राजा महेन्द्रलाई पछुतो थियो


 


विसं ०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि बीपी कोइराला मकहाँ आइरहन्थे। एक दिन जिज्ञासा पोखे, ‘किन राजा महेन्द्रले कू गरे होलान् ।महेन्द्रकै कार्यकालमा म ०२६ सालमा प्रधानमन्त्री भएँ। त्यसैले उनलाई लागेको रहेछ, राजाले सबै कुरा मलाई भने होलान्। तर, ०१७ सालमा म संघर्ष गर्दै थिएँ। जवाफ दिएँ, ‘मलाई किन सोध्नुहुन्छ ? आफ्नै पि्रय मान्छे विश्वबन्धु (थापा) र तुलसी (गिरी)लाई सोध्नू न । त्यसपछि उनले कहिल्यै कुरा उप्काएनन्।जनमत संग्रहताका बीपीले प्रस्ताव राखे, ‘तपाईं पनि राष्ट्रवादी सोचको मान्छे।

किन एकै ठाउँमा मिलेर काम नगर्ने ?’ मैले बीपीलाई लामो समयदेखि आफू पञ्चायतमा सक्रिय रहेको सम्झाएँ। र, अहिले छाड्दा दरबारलाई घात हुने बताएँ। बीपीले फेर िदोहोर्‍याएर कुरा गरेनन्। त्यतिबेला बहुदल र निर्दलबीच ठूलो कटुता थियो। स्याङ्जामा बीपीलाई झन्डै मारे। मलाई पनि गोरखामा कांग्रेस समर्थकले झन्डै मारेका। रातभर िप्रहरीको सुरक्षामा बस्नुपर्‍यो। बीपीले खबर पाएछन्। आफ्नै कार्यकर्तालाई बोलाएर हकारे, ‘के गरेको यस्तो ? कीर्तिनिधिजीको विरोध किन गरेको ? उनी पञ्चायतमा छन् भन्दैमा आफ्नो विचार राख्न नपाउने ।

सच्चा प्रजातन्त्रवादी हुन् बीपी, जो सबैको विचारलाई उत्तिकै कदर गर्थे। जनतामा जान भनेपछि भित्रैदेखि रमाउने स्वभाव थियो। प्रजातन्त्रमा चट्टानझैँ अडिग थिए। प्रजातान्त्रिक आस्थामा विश्वास गर्ने र राष्ट्रवादीलाई एकजुट बनाएर लानुपर्छ भन्ने सोच थियो, उनको। जीवनभर दरबारबाट दुःख पाए। तर, आवेगमा कहिल्यै राजसंस्थाको कुभलो चिताएनन्। मान्छे खराब हुन सक्ला तर संस्था खराब हुँदैन भन्ने मान्यता थियो उनको। जस्तो ः महेन्द्रले उनीमाथि त्यत्रो अन्याय गरे, तैपनि महेन्द्रप्रति कहिल्यै तुष राखेनन्। एउटा महान् नेतामा हुनुपर्ने गुण यही हो- व्यक्तिभन्दा राज्यलाई प्राथमिकता दिने।

अहिले सम्झन्छु, आखिर किन महेन्द्रले आफूले त्यतिविधि मानेका नेतालाई पद्च्यूत गरे ? किनभने, मैले देख्दा, महेन्द्र पनि बीपीप्रति कुनै पूर्वाग्रह राख्दैनथे। बीपीको कुरा हुँदा उनको भावै अर्को हुन्थ्यो। भन्थे, ‘पीएम (प्रधानमन्त्री) हुनलायक मान्छे त बीपी नै हो।’महेन्द्रमा पछिल्लो समय बीपीलाई राष्ट्रिय राजनीतिमा जोड्न नसकेकामा पछुतो थियो। म प्रधानमन्त्री भएकै बेला एक दिन उनले हामीलाई बोलाए। र, संविधानका केही धारा फेरबदल गरेर बीपीलाई राष्ट्रिय राजनीतिमा फर्काउने मनसाय व्यक्त गरे। त्यसको सात दिनमा महेन्द्रको निधन भयो। आफैँले सत्ताच्यूत गरेका प्रधानमन्त्रीलाई राष्ट्रिय राजनीतिमा समावेश गराउने उनको ध्येय थियो। तर, उनको निधनसँगै त्यो काम गर्भमै तुहियो।

प्रकाशित मिति: २६ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्