमा रहेको आमा स्मृति प्रतिष्ठान नेपालको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै उहाँले संविधानमा अधिकार सुनिश्चिततासँगै अब क्षमता विकासमा महिलाले जोड दिनुपर्ने बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “विगतमा लामो समय अधिकार र समानताका लागि लडे पनि अब त्यो प्राप्त भएको छ । अबको लक्ष्य क्षमता विकास गरी सक्षम बनेर राष्ट्र निर्माणमा योगदान दिनुपर्दछ ।” नेपालका थुप्रै गाउँमा पर्यटनको प्रचुर सम्भावना रहेकाले पूर्वाधार निर्माण गरी पर्यटनको माध्यमबाट समृद्धि हासिल गर्न सकिने विचार उहाँले व्यक्त गर्नुभयो । अधिवेशनले वसन्तराज दवाडीको अध्यक्षतामा आगामी दुई वर्षका लागि प्रतिष्ठानको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

प्रतिष्ठानले शिक्षाका लागि विद्यालयमा सहयोग, महिला सशक्तीकरणका कार्यक्रम, गरीब तथा असहाय छात्राको उच्च शिक्षाका लागि छात्रवृत्ति वितरणका कार्यक्रम गर्दै आएको प्रतिष्ठानका अध्यक्ष दवाडीले बताउनुभयो । पर्यटन क्षेत्रमा क्रियाशील दवाडीले आफ्नी आमाको स्मृतिमा तीन वर्षअघि प्रतिष्ठान गठन गरी सामाजिक कार्य गर्दै आउनुभएको छ । रासस

प्रकाशित मिति: ११ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्