“प्रधानमन्त्रीकी छोरी” खर्च नपुगेर यार्सा टिप्न हिमालतिर


 


मुगु । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिभावकत्व पाएकी एक बालिका वर्षभरीको खर्च जुटाउन मुगुको उच्च हिमाली क्षेत्र पाटन गएकी छिन्।

आर्थिक अवस्था कमजोर र बाबु गुमाएकी मुगुम कार्मारोङ गाउँपालिका–८ माँग्री गाउँकी ८ वर्षीया ठिन्ले साङमु लामा आफ्नो वर्षभरीको पढाई तथा अतिरिक्त खर्चको जोहो गर्न एक महिनाका लागि यार्सागुम्बा टिप्न हिमालतिर हिडेकी हुन्।

२०७५ वैशाख १ गते कर्णाली रारा पर्यटन वर्षको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न रारा पुगेका प्रधानमन्त्री ओलीले विद्यालय भर्ना अभियानको अवसर पारेर ८ वर्षीया लामालाई कक्षा १ मा भर्ना गर्दै अभिभावकत्व ग्रहण गरेका थिए।

लामाको अभिभावकत्व प्रधानमन्त्री ओलीले लिएपछि उनको पठनपाठन तथा दैनिक दिनचर्यामा परिवर्तन आउने अपेक्षा उनका आफन्त र छिमेकीले लिएका थिए। तर लामाले एक कक्षामा राम्रै नतिजा ल्याएर दुई कक्षामा पुगेको एक महिनामै थप खर्च जुटाउनुपर्ने बाध्यता आएको हो।

प्रकाशित मिति: २० जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्