वैद्य माओवादी फुटकाे संघारमा


 


काठमाडाैं, चैत्र २७

पार्टी एकताको विषयमा वैद्य माओवादीभित्र देखिएको संकट थप जटिल बन्दै गएको छ । वैद्यले जारी केन्द्रीय समिति वैठक एक महिनाका लागि स्थगित गरेका छन् । यसले वैद्य माओवादीको विभाजनको खतरा बढेको छ ।
‘वैठक एक महिनाका लागि स्थगित भएको सूचना आएको छ ।’ केन्द्रीय सदस्य रापदीप आर्चायले भने । वैद्य निकट नेताहरुले भने छलफल आबश्यक भएकाले वैठक स्थगित भएको बताए ।
मोहन वैद्य नेतृत्वको माओवादीको गत चैत्र १२ देखि केन्द्रीय समिति शुरु भएको थियो । १० दिन वैठकमा पार्टी अध्यक्ष मोहन वैद्य, महासचिव थापाले राखेका प्रस्तावमाथि छलफल भयो । छलफलमा अधिकाश केन्द्रीय सदस्यले एकीकृत माओवादीसहित विभिन्न धाराका माओवादीवीचको एकताको पक्षमा मत राखेका थिए । त्यसलगत्तै केन्द्रीय समिति स्थगित गरेर शीर्ष नेता आन्तरिक छलफलमा जुटेका थिए । चैत्र २८ सम्मका लागि वैठक स्थगित गरएको थियो ।
तर,आन्तरिक छलफलमा बसेका शीर्ष नेतावीच आगामी कदमवारे सहमति बन्न नसकेपछि वैद्यले एक महिनाका लागि केन्द्रीय समिति वैठक स्थगित गरेका हुन् । महासचिव रामबहादुर थापा बादलले आन्तरिक एकता र समग्र माओवादी एकताका विषयमा १४ बुँदे नयाँ प्रस्तावसहित हस्ताक्षर अभियान शुरु गरेपछि वैद्यमाथि दवाव परेको थियो । बहुमत केन्द्रीय सदस्यले बादलको प्रस्तावमा प्रतिबद्धता र सहमति जनाउँदै हस्तक्षर गरेका थिए । यसले अध्यक्ष वैद्य र तत्काल एकीकृत माओवादीसँग एकताको पक्षमा नदेखिएको समूहमाथि ठूलो दवाव परेको थियो ।

अवका विकल्प
१– एक महिना केन्द्रीय समिति वैठक स्थगित भएपछि आफ्नो पक्षमा रहेका बहुमत केन्द्रीय सदस्यलाई लिएर महासचिव बादलले नयाँ राजनीतिक कदम चाल्न सक्छन् । उनले आफ्नै नेतृत्वमा पार्टी बनाएर एकीकृत माओवादी लगायत सवै माओवादीधाराहरुवीचको एकताका लागि पहल गर्न सक्छन् । बादल निकट मानिने केही नेताहरु वैद्य र बादल अव आ–आफ्नो बाटोमा लाग्ने सम्भावना बढेको मान्छन् ।

२–एक महिनापछि बहुमतबाट लिइने निर्णय स्वीकार गर्ने आश्वसन वैद्यले दिएभने त्यतिबेलासम्म महासचिव बादलले पर्खन सक्छन् ।

३–महासचिव बादलले आफ्नापक्षमा हस्ताक्षर गरेका नेताहरुलाई कन्भिन्स गरेर वैद्यकै नेतृत्वमा अगाडि बढने विकल्प बचाईराख्न सक्छन् ।

वैद्यमाथि यसरी बढेको थियो दवाव

केन्द्रीय समिति वैठकमा धाराणा राख्नेक्रममा अधिकास सदस्यको आफ्नो पक्षमा मत देखिएपछि महासचिव थापाले कुलबहादुर केसी र लेखनाथ न्यौपानेको प्रस्तावलाई समेत समेटेर १४ बुँदे प्रस्ताव तयार पारेका थिए ।
‘साम्राज्यवाद–विस्तारवाद, घरेलु प्रतिक्रियावाद र सबैखाले संशोधनवाद एवं अवसरवादको भण्डाफोर गर्दै क्रान्तिको विजयका लागि नयाँ आधारमा नयाँ एकता निर्माण गर्न ढृढतापूर्वक अघि बढौँ’ शीर्षकको थापाको प्रस्तावमा एकीकृत माओवादसँग पार्टी एकतालाई जोड दिइएको छ । उनको यही प्रस्तावमा बहुमत केन्द्रीय सदस्यले हस्ताक्षर गरेका हुन् ।
थापाले आफ्नो प्रस्तावमा एकताका लागि पार्टी नाम फेर्नेदेखि आन्तरिक तथा बृहत् एकताका न्यूनतम आधार समेटेका छन् । थापाको यो प्रस्तावमाथि अध्यक्ष वैद्य, सिपी गजुरेल, देव गुरुङ लगायतका नेताले संवाद वाक्लो पारेका छन् । वैद्य राजनीतिक कार्यदिशामा एकरुपता नभएसम्म एकीकृत माओवादीसँग एकता गर्न नहुँने पक्षमा देखिएका छन् ।
महासचिव थापाको प्रस्तावमा तत्काल पार्टी, जनवर्गीय संगठन–मोर्चाहरूको एकता संयोजन समिति गठन गर्ने, त्यही एकता संयोजन समितिले एकताका भेला आयोजना गर्ने र सोही भेलाले अन्तरिम राजनीतिक प्रतिवेदन, विधान, एकताको महाधिवशेनको मिति, महाधिवेशन आयोजक समिति निर्माण गर्नेसम्मको विषय छ । एकता भेलाले महाधिवेशनको दस्ताबेज लेखन तयारी समिति, व्यवस्थापन समिति, उपसमिति गठन गर्ने र संगठन तथा संर्घषको तत्कालीन कार्यक्रम निर्धारण गर्नेसम्मको विषय उनको प्रस्तावमा राखेका छन् ।
प्रचण्डले पार्टी एकतका लागि आफु वैद्यको नेतृत्व स्वीकार गर्न तयार रहेको बताएका थिए । त्यसबाहेक एकताका राजनीतिक–वैचारिक विषयमा वैद्यलाई पत्र पनि लेखेका थिए ।

प्रकाशित मिति: २७ चैत्र २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्