एकाबिहानै पाकिस्तानमा भारतको हमला, दावी आआफ्नै, बढ्यो युद्धको संभावना


 


काठमाडौं, फागुन १५

भारत प्रशासित कश्मीरको पुलवामामा भएको आतंकवादी हमलाको दुई साता नपुग्दै भारतले पाकिस्तानी भूभागमा मंगलबार हमला गरेको छ।

पाकिस्तानले हमलाबाट कुनै पनि मानवीय तथा भौतिक क्षति नभएको दावी गरेको छ भने भारतले भने कयौँ आतंकवादीहरू मारिएको बताएको छ । भारतले यसलाई नन मिलिटरी प्री इम्प्टिभ स्ट्राइक (सैन्य क्याम्प तथा मानव वस्ती लक्षित नगरी खुला ठाउँमा हुने हमला) भनेको छ।

अधिकांश भारतीय मिडियाहरूले दिनभर आतंकवादी समूह जैश–ए–मोहम्मदको अखडामा भारतीय सेनाले गरेको हवाई हमलामा ठूलो हताहती भएको खबर दिइरहेका छन्। कसैले ४० भन्दा बढी आतंकवादीको नामावली नै भेटेको दावी गरेका छन् भने कसैले ३ सयदेखि ४ सय जनाको मृत्यु भएको दावी गरेका छन्। सरकारी स्रोतहरूलाई उद्‍धृत गर्दै लेखिएका यी खबरको स्वतन्त्र रुपमा पुष्टि भने हुन सकेको छैन ।

मंगलबार बिहान ५ बजेर १२ मिनेटमा पाकिस्तानका तर्फबाट समाचार ब्रेक भयो, भारतीय वायु सेनाले लाइन अफ कन्ट्रोल पार गर्‍यो। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्विटरमा खबर ब्रेक गरे, पाकिस्तानी सेनाले प्रत्याक्रमण गरेपछि भारतीय सैन्य विमान पछि हट्यो।

पाकिस्तानी सैन्य प्रवक्ता गफूरले अर्को ट्‍विटरमार्फत भने, ‘भारतीय सैन्य विमान मुजाफरबाद क्षेत्रबाट पाकिस्तानभित्र घुसेको थियो। पाकिस्तानी सेनाले तत्काल जवाफी कारबाही चालेका कारण भारतीय सेना भागे। र, भाग्ने क्रममा हतार हतार बालाकोट नजिकै कुनै विस्फोटक पदार्थ खसाए। कुनै मानवीय तथा भौतिक क्षति भएन।’

केही घण्टालगत्तै भारतका तर्फबाट विदेश सचिव विजय गोखरेले आक्रमणबारे जानकारी दिँदै बालाकोटमा रहेको जैश ए मोहम्मदको सबैभन्दा ठूलो ट्रेनिङ क्याम्पलाई निशाना बनाएर हवाई हमला भएको बताए। भारतलाई लक्षित गरी आत्मघाती हमलाको तयारी भइरहेको सूचनाका आधारमा नियन्त्रण रेखा पार गरेर हमला गर्नु जरुरी भएको दावीसमेत उनले गरे ।

पाकिस्तानको खैबर पाख्तुनख्वा प्रान्तस्थित बालाकोटनजिकै भारतीय हवाई सेनाले हमला गरेको थियो। सन् २००५ मा कश्मीर केन्द्र भएर गएको भूकम्पबाट जर्जर बनेको यो सहरलाई साउदी अरेबियाको सहयोगमा पाकिस्तान सरकारले पुनर्निर्माण गरेको थियो।

पाकिस्तानी सेनाका प्रमुखले गरेको ट्विटमा चारवटा फोटो छन्। पहिलो फोटोमा जंगलको बीचमा विस्फोटबाट जमिनमा खाल्डो परेको तथा आसपासका रुखहरू भाँचिएको देखिन्छ। दोस्रो फोटोमा विस्फोटपछि बमाबट उछुट्टिएका टुक्राटुक्रीजस्तो देखिने सामान छन्। तेस्रो फोटोमा विस्फोट भएको बमजस्तो वस्तु देखिन्‍छ भने चौँथो फोटोमा जंगलमुनी पर केही घरहरू तथा खाली जमिन देखिन्छ भने वर विस्फोटले उजाडिएको जंगल र जमिन देखिन्छ।

सुरुमा लाइन अफ कन्ट्रोल पार नगरी बम खसाल्ने योजना भारतीय सेनाको थियो। एक हजार किलो तौल भारतीय हवाई क्षेत्रबाटै खसाल्ने योजना उसको थियो। तर चर्को हावाका कारण यो सम्भव भएन। ुपश्चिमबाट पूर्वतिर चर्को हावा बगेकाले फाइटर विमानले लाइन अफ कन्ट्रोल पार गरे, उच्चस्रोतलाई उद्धृत गर्दै प्रिन्टले लेखेको छ।

