श्रम स्वीकृति लिन आउँदा ‘रिक्सा फ्री’


 


काठमाडौं : वैदेशिक रोजगारको पुनः श्रम स्वीकृति लिन आउने युवा युवतीहरुलाई फ्री यातायात सेवा ! रात्री वा दिवाबस सेवाबाट प्रदेश नं ५ को राजधानी बुटवल ओर्लनासाथ अटोरिक्सा चालकहरु ‘श्रम गर्नेलाई फ्री हो, बस्नुस बस्नुस’ भन्दै कराउने गरेको सुनिन्छ ।

उनीहरुले श्रम स्वीकृति लिन आएका युवाहरुलाई विना भाडा पुनः श्रम स्वीकृति दिने श्रम कार्यालयसम्म पु¥याइदिन्छन् तर एक रुपैयाँ पनि लिँदैनन् । विदेशमा पसिना बगाउन जाने श्रमजीवी युवा–युवतीका पक्षमा जस्तो देखिने यो व्यवस्था संघमा कम्युनिष्ट पार्टीको दुई तिहाई समर्थनको सरकार वा प्रदेश नं ५ मा पनि सोही दलको सरकार भएका कारण यो व्यवस्था भएको भने होइन ।

यो व्यवस्था वैदेशिक रोजगारमा जाने कामदारलाई पुनः श्रम स्वीकृति दिलाउने नाममा कमाउने विचौलियाहरुले मिलाएका हुन् । श्रम गर्न आएका युवाहरुलाई ५० रुपैयाँ भाडा पर्ने अटोरिक्सा विना भाडा ‘फ्री’मा चढाएर विचौलियाहरुले श्रम निकालि दिने भन्दै २ हजार ५ सय उठाइरहेका छन् ।

युवाबाट २ हजार ५ सय उठाएपछि विचौलियाहरुले बसपार्कबाट कामदार ल्याउन रिक्सा चालकलाई वास्तविक भाडाको दोब्बर गरी सय रुपैयाँ दिने गरेका छन् । आफैंले भाडा उठाउँदा ५० रुपैयाँ भन्दा बढी उठाउन नपाउने रिक्सा चालकहरुलाई श्रम गरि दिने विचौलियाहरुले सय रुपैयाँ दिएपछि उनीहरु पनि मख्ख छन् । ग्राहक डोहर्‍याउँदै विचौलियाको सम्पर्कमा पुर्‍याउँछन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत पुसमा रेमिट्यान्स मार्फत देशको अर्थतन्त्रमा योगदान दिने युवा–युवतीहरुलाई प्रदेशस्तरबाट पुनः श्रम स्वीकृति दिने भन्दै यसवर्ष देखि प्रदेशस्तरबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था गरेको हो । त्यसलाई श्रम मन्त्रालयले मुख्य उपलब्धिका रुपमा लिएको छ । तर सबै जसो प्रदेशमा प्रदेशस्तरबाट पुनः श्रम स्वीकृति दिने सरकारी नीति विचौलियाहरुको कमाउने सजिलो हतियार बनेको गुनासो बढेको छ ।

पहिलो पटक बुटवल उपमहानगरपालिका सुख्खानगरका वीरबहादुर माझीलाई श्रम स्वीकृति दिएर सेवा सुरु गर्दा वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक दिलिप चापागाईँले विना उल्झन श्रम स्वीकृति नवीकरणको काम हुने आश्वासन दिएका थिए । तर समयक्रम वित्दै जाँदा पुनः श्रम स्वीकृतिमा यसअघि विभागको काठमाडौं कार्यालय ताहाचलमा जस्तै दलालहरु हावी भएको स्थानिय वासिन्दाहरु बताउँछन् ।

सरकारले पर्याप्त जनशक्तिको व्यवस्था नगरी सेवा शुरु गरेका कारण छिटो गरिदने वाहानामा दलाल र विचौलियाहरुले लाभ लिइरहेको उनीहरुको भनाइ छ । घर नजिकैबाट श्रम स्वीकृति लिन पाएका कारण युवाहरुको समय बचत भएपनि खर्च हुने रकममा भने सहुलियत नभएको कपिलवस्तुबाट श्रम स्वीकृति लिन बुटवल आएका राम सेवक केवटले गुनासो गरे । बुटवलमा दैनिक २ सयको हाराहारीमा युवा युवतीहरु पुनःश्रम स्वीकृति लिन पुग्ने गरेका छन् ।

बुटवल मात्र होइन प्रदेश नं २ को जनकपुरस्थित श्रम तथा रोजगार कार्यालय पनि विचौलियाका कारण बद्नाम रहेको छ । केही दिन अघि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्ट निरीक्षणमा गएर विचौलिया हटाई भौतिक लगायत सबै पक्षमा सुधार गर्ने प्रतिवद्धता जनाए । तर मंगलबार उक्त कार्यालय भित्र विचौलियाको काम गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका ५ बस्ने किशोरी यादवको ३८ वर्षीय छोरा राजेश यादव रहेका छन् । यादवले श्रम तथा रोजगार कार्यालय जनकपुरधाममा आउने सेवा ग्राहीहरुलाई श्रम स्विकृति गराइदिन्छु भनी रकम उठाउने गरेका थिए । उनले आफुले लिने रकम एक्लै नलिई श्रम स्वीकृति गरिदिने कर्मचारीहरुलाई पनि दिने गरेको बताएका छन् ।

जनकपुर अञ्चल अस्पतालबाट विरामीलाई ललाई फकाई नीजि क्लिनिकमा पुर्‍याउने बिचौलियाहरु र श्रम कार्यालयमा पुनः श्रम स्वीकृति लिन आउनेलाई ठग्ने विचौलियाहरु एकै समुहको भएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दरवन्दी अनुसार कर्मचारी कम भएपछि काम ढिलो हुने र त्यसको लाभ विचौलियाहरुले लिने स्थानिय मन्दिप झाको टिप्पणी छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्