स्नाकोत्तर गरेका युवा कृषिमा


 


picकाठमाडौं, बैशाख १४

आफ्नो उद्देश्यअनुसारको अध्ययन पुरा गरेपछि युवाले के गर्लान ? त्यो सहजै भन्न सकिन्छ कि, उनीहरु आफ्नो सर्टिफिकेट लिएर जागिरको खोजीमा हिँड्छन् । वा कुनै निजी संघ,संस्था खोलेर आधुनिक काम गर्छन्। या त विदेशी सामान आयात तथा निर्यात गर्छ। कि विदेश तिरै कुद्छन्।

तर, काठमाडौंको सुन्दरीजलमा विभिन्न विषयमा स्नातकोत्तर गरिसकेका एक युवाहरुको समूहले सामुहिक रुपमा तरकारी खेती सुरु गरेका छन्। सुन्दरीजलमा उनीहरुले करिब २० रोपनी जग्गा भाडामा लिएर आधुनिक तरकारी खेती सुरु गरेका हुन्। ‘हामीले स्थानीय स्रोत र साधनको प्रयोग गरेर इजरायलको प्रविधिअनुसार तरकारी खेती सुरु गरेका हौं,’ समूहका अध्यक्ष अशोक पौडेलले भने, ‘हामीसँग इजरायलमा पाँच वर्षभन्दा बढी कृषि क्षेत्रमै काम गरेर आउनुभएका प्राविधिकहरु पनि हुनुहुन्छ।

उहाँहरुको निगरानी तथा संगलग्नतामा हामीले काम गरिरहेका छौं।’ विशेषगरी बेमौसमी टमटरखेतीलाई जोड दिएका उनीहरुले २९ वटा प्लास्टिक टनेल भित्र खेती गरिरहेका छन्। विगत २ वर्षदेखि थोपा सिचाई प्रविधिबाट खेती गरिरहेका उनीहरुले वार्षिक २० लाखसम्मको बिक्री गरिरहेको जानकारी दिए। ‘हामी काठमाडौमा विभिन्न संघ संस्थामा काम पनि गर्छौं। सबैले फुर्सदको समय फर्मलाई दिन्छौ,’ अध्यक्ष पौडेलले भने, ‘नियमित कामका लागि एक जना व्यवस्थापक, प्राविधिक एक जना, फर्ममै बसेर काम गर्ने २ जना मासिक तलबमा राखेका छौं।

बाँकी कामदार आवश्यकताअनुसार ज्यालामा बोलाउँछौं।’ राष्ट्रियस्तरको ब्रोडसिट पत्रिका तथा टेलिभिजनका पत्रकार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत रहेका उनीहरुले देशको अर्थतन्त्र कृषिमै व्यवसायीक र व्यवस्थित हुन नसकेर पछाडि परेको बताउँछन्। देशलाई साँचिकै आत्मनिर्भर बनाउने हो भने कृषिजन्य उत्पादनलाई बढाउनुपर्ने आफूहरुलाई महशुस भएकाले नै यो अग्रसरता लिएको समूहका कोषाध्यक्ष कृष्णमणि बरालले बताए। ‘नेपाल नाममा कृषिप्रधान देश भनेर चिनिन्छ।

13072251_1118054564884365_737322404_o७० प्रतिशतभन्दा बढी कृषि क्षेत्रमा लागेको तथ्यङ्कले देखाउँछ। तर हामीले सबै बस्तु आयात गर्छौ,’ बरालले भने, ‘यो अवस्थालाई आफ्नो ठाउँबाट दिन सक्ने योगदानका रुपमा हामीले यो व्यवसायीक खेती सुरु गरेका हौं।’ आफ्नो फर्मको हरेक बोटमा व्यवसायीक रंग देख्ने यी युवाले अन्य व्यवसायमा जस्तै कृषिमा पनि आय/व्ययको, नाफा/घाटाको विश्लेषण गर्दै आएको बताए। उनीहरुले समूहले फर्ममा गरेको लगानी र आम्दानीको व्यवसायीक लेखा प्रणाली लागू गरेका छन्।

फर्ममा सुरुवातमा करिब ४० लाख लगानी गरेको बताउने उनीहरुले वार्षिक रुपमा १० लाख रुपैयाँ सञ्चालन खर्च गर्दै आएको जानकारी दिए। ‘समय र बजारमूल्यले साथ दिए कृषिबाटै राम्रो आम्दानी लिन सकिन्छ,’ समूहका अध्यक्ष पौडेलले भने, ‘कृषिको व्यवसायीकरणलाई देशब्यापी रुपमा अगाडी बढाउन नसके देशको विकासले गति लिन नसक्ने लागेर हामी विभिन्न विषयमा स्नातकोत्तर गरेका विद्यार्थी कृषिमा होमिएका हौं,’ उनले भने, ‘पढ्न नसकेर उपाय नलागे खेतीपाती गर्ने हो भन्ने हाम्रो सामाजिक धारणालाई परिवर्तन गर्नुपर्छ। सरकारी निकायले समेत कृषिमा लाग्ने युवालाई प्रोत्साहित गर्नुपर्छ।’

13081721_1118057431550745_464415650_nआगामी दिनमा कृषिको व्यवसायीकरणलाई अभियानकै रुपमा अगाडी बढाउने उद्देश्य लिएको उनीहरु बताउँछन्। ‘हामीसँग इजरायलमा कृषिमै काम गरेर फर्कनुभएका व्यक्तिहरु हुनुहुन्छ,’ पौडेलले भने, ‘त्यसैले आधुनिक प्रविधिमा खेती गर्न चाहनेको योजना निर्माण, फर्म निर्माणदेखि उत्पादनसम्मको रेखदेख गरी फर्म हस्तान्तरण गर्छौ।

यो हाम्रो आगामी उद्देश्य हो। सबैलाई कृषिमा सम्भावना देखाउन चाहन्छौ। सरकाले दिने अनुदान तथा प्रोत्साहन पनि पहुँचवालाको हातमा पर्दा सामान्य किसान मर्कामा पर्दै आएका छन्। यसमा पनि वैज्ञानिक मापदण्ड अपनाउने तथा बजेट कम भए थप गर्नुपर्ने उनीहरुले बताए।

प्रकाशित मिति: १४ बैशाख २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्