प्रधानन्यायधीश राणाले गरे फेरि तीन न्यायाधीशको सरुवा


 


काठमाण्डौँ, फागुन १३

विशेष अदालतमा कार्यरत तीन न्यायाधीशको सरुवा भएको छ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीशहरु चण्डीराज ढकाल, रत्नबहादुर बागचन्द र नारायण पोखरेलको सरुवा गर्नुभएको हो ।

न्यायपरिषद्को सहमतिमा प्रधानन्यायाधीश राणाले भ्रष्टाचारको मुद्दा हेर्ने तीन न्यायाधीशलाई सरुवा गरेका न्यायपरिषद्ले जनाएको छ । ढकाल र बागचन्दलाई जुम्लामा सरुवा गरिएको छ भने पोखरेललाई राजविराज सरुवा गरिएको हो । उहाँहरुले न्याय सम्पादनका क्रममा बिचौलियासँग भेटेकोजस्ता उजुरी प्रधानन्यायाधीश राणासमक्ष परेपछि अन्य उच्च अदालतमा सरुवा गरिएको बताइएको छ ।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीका कार्यकालमा उहाँहरू विशेष अदालतमा न्यायाधीश नियुक्त हुनुभएको थियो । प्रधानन्यायाधीशको नेतृत्व सम्हालेलगत्तै राणाले आक्रामक रुपमा न्यायालय सुधार गर्ने भन्दै न्यायाधीशहरुको सरुवा र छानबिन गरिरहनुभएकोछ ।

प्रधानन्यायाधीशमा नियुक्त भएको केही दिनमै राणाले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीशसहित केही न्यायाधीशको छानबिन गरिरहेको बताइएको छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्