जहाँ पुग्छन् कालिदास, त्यहाँ हुन्छ कानून मिच्नेको सत्यनाश


 


झापा । पूर्वी नाका काँकरभिट्टा क्षेत्रमा प्रहरीले भारतीय सवारीसाधन माथि निगरानी बढाएको छ । सिमावर्ती क्षेत्रमा खुलेआम भारतीय सवारीहरुको प्रयोग बढ्न थालेपछि ट्राफिक प्रहरीले समेत चेकजाँचमा कडाई गरेको हो ।

झापाको काँकरभिट्टा—पानीट्याकी नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटबाहक सवारीको यकिन तथ्याँक नभएपनि ‘भन्सार शुल्क’ र ‘सुविधा शुल्क’ काट्नेको संख्या न्यून छ । नेपालका सिमावर्ती क्षेत्रका बासिन्दाले समेत भारतीय नम्बर प्लेटका सवारी चलाउने क्रम बढेको छ ।

यस्तो अवस्थामा दुवै देशमा हुने सवारीसाधनको चोरीधन्दा रोक्न र अपराधिक क्रियाकलाप अन्त्य गर्न भारतीय सवारीसाधनमा समेत निगरानी बढाएको काँकरभिट्टा चेकपोष्टका इन्चार्ज प्रहरी नायव निरीक्षक कालीदास रेग्मीले बताउनुभयो ।

ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार वैशाख र जेठ महिनाको अवधीमा मात्रै एक हजार भन्दा बढी भारतीय नम्बर प्लेटबाहक सवारीसाधनलाई कारवाही गरिएको छ ।

विशेष गरेर ‘भन्सार शुल्क’ र ‘सुविधा शुल्क’ नलिएका सवारी साधन झापाका ग्रामिण भेग सम्म पुग्ने गरेको प्रहरी नायव निरीक्षक रेग्मीले बताउनुभयो ।

ट्राफिक प्रहरीका अनुसार भारतीय सवारीलाई निगरानी गर्न सिमावर्ती भित्री सडकहरुमा समेत विभिन्न समयमा चेकजाँच गरिन थालिएको छ । जसका कारण दुर्घटना न्यूनीकरणमा समेत टेवा पुगेको बताइएको छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्