देउवाकै भाषणका कारण कार्यकर्ताबीच कुटाकुट


 


काठमाडौं नेपाली कांग्रेसले सुरु गरेको राष्ट्रिय जागरण अभियान आन्तरिक द्वन्द्वमै रुमलिने खतरा देखिएको छ ।

सरकारविरुद्ध केन्द्रित रहँदै पार्टीलाई पुनःजागरण गराउने उद्देश्यले सुरु गरिएको जागरण अभियानकाक्रममा पार्टीभित्रै अन्तरसमूहबीच झडप हुन थालेपछि आन्तरिक द्वन्द्वमै रुमलिने आशंका बढेको हो ।

जागरण अभियानमार्फत् सकारात्मक सन्देश दिन भन्दै कांग्रेस अनुशासन आयोगले अभियानमा पार्टीका नेताहरुको आलोचना गर्न नपाइने निर्णय गरेको थियो ।

त्यतिमात्र होइन, पार्टीको अभियानलाई थप प्रभावकारी र कांग्रेस सुध्रिएको देखाउनका लागि माला–खादा तथा आसनग्रहणसमेत नगर्ने र वक्ता पनि दुईरतीनजनामा नै सीमित गर्ने भनिएको थियो । तर, यसको कार्यान्वयन भने अपवादकारुपमामात्र भए ।

एकाध जिल्लाबाहेक अन्यत्र पुरानै ढर्राअनुसार कार्यक्रम बनाइ सन्चालन गरियो र पार्टीभित्रकै एक–अर्का नेताप्रति गाली गर्न जागरण मञ्चहरु प्रयोग भए ।

तल्लो वा मध्यस्तरका नेताहरु भएका कार्यक्रममामात्र यस्तो भएको होइन, स्वयं केन्द्रीय सभापति उपस्थित कार्यक्रममासमेत केन्द्रीय परिपत्रको धज्जी उडाइयो ।

सभापति शेरबहादुर देउवालेसमेत परिपत्र र अनुशासन समितिको निर्णय उल्लंघन गरिदिए ।

काठमाडौं जिल्ला कार्यसमितिले बुधबार गरेको जागरण अभियानमा केन्द्रीय सभापति देउवा र काठमाडौं जिल्ला सभापति सबुज बानियाँबीच पार्टीको आन्तरिक निर्णय प्रक्रियालाई लिएर जुहारी नै चल्यो ।

काठमाडौं सभापति बानियाँले ‘महासमितिमा बोलेको कुरा कार्यान्वयन गर्न नसक्ने सभापति देउवा केन्द्रीय समितिमा अल्पमतमा त हुनुहुन्न ?’ भनेर व्यंग्यात्मक प्रश्न गरे ।

त्यसको जवाफ दिँदै जागरण अभियानको उद्घाटनमै सभापति देउवाले महासमितिले निर्णय नगरेको विषयलाई ‘अनर्गल’ प्रचार नगर्न चेतावनी दिए ।

बरु, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको पालमा बोल्न नसक्नेहरु अहिले आफूलाई र्‍याखर्‍याख्ती पार्न लागेको भन्दै ‘कोइरालाहरुसँग कांग्रेस कार्यकर्ता किन बोल्न डराउँछन् ?’ भन्दै उल्टो प्रश्न गरिदिए ।

कांग्रेसले जे उद्देश्यले जागरण अभियान गरेको थियो, यो जुहारी ठीक त्यसको विपरीत छ ।

केन्द्रीय सभापति नै उपस्थित कार्यक्रममा यो हालत छ भने अन्य ठाउँको जागरण अभियानमा कस्ता विषय उठेका छन्, सहजै अनुमान गर्न सकिन्छ ।

जागरण अभियानमा भाषण गरेकै विषयलाई लिएर सिन्धुपाल्चोकमा त झन् आफ्नै पार्टी कार्यकर्ताबीच हात हालाहाल भएको छ ।

सत्तारुढ दल नेकपा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘सबक’ सिकाउन भन्दै गरिएको जागरण अभियानमा आफैंभित्र देखिएको यस्तो असहिष्णु चरित्रले के कांग्रेसले फेरि जनताको मन जित्न सक्ला ?

प्रकाशित मिति: २६ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्