अब लोडसेडिङ् २ घण्टा घट्ने


 


काठमाडाैं, फागुन ४

नेपालले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात गर्ने ८० मेगावाट भारतीय बिजुलीको मूल्य प्रतियुनिट ७ रुपैयाँ ३ पैसा पर्ने भएको छ । विद्युत् प्राधिकरण र भारत सरकारको नोडल एजेन्सी एनभीभीएनबीच बिजुली खरिद बिक्री सम्झौता भएको छ । सम्झौताअनुसार बुधबारदेखि भारतबाट ८० मेगावाट विद्युत् ल्याइने छ । उक्त परिमाणमा विद्युत् ल्याएसँगै दैनिक दुई घण्टा लोडसेडिङ कम हुने जनाइएको छ ।

सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्ले र एनभीभीएनका महाप्रबन्धक एके मग्गुले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एनभीभीएनले अन्तरदेशीय प्रसारण लाइन हुँदै प्राधिकरणलाई बुधबारदेखि प्रतियुनिट भारु ३.४ (५ रुपैयाँ ५०) मा ८० मेगावाट बिजुली निर्यात गर्न थाल्ने छ ।

भारत सरकारले प्रधानमन्त्री केपी ओलीको नयाँदिल्ली भ्रमणका अवसरमा शुक्रबारदेखि औपचारिक रूपमा नेपाललाई बिजुली निर्यात गरेको घोषणा गर्ने छ । प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण गरेका नेपाल र भारततर्फका दुई कम्पनीलाई प्रतियुनिट १ रुपैयाँ ५३ पैसा हिलिङ चार्ज (प्रसारण शुल्क) तिर्नुेपर्ने छ । नेपालतर्फ प्रसारण लाइन कम्पनी र भारततर्फ भारतीय प्रसारण लाइन कम्पनीले अन्तरदेशीय प्रसारण लाइन निर्माण गरेका हुन् ।

भारतबाट उक्त प्रसारण लाइनबाट बिजुली आयात गर्दा प्राधिकरणले ती कम्पनीलाई १ रुपैयाँ ५३ पैसा हिलिङ चार्ज तिर्नुपरेको हो । हिलिङ चार्ज जोडेपछि उक्त प्रसारण लाइनबाट आयात गरेको बिजुलीको मूल्य ७ रुपैयाँ ३ पैसा पर्ने छ ।

सम्झौताअनुसार नेपालले असारसम्म यही बाटोबाट ८० मेगावाट बिजुली ल्याउने छ । प्राधिकरणले ८० मेगावाट आयात गरे पनि प्राविधिक चुहावटका कारण यथार्थमा ७५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने जानकारी प्राधिकरणका अधिकारीले दिए ।

प्राधिकरणले नेपालतर्फ निर्माण गरिरहेको २२० केभीए क्षमताको सबस्टेसन निर्माण गरिरहेको छ । त्यो निर्माण नभएसम्म प्राधिकरणले हालै निर्माण सम्पन्न भएको १३२ केभीए क्षमताको सबस्टेसनबाट बिजुली आयात गरिने छ ।

२२० केभीएको सबस्टेसन निर्माण भएपछि भारतबाट थप १ सय २० मेगावाट ल्याउने जानकारी कार्यकारी निर्देशक काफ्लेले दिए । उक्त सबस्टेसन यही आर्थिक वर्षभित्रै सक्ने तयारी प्राधिकरणको छ । भारतबाट बिजुली आयात भएपछि लोडसेडिङ दैनिक २ घण्टा घट्न सक्ने अनुमान प्राधिकरणको छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्