मैत्रीपूर्ण खेलमा नेपाल मलेसियासँग पराजित


 


काठमाण्डौँ, जेठ २०

मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल २–० ले पराजित भएको छ । बुकिट जलिलस्थित राष्ट्रिय रंगशालामा आईतबार साँझ भएको खेलको पहिलो हाफ बराबरीमा रोक्न सफल नेपाली टोलीले दोश्रो हाफमा दुुई गोल खाँदै हार्न बाध्य भयो।

खेलको ४९ औ मिनेटमा डिफेन्डर अनन्त तामाङले वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका अख्यर रसिदलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पाएको अवसरलाई सफावी रसिदले गोलमा परिणत गर्दै मलेसियालाई अग्रता दिलाए । ५८ औं मिनेटमा नवयुग श्रेष्ठले वान भर्सेस वानको अवस्थामा बराबरी गर्ने अवसर गुमाए । ८२ औं मिनेटमा मलेसियाले अग्रता दोब्बर बनायो ।

करिव २५ याड नजिकै अभिषेक रिजालले मलेसियाका अख्यर रसिद लाई फाउल गरेपछि पाएको फ्रिकिकमा नुर आजम अव्दुल अजिजको प्रहारलाई सहरुल सादले हेडरमार्फत् गोल गर्दै अग्रता दोब्ब बनाएका थिए । खेलको ६४ औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्दै अभिषेक रिजालले राष्ट्रिय टोलीबाट डेब्यु गरे ।

मलेसियाविरुद्धको खेलमा पहिलो पटक बिमल राना र रवि पासवानले सुरुवाती ११ मा स्थान बनाउन सफल भएका थिए । प्रशिक्षक योहान कालिनले नियमित खेलाडीलाई विस्थापित गर्दै अन्तिम ३० मिनेटमा लगातार खेलाडी परिवर्तन गरेका थिए । नेपालले अब बिहीबार हुने मैत्रीपूर्ण खेलमा चाइनिज ताइपेईको सामना गर्नेछ । कालिन मुख्य प्रशिक्षक भएर आएपछि नेपाल यसअघि कुवेतसँग २ मैत्रीपुर्ण खेलमा एक बराबरी र एकमा हार व्यहोरेको थियो ।

प्रकाशित मिति: १९ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्