नेत्रविक्रम चन्द विप्लवका जिल्ला प्रमुख सहित दर्जनौं सत्‍तारुढ नेकपामा प्रवेश


 


स्याङ्जा : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्याङ्जा जिल्ला प्रमुखले पार्टी परित्याग गरेका छन्। नेकपाका जनप्रतिनिधि सभा अध्यक्ष समेत रहेका शोभाकान्त पौडेल (राजु) ले शनिबार विज्ञप्ति जारी गरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेको जनाएका छन्।

जिल्ला सचिव गोकुल पराजुलीलाई पहरीले पक्राउ गरेसँगै जिल्ला प्रमुख भएका वालिङ नगरपालिका ६ का पौडेलले शनिबार जारी गरेको विज्ञप्तिमा विप्लवको नीतिले जनताको हित नगर्ने बताएका छन्। माओवादी जनयुद्धमा जनमुक्ति सेना हुँदै जिल्ला सदस्य बनेका पौडेल २०७१ सालमा विप्लव समूहमा प्रवेश गरेका थिए।

पार्टी परित्याग गरेका पौडेललाई नेकपा गण्डकी प्रदेश सदस्य तथा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद मरासिनीले पार्टी प्रवेश गराएका छन्।

यसअघि विप्लव नेकपाका भीरकोट १ का जिल्ला नेता डा. शेरबहादुर थापा र अर्जुन चौपारी ३ का सागर काफ्लेले पार्टी परित्यागको घोषण गरेका थिए।

प्रहरीले जिल्ला सचिव गोकुल पराजुली, जिल्ला सदस्य सागर अर्याल, मिशिरा नेपाली सहित ४ जनालाई पक्राउ गरेको छ।

प्रकाशित मिति: ११ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्