हवाई हमलाका लागि प्रख्यात मिराज–२००० फ्रान्सेली विमान प्रयोग भएको छ । ४७ फिट लम्बाई र र सात हजार पाँच सय किलो तौलको यही लडाकु विमानबाट भारतले आक्रमण गरेको हो। यसको अधिकतम गति दुई हजार किलोमिटर प्रतिघण्टा हुन्छ। विमानले १३ हजार आठ सय किलो गोला बारुद बोकेर पनि दुई हजार तीन सय ३६ किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्छ। यो विमानले पहिलो पटक १९७० को दशकमा उडान गरेको थियो। यो डबल इन्जिन भएको मल्टिरोल लडाकु विमान हो।

भारतीय दावी पाकिस्तानद्वारा अस्वीकार

राष्ट्रिय सुरक्षा समितिको आपतकालीन बैठक लगत्तै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बालाकोटमा रहेको आतंकवादी क्याम्पलाई लक्षित गरी आक्रमण गरेको तथा ठूलो हताहती भएको भारतीय दावीलाई अस्वीकार गरेका छन्। भारतीय आक्रमणलगत्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आपत्कालीन बैठक बोलाएका थिए। पाकिस्तानी सेना प्रमुख आसिफ गफूरले भारतले लाइन अफ कन्ट्रोल नाघेर शान्ति भंग गरेको आरोप लगाएका छन्। उनले भारतलाई चेतावनी दिएका छन्, ‘हाम्रो प्रतिक्रिया पर्खनू।’

यसैबीच पाकिस्तानले पनि लाइन अफ कन्ट्रोलमा गोलाबारी गरेको खबर हिन्दुस्तान टाइम्सले लेखेको छ। भारतीय वायुसेनाको आक्रमणको विरुद्ध पाकिस्तानले मंगलवार साँझ सीमा क्षेत्रमा जवाफी कारबाही गरेको हो। जम्मु कश्मीरमा नियन्त्रण रेखास्थित नौशेरा, राजौरी, अखनुर र कृष्णा उपत्यकामा पाक सेनाले कारबाही गरेको हो।

पाकिस्तानका विदेशमन्त्री शाह महुद कुरैशले भारतका तर्फबाट पाकिस्तानमा आक्रमण गर्न नसकेको र भारतीय विमान भाग्दा केही बम खसेको बताएका छन्। उनले पाकिस्तानतर्फ कुनै क्षति नभएको बताएका छन्। उनले भारतीय सेना आफ्नो सीमामा घुस्न खोजेको तर असफल भएको बताए।

आतंकवादीबिरुद्ध कार्वाही : भारत

भारतले कश्मीरी पृथकतावादी र अन्य लडाकु लुकेर बसेको आशंकामा लाइन अफ कन्ट्रोल पार गरी पाकिस्तान अधीनस्थ क्षेत्रमा हवाई कारबाही गरिएको जनाएको छ। भारतले यसलाई ‘नन मिलिटरी प्री इम्प्टिभ स्ट्राइक’ भनेको छ।

इन्डियन एक्सप्रेसका अनुसार भारतीय सेनाले कुनै पनि सैन्य अखडा वा मानवबस्ती नभइ खुला ठाउँमा आक्रमण गरेको छ र यो हमलालाई आत्मरक्षा भएनेको छ। यदि सैन्य क्याम्प वा अखडामा आक्रमण गरो भए यो युद्धको सिधा घोषणा हुन्थ्यो। यसलाई प्री इम्प्टिभ एक्सन भनेर पाकिस्तानमाथि कुटनीतिक दवाब पार्न खोजेजस्तो देखिन्छ।

प्रिन्ट अनलाइनका अनुसार भारतले सिधा सैन्य अखडामा हमला गरेको भए त्यो संयुक्त राष्ट्रसंघमा छलफलको विषय बन्न सक्थ्यो र भारतका लागि पनि भारी पर्न सक्थ्यो। प्रधानमन्त्री नरेन्द्र मोदीले भने घटनाबारे सिधा प्रतिक्रिया दिएका छैनन् तर दिनभर भएका सभा तथा कार्यक्रमहरूमा उनी प्रसन्न देखिन्थे। भारतको स्वाभिमानलाई अझ उठाउने उनले सबैजसो कार्यक्रमहरूमा सुनाए। नजिकिँदै गरेको चुनावको प्रचारको झल्को दिने गरी मिडियाहरूमा प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी कार्यक्रमहरू दिनभर नै देखाइएको छ।

हालसम्म पाकिस्तानले घटनामा क्षति नभएको बताएको छ भने भारतले आक्रमणमा कयौँ आतंकवादी मारिएको दावी गरेको छ। भारतीय विदेश सचिव विजय गोखलेले एक पत्रकार सम्मेलनमा कमान्डरहरूसहित ठूलो संख्याका लडाकूहरू मारिएको दावी गरेका छन्। उनले आमनागरिकलाई भने कुनै क्षति नपुगेको बताएका छन्।

प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्