प्रदेश-२ परिसरभित्र रक्सी, चुरोट, खैनी र पानपराग खुलेआम !


 


काठमाडौं सरकारले सार्वजनिक स्थलमा सुर्ती चुरोट खान नपाउने नियम लागू गरेको छ । सार्वजनिक स्थलमा धुम्रपान गरे कारवाही भोग्नु पर्छ । सरकारी कार्यालयमा त झन धुम्रपान, मध्यपान प्रतिबन्धित नै छ । तर देशको कुनै संसद भवन परिसरमै रक्सीका बोतल, चुरोट, खैनी, पान–परागको बट्टाको थुप्रो देखियो भने त्यसलाई के भन्ने ? कानुन बनाउन संसद भवनमै कानुनलाई चुनौती दिँदै रक्सीका बोतल लडेको देखिएपछि सर्वसाधारणले त्यसलाई के मान्ने ?

योजना, नीति, नियम बनाउने र बहस गर्ने थलो हो संसद भवन । त्यहाँ बनाइएका कानुन मुलुकभित्र बस्ने सबैले पालना गर्नुपर्छ । तर प्रदेश–२ को परिसरमै कानुनको खिल्ली उडाउँदै रक्सीका बोतल र पानपराग र सुर्तीका खोल फालिएका छन् । संसद भवनको शौचालयमा जोकोही पुग्दा लाग्छ कि, यो कुनै रक्सी र चुरोटको अखडा नै हो ।

त्यसो त, सभाहलको पछाडि पट्टीको क्यान्टिनमै रक्सी, चुरोट र तास खुलेआम बेच्ने गरिएको देखिन्छ । कानुन अनुसार प्रदेशसभामा जाँड रक्सी खान नपाइने बताउँछन् प्रदेशसभा सचिवालय सचिव रञ्जित यादव ।

तर, प्रदेशसभाका सांसदहरुकै लापर्वाहीका कारण यस्तो अव्यवस्थित अवस्था देखिएको उनको भनाइ छ । स्रोतका अनुसार परिसरमा रहेको चमेनागृहमा बस्नेहरु नै रक्सी सेवन गर्छन् । जसका कारण संसद भवन नै रक्सी पसल जस्तो देखिएको छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्