ज्वालामुखी माया



nirajan
निराजन बतास

कथा
पाँचथर जिल्लाको रोक्सिम डाँडामुनिको तुम्पुराङ गाउँ आज पनि रातभरि जमेको तुषारोले सेताम्मे देखिन्छ । रोक्सिम डाँडा माथिका अग्ला–अग्ला पात्ले, गुराँस र चिलाउनेका रुखहरुको सेपले तुम्पुराङ गाउँमा नौ बज्दा मात्र घाम झर्छ । जाडोले नसेकाओस् भनेर गाईभैसींहरुलाई ठाटीले बारेर राख्नुपर्छ । दुई तीन दिनमा कान्ला–कान्लामा गोठ सार्दै पत्कर थुपार्नुपर्छ ।
विहानभरि गाउँ नै चुक्चुकाइरहेको देखिन्छ तथापि खारुहाङले अघि नै एक खाङग्रे पत्कर ल्याएर भैंसीको छेउमा थुपारिसकेको छ । साया उनकी जहान हुन् । उनी भने यतिखेर खोल्माको तल्लोपट्टि ढिकीको छेउमा सुँगुरको चारो दुदे पिँडालुको पात खुट्टाले हँसियाको बिँड थिचेर तेसैमा रगड्दै काटिरहेकी छे । यी दुई जोइपोइको काम देखेर गाउँलेले ‘काम्मले’ भन्न थालेका छन् ।
उसो त बिहे गरेको यतिन्जेलसम्म खारुहाङको मनमा साया चमेली भन्दा कम बासनादार फुलेकी छैनन् । सायाको मनमा पनि खारुहाङ सुनाखरी जतिकै फुलेकै हुन् । जीवन निर्वाहको लागि गाउँको सुखदुःख र यिनीहरुको काम हेर्दा परबाट चैँ भीरको कुनै अप्ठ्यारोमा फुलेका फूलहरु जस्तै लाग्छन् यी दुई । यिनीहरुको बिहे भएको एक महिनामै गाउँलेले के भन्न थालेका थिए भने गाउँमा यिनीहरु जत्तिको काम गर्ने अरु छैनन् । छिमेकीहरुले ‘यिनीहरुले मात्र वनको सेउला सोतार सक्ने भए’ भन्न थालेका थिए । भीरमुनिबाट निस्कने दुई दुई खाङग्रे पत्कर र झोरमोरले सुँगुरको खोर निकै चाँडो भरिन थालेको थियो ।
रुवामा गाउँले छिमेकी थिइन् । छिमेकी मात्र होइन नाताले सायाको आफ्नै बडाकी कान्छी छोरी । तिनको बिहे खारुहाङकै दाजुभाइमा भूतपूर्व भारतीय सैनिकका छोरा रनध्वजसँग भएको थियो । खास कुरो के थियो भने खान्दानी भए पनि रनध्वज त्यति असल थिएनन् । उनी बेला कुबेला झगडा गर्न तम्सिरहन्थे । जब उनी तास खेल्न बस्थे र हार्न थाल्थे तब ‘साले चोर तास !’ भन्दै थुक्थे, च्यात्थे र सिँगान फाल्थे । अरुसँग झगडा पनि गरिहाल्थे ।
साया र रुवामा माइतीका दिदी बहिनी भएकोले पनि मेलापात हाटबजारमा पनि नजिक देखिनु स्वाभाविकै थियो । पछि पछि भने परिश्रमी र समझदार पोइ पाएकोमा रुवामाले सायालाई डाह गरेर बोल्न थालेकी थिई । कहिलेकाही सायाले आफ्ना पोइलाई अलि सम्झाएर राख्न सम्झाउँथी तर यो कुरा रुवामालाई पच्दैनथ्यो । आफ्नो पोइ खराब भएको कसैबाट सुन्न चाहन्नथी बरु कुरैकुरामा खान्दानी र सम्पत्तिको धाक घुसाइहाल्थी । एकदिन सायाले रुवामालाई ‘तिम्रो पोइलाई अलि सम्झाएर राख, तिम्लाई रन्डी सन्डी भन्दै कुट्दो रैछ, त्यो मलाई मन परेन’ भनेर सम्झाएकी के थिई रुवामाले सायालाई ‘खुबै फूर्ति लगाएको’ सम्झिई र मनमनै दिदीको सेखी झार्ने मनसुवा लिई ।
