नेइमारमाथि लाग्यो यौन हिंसाको आरोप, मातेर होटलमा यौन सम्पर्क गरेको दाबी


 


काठमाण्डौँ । स्टार फुटबलर नेइमारमाथि एक यौन हिंसाको आरोप लागेको छ । ब्राजिलका फुटबल स्टार नेइमारविरुद्ध ब्राजिलको साओ पाओलोमा एक महिलाले आफूमाथि यौन हिंसा गरेको आरोप दर्ता गरेकी हुन् । ती महिलाले पेरिसको एक होटलमा आफूमाथि नेइमारले यौन हिंसा गरेको आरोप लगाएकी छन् ।

नेइमार फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन पिएसजीबाट खेल्दै आएका छन् । आरोपका सम्बन्धमा नेइमार या उनका प्रतिनिधिले कुनै प्रतिक्रिया दिएका छैनन् । नेइमार अहिले कोपा अमेरिकाको तयारीका लागि ब्राजिलको राष्ट्रिय टिममा छन् र अभ्यास गरिरहेका छन् । ती महिलाले प्रहरीमा दिएका उजुरीका आधारमा आफूले नेइमारलाई इन्स्टाग्राम मार्फत चिनेको उल्लेख गरिएको छ ।

नेइमारकै आग्रहमा पेरिसमा आफूहरुको भेट भएको ती महिलाले उल्लेख गरेकी छन् । महिलाको नाम खुलाइएको छैन । ब्राजिलकी ती महिलालाई नेइमारले नै फ्रान्सका लागि विमान टिकटको व्यवस्था गरेका थिए र उनका लागि होटल साफिटेल पेरिसमा कोठा बुक गरिदिएको थिए ।

घटना गएको यहि मे १५ को रहेको उल्लेख गरिएको छ । नेइमार होटल आइपुग्दा रक्सीले मातेको अवस्था रहेको ती महिलाले आरोप लगाएकी छन् । केही गफगाफ र असहज वातावरणपछि नेइमार आक्रोशित बनेको र आफ्नो इच्छा विपरित यौन सम्बन्ध कायम गरेको ती महिलाले आरोप लगाएकी छन् । ती महिला दुई दिनपछि ब्राजिल फर्किएकी थिइन् ।

उनले आरोपित घटनाका बारेमा फ्रेन्च प्रहरीमा उजुरी दिएकी थिइनन् । महिला भावनात्मक रुपमा डरको अवस्थामा रहेको र अर्को देशमा घटना दर्ता गर्न डराएकाले ब्राजिलमै गरिएको प्रहरी उजुरी दर्ता गर्दाको कागजातमा उल्लेख छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्