प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन, गुल्मीमा १ सय ५० जनाले पाए काम


 


गुल्मी, जेठ १८

गुल्मीको धुर्कोट गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । उसले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत सञ्चालन गरिएको कार्यक्रमको पहिलो चरणमा १ सय ५० जनालाई रोजगारी दिएको छ ।

वडा नम्वर ३ हाडहाडे र वडा नम्वर ७ वाग्लामा २५ जनाका दरले र अन्य ५ वटा वडामा २० जनाका दरले रोजगारी दिइएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

जसमध्ये सडक कामदार ( लेन्थ वर्कर ) ८८ जना, खानेपानी ममर्तका लागि १५ जना , सिंचाई मर्मत सम्भारमा १५ जना र विद्युत मर्मत सम्भारमा ७ जना नियुक्ती पाएको उपाध्यक्ष शिवबहादुर केसी (खत्री)ले बताए ।

३० दिन अर्थात प्रति ब्यक्ति एक महिनाका लागि दिइने उक्त रोजगारको तलव प्रति दिन ५ सय १७ रुपैयाँ प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थीले बताए । कामदार सुरक्षा सामाग्री सहित काम कर्तब्यबारे अवगत गराउँदै गाउँपालिका प्रमुख पोखरेलले उनीहरुलाई नियुक्ति दिएको सुचना अधिककारी ईश्वरी भण्डारीले जानकारी दिए ।

करिव १ महिनाअघि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले गृह जिल्ला गुल्मीको मुसिकोटबाट ९० जना सडक मर्मत कामदार आफैले नियुक्ति पत्र हस्तान्तरण गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभरम्भ गरेका थिए । गुल्मीमा हाल सम्म १५ हजार भन्दा बढिले रोजगारीकालागि आवेदन दिएका छन् ।

प्रकाशित मिति: १८ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्