आइमाइ भित्रको ईश्या र डाह निकालिदियो भने आइमाइ नै बाँकी हुँदैन भनेर भुक्तभोगीहरुले त्यसै भनेका होइनन् रहेछ । फेरि काम नगर्नेको काम भनेको ईश्र्या र डाह गर्नु नै त हो नि । आफ्नै आफन्तको प्रगति पनि सुरुमा आफन्तलाई नै बिझ्दो रहेछ । रुवामाले सायालाई नानाथरी कुरामा उचाल्न थाली । गहना, लुगा राम्रो नभएको भन्दै गिज्याउन थाली । आइमाइको मन खोलाको पानी भन्ने उखानै छ । पोइसँग कैले गुनासो नगर्ने साया अचेल भने ठुस्किन थालेकी थिई ।
साया रुपले विछट्टकी नभए पनि फरासिली थिई । कसैको मनमा पसिहाल्न गाह्रो थिएन उनलाई । छोरो दुई वर्षको भए पनि उनमा रहेको रुप फारो भएर रहेको थियो । एकदिन उनको कुरा गर्ने शैली र व्यवहारले चिसापानी हाटमा भेट भएका बोहोटेका सोल्टीहरु भुतुक्कै भएका थिए । नानाथरि गाजल र क्रिम लगाएकी रुवामालाई चैँ सोल्टीहरुले वास्ता नगर्दा चुर भई । अलि अलि हाँसीमजाक गर्न त यी किराँतीनीहरुलाई केले छेक्थ्यो र ? अझ सोल्टीहरुले सायालाई एक अञ्जुली बदाम र एक रुमाल सुन्तला किनेर हातमा राखिदिएको हेर्दा रुवामालाई खपिसक्नु भएन । फनक्क फर्केर रुवामाले ‘अल्लारेहरुसँग मतानेका दोकानमा पसेर सायाले के–के खाई ?’ भन्दै गाउँभरि हल्ला गरी । उसले के पनि ढोल पिटी भने तिनीहरुमध्ये एक जनासँग सायाको बिहेअघि प्रेम थियो । गाउँमा अर्काको खरबारीमा डढेलो लगाउने के कम हुन्छन् र ? त्यसको असर खारुहाङको घरमा दुई दिनपछि देखिन थाल्यो ।
खारुहाङ र सायाको वीचमा बाझो सुरु हुन थाल्यो । सोझोको रिस गुह्रौँ हुन्छ । न आइमाइ सौता सहन सक्छन् न लोग्नेहरु जार सहन्छन् । बरु खुकुरी सहन सजिलो होला यी दुई जातलाई यी दुई कुरा सहिसक्नु हुँदैन । बाजेको पालादेखि दलिनमा सिउरीराखेको बेतको लौरोले सायाको फिलामा सुम्ला बस्ने गरी खारुहाङले हिर्कायो । खोल्मा पारि भैंसीको गोबर फाल्ने ठाउँसम्म घिस्याउँदै खारुहाङले सायालाई लग्यो र फेरि अर्को खेप ढाडमा सुम्ल्यायो । साया मध्येरातमा रुँदै मलको थुप्रोमा बसी । बच्चा उसकै छेउमा रुँदै बस्यो । खारुहाङ चुकुल मारेर सुत्न लाग्यो ।
रुवामा कहाँबाट आई कुन्नि ? सायालाई तान्दै लगेर आफ्नो घरको टाँडमा लुकाई र भनि–‘तिम्रो पोइले भेट्यो भने मार्छ, यही लुकेर बस ।’
खारुहाङ बिहान उठ्दा साया र बच्चा कहीँ थिएनन् । बारीतिर खोज्दा र बोलाउँदा पनि पत्ता लागेनन् । ‘सताउनलाई कति दिन लुक्दि रैछ..’ भनेर त्यो दिन खारुहाङ मेलोतिर लाग्यो । भोलिपल्ट पनि स्वास्नी र बच्चाको पत्तो नभएपछि गाउँभरि घुम्यो । उसकै साली पर्ने रुवामाले खारुहाङलाई भनी–‘मेरो दिदीलाई कुटेर कहाँ पठायौ ? खुरुक्क ल्याऊ, होइन भने पुलिसमा जाक्दिन्छु ।’
खारुहाङले स्वास्नी माइती गाको निक्र्यौल ग¥यो र अपराधी झैँ दायाँ बायाँ नहेरी दोबाटेको गाडी स्टेशनतिर ससुराल जान भनेर हिँड्यो । ससुराल इलामको दानाबारी पुग्दा साँझ झमक्क परिसकेको थियो ।
