मैले पार्टीभित्र कसैको अधिकार खोसेको छैन : सभापति देउवा



बेनी, २६ फागुन : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताएका छन् ।

नेपाल प्रेस यूनियन म्याग्दीले बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले भने, “देशलाई विभाजन गर्नुपर्छ भन्ने मत राख्ने समूहलाई मुलुकको अखण्डतालाई स्वीकार गरी शान्तिपूर्ण बाटोबाट मूलधारमा ल्याउनुु राम्रो पक्ष रहेको छ ।”

सभापति देउवाले सरकार र राउत समूहबीच भएको सहमतिपत्रको बुँदामा प्रयोग गरिएको जनअभिमत शब्दलाई भने जनमत सङ्ग्रहका रुपमा स्वीकार गर्न नसकिने बताए । ‘‘मैले सरकारले सहमति गरेको भन्ने सुनेको छु, तर सबै बुँदा पढेको छैन, नेपालको केही भूभागको विषयमा जनमत सङ्ग्रह हुन सक्दैन,’’ उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले केही बुँदामा अस्पष्टता भए त्यसलाई सरकारले प्रस्ट पार्नु पर्ने बताउँदै आफूले पार्टीमा कसैको अधिकार नखोसेको स्पष्ट पारे । पार्टीको विधानानुसार नै आफू चलेको बताउँदै उनले पार्टीमा आन्तरिक प्रतिस्पर्धाका लागि सबैलाई खुला रहेको समेत बताए । ‘‘पार्टीमा चुनाव लड्न सबैलाई अधिकार छ, पार्टीभित्रको एकता कायम गर्न म सधैं तयार छु,’’ उनले भने ।

सभापति देउवाले नेविसङ्घभित्रको उमेरहद र निर्वाचनको विवाद सङ्गठनभित्रको आन्तरिक विवाद रहेको उल्लेख गर्दै विधानानुसार नै पार्टीलाई अघि बढाइने बताए ।

फरक प्रसंगमा सभापति देउवाले नेपालका बहुसङ्ख्यक नागरिक हिन्दू रहेको बताउँदै देशमा अन्य नागरिकले पनि विभिन्न धर्म मान्ने भएकाले नेपाललाई हिन्दू राज्य घोषणा गर्न सम्भव नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News