कांगेसकाे काे बन्ला उपसभापति, महामन्त्री र सहमहामन्त्री ?


 


काठमाडाैं, चैत्र २

नेपाली कांग्रेसको चुनाव परिणाम आइसकेपछि अब नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति र महामन्त्रीमा कसलाई मनोनित गर्छन् भन्नेमा धेरैकाे चासाे बढेकाे छ । पार्टी विधानअनुसार निर्वाचित सभापतिले तीन पदाधिकारी मनोनयन गर्न सक्छन्।

वर्षौंदेखि देउवासँगै बसेर उनलाई सहयोग गर्दै आएका नेपाली कांग्रेसका थुप्रै युवा नेताहरू छन्। जसका कारण देउवा समूह पार्टीभित्र अल्पमतमा रहँदा पनि सशक्त रह्यो र अहिले बहुमतमा पनि पुगेको छ।  विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, प्रकाशशरण महत, रमेश रिजाल लगायतका नेताहरु देउवा पक्षका प्रमुख अनुहार हुन्। सिद्धान्तत: उनीहरु नै देउवाले नियुक्त गर्ने पदाधिकारीका सशक्त दाबेदार हुन्।

तर देउवाको यसपालिको जितमा माथि उल्लेखित नेताहरुको मात्र भूमिका छैन। महाधिवेशन प्रतिनिधिहरुको चयन भएपछि देउवा पक्षको आन्तरिक मूल्यांकनमा आफूहरु केही मत पछाडि परेको विश्लेषण थियो।

विजयका लागि थप मत तान्नुपर्ने आवश्यक देखियो। देउवाका लागि रामचन्द्र पौडेल पक्षको मत तान्नु आवश्यक थियो नै। जितका लागि खुमबहादुर खड्काको सहयोग अनिवार्य बन्यो। देउवाले खड्कासँग पटकपटक भेटवार्ता गरेर अधिवेशन सुरु हुनु दुई दिन अघिमात्रै उनलाई आफ्नो पक्षमा उभिन सहमत गराए। देउवासँगको भेटवार्तापछि खड्का यसपटक कुनै लिखित सम्झौताबिना नै देउवालाई सहयोग गर्ने राजी भए।

पार्टीको १२औं महाधिवेशनमा मनोनित उपसभापतिसहित कोषाध्यक्ष र मनोनित सहमहामन्त्री पदको लिखित सम्झौतापछि मात्र खड्काले देउवालाई सहयोग गरेका थिए।अहिले चुनाव जितेपछि खड्कालाई लत्याएर पदाधिकारी नियुक्ति गर्ने अवस्थामा देउवा छैनन्।

सभापति देउवासँग यी सबै आकांक्षीलाई सन्तुष्ट गर्न जम्मा तीन पद छन्(उपसभापति, महामन्त्री र सहमहामन्त्री। सभापति देउवाको सबैभन्दा ठूलो चुनौती भनेको खुमबहादुर खड्काको व्यवस्थापन नै हो। उनी स्वयं उपसभापतिको आकांक्षी छन्। तर उपसभापतिमा उनका राजनीतिक उत्तराधिकारी विमलेन्द्र निधिका आँखा छन्।

देउवालाई यिनीहरु दुईमध्ये एक उपसभापति र अर्कोले महामन्त्रीमा मनोनित हुन स्वीकारे सजिलो हुन्थ्यो तर उनीहरू दुबैका आँखा उपसभापतिमा मात्र छैनन्, दुबै मनोनित महामन्त्री बन्न चाहँदैनन्।  निधिका लागि अहिले मनोनित महामन्त्री बन्नु भनेको पार्टीभित्रको बरियता क्रममा निर्वाचित महामन्त्री शशांकभन्दा तलमात्रै पर्ने होइन कि १४औं महाधिवेशनमा पनि नेतृत्वमा पुनः स्थापित हुन कठिन बाटो तय गर्नु हो।

अर्कोतिर मनोनित उपसभापति हुनु भनेको एकतिर बरियता क्रममा पनि माथि रहनु हो भने अर्कोतर्फ सभापति विदेश भ्रमणमा रहेको बखत कार्यवाहक सभापतिको जिम्मेवारी स्वत: पाउनु हो। त्यसबाहेक पार्टी विधानको दफा ३६ अनुसार पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखको रुपमा पार्टी संगठनमा क्रियाशील हुँदै नेतृत्वमा स्थापित हुन सकिने कुरा निधिले राम्रोसँग बुझेका छन्।

खड्का र निधिबीच रोज्नु परेमा देउवाको रोजाइमा निधि नै पर्नेमा कुनै शंका छैन। तर आफ्नो व्यक्तिगत स्वास्थ्य र समस्याका बाबजुद् कार्यकर्तामाझ उभिएर मत मागेका नेता खड्कालाई कसरी सम्झाउने भन्ने असजिलो देउवाका लागि छ।

फेरि यसपटक निर्वाचित केन्द्रीय समितिमा खड्काको उपस्थिति तुलनात्मक रुपमा बलियो छ। अहिले भन्नका लागि देउवा पक्षका ३६ निर्वाचित सदस्य भनिएपनि तीमध्ये, पुष्पा भुसाल, शंकर भण्डारी, अजय चौरसिया र देवेन्द्रराज कँडेल खड्काको निर्देशनअनुसार चल्ने सदस्य हुन् भने पूर्णबहादुर खड्का र मोहनबहादुर बस्नेतलाई पनि खड्काकै नजिक मानिदै आएको छ।

यदि देउवाले खड्कालाई पार्टीभित्र सम्मानजनक स्थान दिन सकेनन् भने उनको समर्थन देउवालाई रहिरहन्छ भन्ने छैन। फेरि देउवालाई अर्को महाधिवेशन पनि लड्नु छ। अर्कोपटक उनको प्रतिस्पर्धी सम्भवत: शशांक कोइराला हुनेछन्। त्यसैले पनि खड्काले आफ्नो साथ छोडुन् भन्ने देउवा चाहदैनन्।

निधि र खुमबहादुर दुबैले महामन्त्री बन्न नचाहेको अवस्थामा कसलाई महामन्त्री बनाउने भन्ने चुनौती पनि देउवालाई छ। त्यसपछि उनकै समूहका आकांक्षी धेरै हुनेछन्, तर देउवाले कुनै एकमाथि महामन्त्रीका लागि भरोसा गरेको देखिन्न।

सहमहामन्त्री पदमा अघिल्लो संस्थापन पक्षले देखाएको ‘उदारता’ कायम राख्ने हो भने देउवाले अर्को पक्षलाई दिनु पर्नेछ। बाह्रौँ महाधिवेशनपछि सभापति सुशील कोइरालाले सहमहामन्त्रीमा देउवाको सिफारिसमा पूर्णबहादुर खड्कालाई नियुक्त गरेका थिए।

सहमहामन्त्रीका लागि अर्को पक्षबाट महेश आचार्य देउवाका नजरमा छन् भन्ने धेरैको अनुमान छ। देउवाले कसरी सन्तुलन मिलाएर तीन पदाधिकारीमा नियुक्त गर्छन् उनको पहिलो परीक्षण त्यही हुनेछ।

प्रकाशित मिति: २ चैत्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्