भोकमरीको खतरामा दलित बस्ती असिनाले सोत्तर पार्‍यो मकैखेती


 


पर्वत : पर्वतको फलेवास नगरपालिका-३ शंकरपोखरीका यज्ञबहादुर खत्रीले यसवर्ष अन्नको जोहो गर्न समस्या हुने गुनासो गरे। मानिसले खानेदेखि पशुपक्षीको खाद्यान्नको रूपमा प्रयोग हुने मकै धानपछिको दोस्रो धेरै उत्पादन हुने खाद्यान्न हो। तर, खेतबारीमा लगाएको मकै असिनाले बिजोग हुने गरी भाँचिएपछि खत्री जस्तै खत्री थर, पुर्कोट, रुग्दी लगायतका ठाउँका कृषकहरूलाई दिनको भोक न रातको निद्रा भएको छ। अब पसाउने सुरसारमा रहेका मकै गत बुधबार अपराह्‍नमा परेको असिनाले भाँचेर सखाप पारेको छ। पुर्कोटमा रहेका झन्डै ५० दलित घर परिवारले केही महिनासम्म धान्ने अन्नको रूपमा मकैलाई प्रयोग गर्थे।

तर, त्यही मकै सोत्तर बनेर चौपायालाई खुवाउनुपरेपछि उनीहरूलाई वर्षभरी खाने अन्नको चिन्ता परेको छ। ‘अब के खाने? न मान्छेले खाने अन्न छ न त चौपायालाई खुवाउने अन्न छ।’ स्थानीय डल्ले परियारले भने, ‘म उमेरले ७० वर्ष नाघें’ अहिलेसम्म यस्तो भएको जानेको थिईन। आधा घण्टासम्म परेको ठुला ठुला असिनाले सबै बालीनाली सक्यो।’ असिनाले शंकरपोखरीको पुर्कोट मात्रै होइन चाम्लेश्वार, थुम्का, थापा थर, भैरवनाथ, भलपोखरा, देउपुजा, रुग्दी, चुरी लगायतका बस्तीमा लगाएको मकै, तरकारी, फलफुल पूर्ण रूपमा क्षति भएको छ। रुग्दीका प्रेम भण्डारीले भने, ‘यस्तो बिजोग भएको छ, अब अर्को वर्ष त मकैको बीउ पनि नपाउने भैइयो। खेत र बारीमा एउटा बोट बाँचेको छैन।

खेतबारी पुरै चौर जस्तै बनेको छ।’ लामो समयसम्म बाक्लो गरी परेको असिनाले मकै मात्र होइन स्थानीय कृषक रामकृष्ण रेग्मीको पोल्ट्री फार्ममा समेत क्षति पुर्‍याएको छ। ६ वर्ष अगाडि निर्माण गरेको उनको पोल्ट्री फार्ममा ब्रोईलर कुखुराका झन्डै ३ सय चल्ला हुर्किदै थिए। तर असिनाले जस्तापाता नै छेडेर खोरभित्रै असिना झार्दा उनको खोरमा रहेका झन्डै साढे २ सय कुखुराका चल्ला मरेका छन्। ‘जस्तापाता छेडेर घरभित्रै असिना पस्यो, कुखुराका चल्लाहरू निकै कठिनसँग बिजोग लाग्ने गरी कुटिएर मरे।’ उनले भने।

रेग्मीको जस्तै, कुँडापानी, पुर्कोट लगायतका क्षेत्रका बासिन्दाका पुराना घरका छाना असिनाले छियाछिया बनाएको छ। कति असिनासँगै आएको तीव्र हावाले कतिपय घरको छाना त कतिपय घरको पाली नै उडाएको छ। शंकरपोखरीकै कुडापानीका कुलप्रसाद पौडेले आफूले यति ठुलो असिना परेको जीवनमै पहिलो पटक देखेको बताए। झन्डै २५ वर्ष पहिले असिना परेपनि पुस माघमा परेका कारण खेतबारी बाँझो भएकाले क्षति नभएको उनको भनाई छ। ‘यति ठुलो असिना परेको जीवनमा पहिलो पटक देखे’ उनले भने।

असिनाले क्षति पुर्‍याएको क्षेत्रमा लगाइएका मकै, फलफूल र तरकारीमध्ये झन्डै ७० प्रतिशत भन्दा बढी मकै पूर्ण रूपमा क्षति भएको छ। मकैको उत्पादन शून्य भएपछि गाउँमा भोकमरी सुरु हुन सक्ने पीडितहरू बताउँछन्। ‘हामीले मकैको भरमा नै परिवार पाल्दै आएका छौँ, धान फलाउने त खेत नै छैन, बारीको मकैले हो सास बचाउने, त्यही मकै असिनाले खाइदियो।’ स्थानीय नारायण परियारले भने।

प्रकाशित मिति: १७ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्