शैक्षिक परामर्शदाता क्षेत्रमा विदेशी ! सिटौला कानून विपरीत लगानी भित्र्याउँदै


 


काठमाडौं । नेपालमा आईईएलटीएस परीक्षा सञ्चालन गर्दै आइरहेको अष्ट्रेलियन संस्था आईडीपी एजुकेशनले प्रत्यक्षरुपमा नेपाली विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिने उद्देश्यले कन्सलटेन्सीकै काम गर्न थालेपछि नेपाली शैक्षिक पराशर्मदाता व्यवसायीहरूले विरोध गरेका छन् । शिक्षा मन्त्रालयको निर्देशिका अनुसार, शिक्षामा प्रत्यक्ष विदेशी लगानी भित्र्याएर नेपालमा विदेशी संस्थाले काम गर्न पाउँदैन । तर, आईडीपी अष्ट्रेलियाले ५१ प्रतिशत सेयर आफ्नो नाममा रहने गरी हात्तिसारमा कार्यालय स्थापना गरेर काम गर्न थालेको छ ।

आईडीपीको नेपाली लगानीकर्ता झापाका भुपेन्द्र सिटौला(निरज) हुन् भने उनलाई पर्दा पछाडिबाट सहयोग गर्ने बानेश्वरस्थिति अल्फा हाउसका मालिका द्विराज शर्मा हुन् । शिक्षा मन्त्रालयले आईडीपीलाई नेपालमा लगानी गर्न नदिनु भन्ने राय उद्योग मन्त्रालयलाई पठाएको पाँच महिना वितिसकेको छ । तर, सर्वोच्च अदालतबाट स्टे अर्डर लिएकै भरमा आईडीपीले परामर्शको काम गरी विद्यार्थीलाई अष्ट्रेलिया पठाउने काम गर्दै आइरहेको छ ।

नेपालमा शैक्षिक परामर्श क्षेत्रको प्रतिनिधित्व गर्ने संस्थाहरू इक्यान, आईरिन र फेकनले पटक–पटक शिक्षा मन्त्रालयलाई आईडीपीको काम बन्द गराउन दबाब दिएपनि सिटौला र शर्माले शिक्षा र उद्योगका कर्मचारीहरूलाई घुस ख्वाई निर्वाध रुपमा काम सञ्चालन गर्दै आइरहेको एक परामर्श व्यवसायीले बताए । नेपालमा नै झण्डै १५ सय कन्सलटेन्सी रहेको अवस्थामा विदेशी लगानी भित्र्याएर पुनः कन्सलटेन्सी नै स्थापना गर्दा एकातिर नेपाली व्यवसायीहरू रोजीरोटी नै खोसिन लागेको छ भने अर्कोतिर नाफाजति सबै विदेश पुग्ने देखिन्छ ।

नेपाली विद्यार्थीलाई विदेश पठाउँदा विदेशी शैक्षिक संस्थाहरूले कमिसन पनि दिने गर्दछन् । आईडीपीको अष्ट्रेलियमा रहेका ३० भन्दा बढि शैक्षिक संस्थाहरूसँग लगानी छ । नेपालमा ५१ प्रतिशत लगानी गरी कमिसन लिने र नेपाली विद्यार्थी पुनः आफ्नै संस्थामा पठाएर आईडीपीले सिन्डिकेट लाद्न खोजिरहेको हुँदा नेपाली व्यवसायीहरूले विरोध जनाएका हुन् ।

अहिले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानून संशोधनका लागि संसदमा विधेयक पुगेको छ । यही बेला शर्मा र सिटौलाले न्यूनतम ५० लाख लगानी गरी विदेशी संस्थालाई नेपाल भित्र्याइ परामर्श क्षेत्रलाई नै तहसनहस बनाउनका लागि नेकपाका नेताहरूलाई प्रभावमा पार्न खोजिरहेका छन् । शर्माको आईडीपीमा कानुनी रुपमा कुनै सेयर छैन, तर उनले सिटौलाई लगानी गरी आईडीपीमा प्रवेश गरेको इक्यानका एक पदाधिकारी बताउँछन् ।

संसदबाट ऐन पारित गराई शर्मा र सिटौलाले आईडीपीलाई बैधता दिन नेकपाका नेताहरूलाई करोडौं खर्च गरिरहेको ती पदाधिकारी बताउँछन् । स्रोतका अनुसार उद्योग मन्त्री मातृका यादव र शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले आईडीपीका कारण नेपालका १ हजार ५ सय भन्दा बढी कन्सलटेन्सी बन्द हुने कारण देखाई शिक्षामा विदेशी लगानी भित्र्याउन नहुने राय सरकारलाई दिएपनि ठूलो चलखेलका कारण संसदबाट ऐन पारित गराई शैक्षिक परामर्श क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन शर्मा र सिटौला लागिपरेका छन् ।

सानु पूँजीबाट शैक्षिक परामर्श व्यवसाय सञ्चालन गर्न सकिने अवस्था रहँदा रहँदै यी दुई विदेशी दलालले एफडीआईको नाममा विदेशी कम्पनीलाई नेपाल भित्र्याएर नेपाली लगानी डुबाउने चलखेल गरिरहेका छन् । ५० लाख लगानी गरेकै भरमा विदेशी शैक्षिक संस्थालाई नेपालमा परामर्शदाताका रुपमा भित्र्याई नेपाली लगानीकर्ताहरूकै विल्लीवाठ बनाउन लागेका कारण इक्यान, आईरिन र फेकनले आन्दोलनको तयारी गरेका छन् ।(साँघु साप्ताहिक, चैत ४)

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्