खारुहाङ अन्तर्मुखी अजिवको प्राणी हो । उसले सञ्चो कुशलै बुझ्न मात्रै ससुराली आएको बतायो । दुई दिन बस्दा सम्म स्वास्नी र बच्चाको कुनै सुइँको पाएन । ससुरालीको व्यावहार र बोलीबाट उसले कुनै हालतमा आफ्नो स्वास्नी माइत नआएको निक्र्यौल ग¥यो र फर्किने विचार ग¥यो । अघिल्लो रात ऊ निदाउनै सकेन । छट्पटाइरह्यो । एउटा गम्भीर अपराधबोधले उसको शीर सिधा हुनै सकेन । ‘स्वास्नी हाम फालेर मरी कि झुण्डिएर मरी !’ अनेकन तर्कनाले ऊ त्रस्त भयो । कर्मठ, कर्ममा विश्वास गर्ने भस्मे खोरिया फाँडेर अन्न फलाउने खारुहाङ एकैचोटि दमकमा ज्योतिषीको दैलो ढकढक्याउन पुग्यो ।
ज्योतिषीले सुरुमा खारुहाङको अनुहार पढ्यो र भन्यो–‘तिम्रो रिस हेर्दा तिमीले स्वास्नी मार्न सक्छौ, त्यसैले तिम्रो स्वास्नी कहाँ छ म बताउँदिन ।’ ज्योतिषीले आफ्नो विक्षिप्त स्थितीको फाइदा लिन खोजिरहेछ भनेर खारुहाङलाई के थाहा ? उसले अनुनय गर्दै आवेगमा भन्यो–‘त्यसो नभन्नुुस् ज्योतिषी बा, कति पैसा लिनुहुन्छ ? पाँच सय..?, एक हजार..?, पन्ध्रसय..?’ धनी भएर उसले पैसो फालेको थिएन त्यसका खुकुलो किराँती मनले काम गरेको थियो । उफ्रिरहेको पैसा ज्योतिषीको आँखाको नानीमा टल्किन थाले । बडो कुटिल तरिकाले ‘लु उसो भए तिमीले स्वास्नीलाई नकुट्नु है ।’ भन्दै ज्योतिषीले दसी माग्यो । दसीको रुपमा खारुहाङले स्वास्नीको सल बोकेको थियो । पातले पानी अच्याउँदै ज्योतिषीले फलाक्न थाल्यो–‘तिम्रो स्वास्नी मैदानमा होइन पहाडमै छ, पश्चिममा होइन पूर्वमै छ । तिमीहरु बिहे गरेर पहिले जहाँ घुम्न र देवताको दर्शन गर्न गएका थियौ तिम्रो स्वास्नी उही पुगेको छ । जस्को घरमा बसेका थियौ उसकै घरमा बसेको छ…।’ खारुहाङले हडबडाएर ‘धन्यवाद’ भन्यो र कुनै ज्ञानको विस्फोट भएजस्तो वा अन्तस्करणमा बिजुली चम्केर ज्ञानको झिलिक्क उदय भएजस्तो गरेर करायो–‘मैले थाहा पाएँ ऊ कहाँ छ ?’ एकैछिनमा खारुहाङ ज्योतिषीको छेउबाट दौडिएर अलप भयो ।

खारुहाङ चारआलीबाट पशुपतिनगर जाने बसमा बडो अस्थिर रुपमा बसिरहेको छ । ऊ सडकमा उभिएका पुलिस देख्ने बित्तिकै पनि तर्सिन्छ । कति बेला गाडी गुड्छ ? भन्नेमा मात्र उसको ध्यान गएको छ । आज ऊ फरार अभियुक्त झैँ डर, त्रास, भय र आशंकामा कोल्बोटेको घुम्तिहरुमा उकालो लागिरहेछ ।
ज्योतिषीको कुराले खारुहाङ के कुरामा विश्वस्त छ भने उसकी स्वास्नी बच्चालाई च्यापेर रिम्बिक उताको सेपी गाउँमा पुगेकी छे । बिहे लगत्तै उसले स्वास्नीलाई दार्जीलिङतिर घुमाउँदै सेपीको देवधाम पु¥याएको थियो । उसको मनका तर्कनाहरुले उसलाई के निश्कर्ष दिइरहेका छन् भने शक्तिशाली देवधाम भएकै हुनाले र गर्भमा रहेको बच्चाले पनि देवधामको दर्शन गरेको हुनाले त्यै शक्तिले तानिएर आमा र बच्चा त्यहाँ पुगेका छन् । स्वास्नीले नाबालकलाई कसरी त्यहाँ पु¥याई होला भन्ने सोच्दा मात्र पनि यतिखेर भक्कानो हुन खोज्छ खारुहाङलाई । पशुपतिनगर पुग्दा दार्जीलिङ सुखिया पोखरीको गाडी छुटिसकेको हुनाले त्यही बास बस्छ । तर पारुहाङको खुला आँखाबाट कालो रात र झ्याल बाहिरका टिलपिल ताराहरु त्यस रात एक निमेष हटेनन् ।
