भोजपुर–लेगुवा सडक सम्पन्न नहुँदै कालोपत्रे उप्कियो


 


भोजपुर । कमसल सामग्रीको प्रयोगका कारण निर्माणाधीन भोजपुर–लेगुवा सडकखण्डको कालोपत्रे उप्किन थालेको छ । ठेकेदार कम्पनीको ढिलाइका कारण ६६ किलोमिटर सडकखण्डको काम तोकिएको समयमै सम्पन्न हुन सकेको छैन ।

त्यसमाथि कालोपत्रे गरिएको स्थानमा पनि खाल्डाखुल्डी देखिन थालेपछि स्थानीयवासी आक्रोशित भएका छन् । एक अर्ब ११ करोड रुपैयाँको लागतमा निर्माणाधीन सडक सकारोकारवाला निकायको बेवास्ताका कारण भत्किन थालेको स्थानीयको आरोप छ । ‘काम सकाउन मात्र हतार छ, गुणस्तरको कुनै चासो छैन । कालोपत्रे कतिन्जेल टिक्ने हो, थाहा छैन,’ अरुण गाउँपालिका ३, प्याउलीका स्थानीय राम आचार्यले भने ।

उप्किएको कालोपत्रे टाल्ने काममा ठेकेदार कम्पनी र सडक डिभिजन कार्यालयले चासो नदेखाएको स्थानीय इन्द्र पुलामीले गुनासो गरे । ‘कालोपत्रे २ वर्षमै उप्किन थालेको छ । त्यसलाई टाल्न सकेका छैनन्,’ उनले भने, ‘खाल्डाखुल्डी टालटुल गर्न न नियमन गर्ने पक्षले ध्यान दिएको छ । न त निर्माण कम्पनीकै कुनै चासो छ । यस्तै हो भने चाँडै यो सडक फेरि पनि धुलाम्मे र हिलाम्मे हुन बेर छैन ।’

गुणस्तरमा झारो टाल्न खोजेको अरुण गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले ठेकेदार कम्पनीको लापरबाहीले समस्या देखिएको बताए । ‘हामीले सडकको विषयमा पटक–पटक जिल्ला समन्वय, जिल्ला प्रशासन हुँदै प्रदेश केन्द्रसम्म कुरा राख्यौँ । तर, कहीँकतैबाट पनि चासो गरिएको छैन,’ उनले भने, ‘यस्तो गुणस्तरहीन काममा कुनै आधिकारिक संस्था, इन्जिनियरिङ डिपार्टमेन्टले पनि ध्यान दिएको छैन । ठाउँ–ठाउँमा भत्किएका खाल्डाहरू टाल्ने काम पनि भएको छैन । हामी दबाब दिँदैछौँ ।’ साभार : नयाँ पत्रिकाबाट

प्रकाशित मिति: २४ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्