‘भोट हालेर मुलुकको सीमाना टुक्राउन मिल्छ ?’


 


टीकापुर, २६ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार र सीके राउतबीच भएको सम्झौता स्पष्ट नभएको आरोप लगाएका छन् ।

कैलालीको टीकापुरमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले सरकार र राउतबीचको सम्झौता दोहोरो अर्थ लाग्ने भएकाले सम्झौता स्पष्ट नभएको आरोप लगाएका हुन् ।

विखण्डनकारी मुद्दा छोडेर मुलधारमा आउनु सकारात्मक रहेपनि सम्झौतामा उल्लेख गरिएका शब्दले द्वेध अर्थ लगाएको थापाले बताए ।

‘सम्झौतामा भनिएको मधेशको मुद्दा जनअभिमतबाट टुंग्याउने भनिएको छ, जनमत संग्रह वा आवधिक निर्वाचन जे भनेपनि मुलुकको अखण्डता टुक्राउने अधिकार कसैलाई छैन्’, थापाले प्रश्न गरे, ‘भोट हालेर मुलुकको सीमाना टुक्राउन मिल्छ ? संविधानमै मुलुकको अखण्डता अपरिवर्तनीय छ ।’

सम्झौतालाई राप्रपाले शर्तकताका साथ स्वागत गरेको बताउँदै थापाले सम्झौतामा प्रयोग भएको भाषाको वास्तविकताबारे सरकारले यथाशक्य चाँडो धारणा सार्वजनिक गर्नुपर्ने बताए । ‘सम्झौता बारेमा सरकारले तत्काल धारणा सार्वजनिक गर्नुपर्छ,’ थापाले भने, ‘यदि सीके राउतले भनेझैं सहमति भएको भए त्यो मुलुकका लागि दुर्भाग्यपूर्ण हुनेछ ।’

माओवादी जनयुद्ध र दोश्रो जनआन्दोलनको उद्देश्य कार्यान्वयनमा त्रुटि भएको उल्लेख गर्दै थापाले लोकतन्त्रको आवरणमा लुटतन्त्र मौलाउँदै गएको आरोप लगाए । ‘माओवादी विद्रोह नयाँ ढंगबाट सुरु हुन खोज्दैछ, योजनावद्ध रुपमा धर्म परिवर्तन भइरहेको छ, सामाजिक सद्भाव बिग्रिने अवस्थामा पुगेको छ,’ थापाले भने, ‘यस्तै अवस्था भए मुलुक धार्मिक द्वन्द्वमा फस्ने खतरा बढ्दै गएको छ ।’

प्रकाशित मिति: २६ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्