अर्को दिन रिम्बिक जाँदा बाँसबोटे, टोड्के, लोधोमातिर एक–एक मिनेट गाडी रोकिदा पनि खारुहाङलाई झर्को लाग्न थाल्यो । जब ऊ रिम्बिकमा ओर्लियो, पैदलै सेपीतिर दौडियो । हिलो, चिसेनी, अलैँचीबारी, ब्लाष्टिङ गर्दै बाटो खोलिरहेका पहराहरुमा नाघ्दै, उफ्रिदै ऊ मेजर डिएम खोप्तोङको आँगनमा रोकियो ।
विक्षिप्त पारुहाङले अधीर हुँदै भन्यो–‘मेजार साप, मेरी श्रीमती हराइन्, यता आएको चाल पाएँ । तपाइँले पक्कै देख्नुभयो होला ।’
‘होइन खारुहाङ कसरी हराइन् तिम्रो श्रीमती ?’ मेजर बडो मलिन तरिकाले कड्किए–‘एउटी श्रीमतीलाई सम्हाल्न सक्दैनौँ तिमी ?’ खारुहाङ विश्वस्त थियो कि मेजरले उनको परीक्षा लिइरहेका छन् र एकैछिनमा श्रीमतीसँग भेट गराइदिनेछन् ।
खारुहाङले उसकी स्वास्नी त्यहाँ आउने कुराको अनेक तर्क ग¥यो । मेजरले भने–‘तिमी तर्कशील छौ मानेँ मैले । तिम्रो भविश्य रामै्र छ तर तिम्रो श्रीमती यहाँ आएकी छैनन् ।’ अर्को दिनसम्म पनि मेजरले अड्डी लिइराखेपछि खारुहाङले मेजर दोषी रहेको सोच्न थाल्यो । उसले केटी खोज्दा नजुरेको अधबैंसे मेजरको सालोलाई आफ्नो श्रीमती भिडाएर वेपत्ता पारेको तीव्र आशंका ग¥यो र भन्यो–‘मेजर साप, तपाइँको कुरा र चेहराले तपाइँले मेरी श्रीमती लुकाउनुभएको मैले चाल पाइसकेँ । मेरो श्रीमती र दुधमुखे बालकलाई मेरो जिम्मा दिनोस् ।’
मेजर त्यति धेरै तीव्र आक्रोशमा छैनन् । उनले भने–‘हेर खारुहाङ, मेरो अनुहार पढ्न सक्ने तिम्रो खुबीको म प्रशंसा गर्छु । मेरो घरमा तिम्रो श्रीमती आएकी छैनन् । कतै हराइ गएकी हुन् भने बरु खोज्न म तिमीलाई सघाउँला ।’ यतिन्जेल मेजरका जहान, वरिपरिका छिमेकी भेला भएर खारुहाङको रोदन सुनिरहेका थिए । कसैकसैले चैँ ‘कसैको नभएको स्वास्नी किन हामीले राख्ने?’ भनिरहेका थिए । खारुहाङको मन छिया–छिया भइरहेको थियो तर उसलाई के विश्वास अझै थियो भने मेजरले पक्का पनि केही कैफियत गरेका छन् । खारुहाङ मेजरको घरपछाडि गयो र भक्कानो छोडेर रोयो–‘हे देउ ! मेरो आँसु कसैलाई नलागोस्, मेरो बच्चा र स्वास्नी केही नहुन् ।’
