सवारी दुर्घटनाका चालक फेर्न १० लाख घुस लिने यी हुन् इन्सपेक्टर जिसी


 


नवलपरासी, जेठ २२

सवारी ज्यान मुद्दामा १० लाख रुपैयाँ घुस खाएर नक्कली चालक खडा गरेको अभियोगमा एकजना प्रहरी निरीक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले इलाका प्रहरी कार्यालय गैँडाकोट नवलपुरका प्रमुख प्रहरी निरीक्षक लोकबहादुर जिसीलाई मंगलबार पक्राउ गरेको हो। उनलाई हिरासतमा लिएर अनुसन्धान थालिएको अख्तियारले जनाएको छ।

 

जिसीविरुद्ध अख्तियारमा १० लाख रुपैयाँ लिएर सवारी ज्यान मुद्दाका चालक नै परिवर्तन गरेको प्रमाणसहित उजुरी परेको थियो । गैँडाकोटमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु र अर्का गम्भीर घाइते भएपछि जिसीले घटनामा संलग्न चालक नै फेरेर मुद्दा बिगारेका थिए। घटनाबारे जिसीले पीडितपक्षलाई हप्कीदप्की गरेर धम्की पनि दिएको खुलेको छ।

गत बैशाख ११ मा बोधराज पाण्डेले हाँकिरहेको जिपले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाइते र अर्काको निधन भएको थियो। रातको ११ बजे भएको उक्त घटनाको अनुसन्धानमा प्रहरी निरीक्षक जिसीले घुस लिएर बदमासी गरेको अख्तियारले जनाएको छ। प्रहरी निरीक्षक जिसीले मोटरसाइकलको पछाडि बसेकी महिलाको मृत्यु भएको घटनामा संलग्न पाण्डेको सट्टा किसुन महतोलाई नक्कली चालक बनाएर अदालतमा लगेका थिए।

 

प्रकाशित मिति: २२ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्