उर्लाबारीमा भुस्याँहा कुकुरको आतंकदेखी गाई मरेको विमा रकम नपाएको सम्मको गुनाशो


 


उर्लाबारी, जेठ २०

उर्लाबारी नगरपालिकाले सोमबार आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रममा उर्लाबारीबासीले भुस्याँहा कुकुरको आतंकदेखी गाई मरेको विमा रकम नपाएको सम्मको गुनाशो राखेका छन् ।

नगरपालिकाले प्रदान गर्ने सेवा तथा काम कारबाहीलाई चुस्त दुरुस्त, प्रभावकारी एवम् पारदर्शी बनाउन आयोजना गरिएको सार्वजनिक सुनवाईमा उर्लाबारीबासीले वर्षभरीका गुनाशा एवम् टिप्पणीहरु ब्यक्त गरेका हुन् । उर्लाबारी – ६ का जनक खड्काले सो वडामा निर्माण भईरहेको बसपार्क निर्माण किन स्थगित भयोदेखी लिएर सरकारी बैँकले दिने कर्जामा भेदभाव गरिएको र आफ्नो घरको गाई मर्दा विमा कम्पनीले विमा बापतको रकम भुक्तानी नदिएको गुनाशो गर्नुभयो ।

यस्तै उर्लाबारी – ७ का यामलाल रसाईलीले वडामा भुस्याँहा कुकुरले आतंक मच्चाउँदा समेत नगरपालिकाले त्यसको व्यवस्थापन गर्न नसकेको गुनाशो गर्नुभयो । यस्तै राजेन्द्र पौडेलले राज्यको मापदण्ड नपुगेको सडकमा नगरपालिकाले किन लगानी गरिरहेको छ भन्दै राज्यको लगानीलाई भविष्यमा खेर जान नहुनेगरी निर्माण गर्न माग गर्नुभयो । उहाँले उर्लाबारी – ६ को राधिका माविको शिक्षक नियुक्तिमा योग्यता नपुगेकालाई नियुक्त गर्दा समेत नगरपालिका र शिक्षा शाखा निरिह भएको धारणा राख्नुभयो । महालेखा परीक्षकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार उर्लाबारीमा किन बेरुजु खर्च बढ्यो त्यसको विषयमा समेत सार्वजनिक गर्न उहाँले माग गर्नुभएको थियो ।

उर्लाबारी – ५ का ललित अधिकारीले उर्लाबारीको मिक्लु र सोल्टी खोला काण्डका विषयमा भएको सरकारी प्रतिवेदन किन सार्वजनिक नभएको भनेर जिज्ञाशा राख्नुभएको थियो । सो काण्डमा नगरका प्रमुख खड्ग फागो समेत मुछिएकाले गल्ती भए उहाँलाई कारबाही गर्न र गल्ती नभएको भए सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभयो ।

उर्लाबारी – ७ का छबिलाल चिमरियाले चिउरा मिलदेखी दक्षिण जाने सडक कालोपत्रेमा प्रदेश सांसद् विकाश कोष अन्र्तगत एक करोड ३० लाख बजेट बिनियोजन हुँदा ७९ लाखमा ठेक्का लगाएर अरु रकम के गर्न खोजिएको हो भनेर जिज्ञाशा राख्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले खानेपानी, शिक्षा, बिधुत, सडक निर्माण, ढलनिकाश लगायतका विषयमा गुनाशा राखेका थिए । केदार रिजाल,चुणामणी खतिवडा, सम्झना खतिवडा आचार्य, मोहन खनाल, कृष्ण रिजाल, शिवराज निरौला, रेनुका भट्टराई, जिवनाथ कट्टेल, मिना पौडेल, पवन भट्टराई, सिता कार्की, भिमबहादुर राउत, प्रभु दिलुङ्छा राई, शोभा चेम्जोङ पालुङ्वा, सलिना त्रिताल लगायतले सार्वजनिक महत्वका विषयमा गुनाशा एवम् विचार राख्नुभएको थियो ।

नगरपालिका प्रमुख खड्ग फागोले नगरपालिकाको योजनामा निरन्तर अनुगमन गरिरहेको बताउँदै मापदण्ड बिपरितका योजनामा भुक्तानी नहुने बताउनुभयो । फोहोरमैला एकैपटक व्यवस्थापन नहुँने बताउँदै यसका लागि उपभोक्ता पनि सजग हुन आवश्यक रहेको बताउनुभयो । नगरको विकाशमा निष्पक्ष र पारदर्शीबाट काम भईरहेको दाबी गर्दै प्रमुख फागोले विकाशमा कसैले पनि राजनीति गर्न नहुनेमा जोड दिनुभयो ।

उहाँले जनताले राखेका प्रत्येक गुनाशाको उत्तर दिनुभएको थियो । यस्तै उपप्रमुख लक्ष्मीदेवी भण्डारी, वडाध्यक्ष र उर्लाबारीमा रहेका बिभिन्न सार्वजनिक कार्यालयका प्रमुखहरुले पनि जनताको गुनाशा र प्रश्नहरुको जवाफ दिनुभएको थियो ।

प्रकाशित मिति: २० जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्