सेपी गाउँ आफैमा देवधाम रहेको गाउँ हो । गाउँलेहरु देवधामकै आस्थाका कारण शान्त र सुशील व्यवहार गर्छन् । उनीहरु हिंस्रक छैनन् त्यै भएर मेजर सकेसम्म शालिन भएर प्रस्तुत थिए । तर खारुहाङको अब धीरताको शक्ति बाँकी थिएन । उसले कड्केर टेबिलमा मुड्की बजा¥यो र मेजरको नाकमा औँला लगेर कुनै फिल्मको पावरदार डायलग झैं गरी भन्यो–‘मेजर, तिमीले मेरो श्रीमतीलाई निकालेनउ भने म कुनै हालतमा तिमीलाई छोड्दिनँ ।’ भेला भएका मान्छेहरुले खारुहाङलाई सम्झाउन थाले । माया र स्नेहको वियोग कति भयानक हुँदो रहेछ भन्ने त्यतिखेर खारुहाङको आँखामा प्रष्ट देखिन्थ्यो । उसका रौँ ठाडो–ठाडो भएका थिए । उसले मुट्ठी कसेको थियो । उसले दाँत कटकट किटिरहेको थियो । उसले उद्घोष ग¥यो–‘मलाई मेरो ज्यानको कुनै मतलब छैन । मेरो दुधमुखे बच्चाको मतलब छ । कसैले मेरो श्रीमती लुकाएको छौ भने म कसैलाई छोड्दिनँ ।’ अपराह्न्न तिर हल्ला खल्ला अलि मत्थर हुँदै गयो । उसबेला खारुहाङले सप्पैलाई एउटा चेतावनी छोड्यो–‘मेजर साप, तपाइँले मेरी श्रीमती जसरी भए पनि निकाल्नैपर्छ र म तपाइँलाई अन्तिम चेतावनी दिन्छु, तपाइँले भोलि बिहान जसरी भए पनि दार्जीलिङको गाडीमा मेरो श्रीमतीलाई सुखियामा ओर्लिने गरी पठाइदिनुस्, म उही पर्खिनेछु ।’
फर्किदै गर्दा खारुहाङको बररर आँसु खस्यो । उसले आफैसँग बोल्यो–‘मेरो नभए पनि मेरो दुधमुखे बालकको आँसु लाग्नेछ ।’
अर्को दिन खारुहाङ सुखियामा रिम्बिकबाट आउने गाडीहरुको बिहानैदेखि प्रतीक्षा गर्दै बसिरह्यो । आएका प्रत्येक गाडीमा उसले चढ्दै जाँच गर्न थाल्यो । प्रत्येक गाडीले ल्याउन सक्ने खुशीको आशमा ऊ त्यसदिन धुलिसात भयो । ओठ र गला सुक्यो तथापि ऊ अर्को गाडीको प्रतीक्षामा बसिरह्यो । उसले गाडीमा श्रीमती र बच्चाको अनुहार खोजिरह्यो नथाकिकन निरन्तर निरन्तर..।
जब रिम्बिकको अन्तिम गाडी सुखियामा रोकियो तब दिनभरि छचल्किदा पनि नरित्तिएको खारुहाङको आशाको भाँडो उम्लिन थाल्यो । गाडीमा चढेर प्रत्येक सिटमा लगातार दोहो¥याएर आँखा डुलाइरह्यो तर उसको आशाको जलाशय एकै छिनमा सुकेर रात्रीकालीन साँझको सिरेटोले फुङग उडायो । फलैँचामा ऊ यसरी पस्रियो कि ऊ निष्प्राण हो ।

आज स्वास्नी खोज्न हिँडेको एघारौँ दिनको मध्यरात खारुहाङ रोक्सिम भन्ज्याङको ओरालो आफ्नो घरतिर एक्लै झर्दैछ । एक अपराधीलाई अरुले नदेखुन् सिवाय उसको मनमा केही बाँकी छैन । जब ऊ आफ्नै घरभित्र चोर पसेझैँ मध्यरातमा सुटुक्क छिर्छ तब ऊ भित्र भयानक ज्वालामुखी बिस्फोट हुन्छ । सपनामा खाडलभित्र पसेर निस्कन नसकिरहेको जस्तो । कुनै खोँचमा फसेर निस्कने कुनै उपाय नहुँदा छट्पटाउँदै आफ्नो जीवनको आयु पर्खिबसेजस्तो, दलदलमा भाँसिएजस्तो, भीरको वीचमा खसेर अल्झिएजस्तो, पानीभित्र डुब्न लागेर चिच्याउन नसकेजस्तो । ऊ सबथोक फनफनी घुमिरहेको देख्छ किनभने बच्चालाई च्यापेर उसकै वियोगमा आँसु चिप्चिपाउँदै अँगेनाको डिलमा मध्यरातमा शोक र सन्त्रासले व्याकुल भएर उसकी श्रीमती उसैलाई पर्खिरहेको पाउँछ । 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News