ओली सरकारले राजमार्ग अवरुद्ध भए १० मिनेटमै खुलाउने


 


काठमाडौँ। सरकारले राजमार्ग वा सडक अवरुद्ध हुनै नदिने र यदि कुनै कारणले अवरुद्ध भए १० मिनेटभित्र नै अवरोध खुलाउने योजना अगाडि ल्याएको छ । सरकारले ल्याएको ‘राजमार्गमा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारबाहीको कार्यविधि, २०७५’ मा सो कुरा उल्लेख छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामकृष्ण सुवेदीले राजमार्ग र सडक सकभर कुनै पनि कारणले अवरुद्ध हुनै नदिने र यदि कुनै कारणले अवरुद्ध भए १० मिनेटभित्र खुलाउने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “समग्र मुलुक र आम नागरिकको ‘लाइफ लाइन’ को रूपमा रहेको राजमार्ग र सडक कुनै पनि हालतमा एकछिन पनि अवरुद्ध हुनुहुुँदैन भन्ने राज्यको मान्यता छ । त्यसैले ‘राजमार्गमा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारवाहीको कार्यविधि, २०७५’ कार्यान्वयनमा आएको हो ।’’

प्रवक्ता सुवेदी भन्नुहुन्छ, ‘‘आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न तथा विभिन्न बहानामा राजमार्ग र सडक अवरुद्ध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न तथा आमनागरिकलाई विना अवरोध सहजरूपमा मुलुकभर यात्रा गर्न सहज होस् भन्ने उद्देश्यसहित सो कार्यविधि ल्याइएको हो ।’’
प्रवक्ता सुवेदीले सो कार्यविधि मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा पठाइसकिएको जानकारी समेत दिनुभयो । कार्यविधि कार्यान्वयनमा आएसँगै अवरुद्ध राजमार्ग र सडक खुलाउन सम्बन्धित क्षेत्रको प्रशासनले एकीकृत बल प्रयोग गर्न सक्ने छ ।

निहित स्वार्थ पूरा गर्न बन्द–हडताल गर्ने र प्राकृतिक विपद्का कारणलेसमेत बेलाबेलामा सडक अवरुद्ध हुने समस्या रहँदै आएको छ । बीच बाटोमा अवरोधको कल्पना कसैले गरेको हुँदैन तर आकस्मिक रूपमा हुने बन्द हडताल तथा प्राकृतिक प्रकोपबाट हुने समस्याले यात्रुहरूले कतिपय अवस्थामा ठूलो हैरानी ब्योहर्नु परेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति: ५ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्