अत्यधिक गर्मीका कारण झापामा मलामीको मृत्यु
![](https://www.deshkonews.com/wp-content/uploads/2017/01/mritu.gif)
झापा । झापामा अत्यधिक गर्मीका कारण मलामी गएका एक व्यक्तिको मृत्यु भएको छ। अत्यधिक गर्मीका कारण मृत्यु हुनेमा भद्रपुर नगरपालिका ६ बस्ने अन्दाजी ६० वर्षीय सिताराम यादव रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार बुधबार बिहान झुण्डिएर आत्महत्या गरेका भद्रपुर ६ बस्ने १८ वर्षीय रोहण यादवलाई मेची नदीमा दाहसंस्कारका लागि लगिएको थियो। सिताराम बुधबार दिउँसो रोहणको मलामी गएका थिए। बुधबार झापामा अत्यधिक गर्मी रहेको थियो।
मलामी गएका यादवसहित भद्रपुर ६ बस्ने राजु यादव पनि अत्यधिक गर्मीका कारण मेची नदी किनारमै बेहोस भएका थिए। मलामीमै बेहोस भएका दुवै जनालाई तत्काल उपचारका लागि मेची अञ्चल अस्पताल लगिएको थियो। बेहोस भएका सितारामको अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएकोथियाे। उपचारका क्रममा उनको अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए।
पारिवारिक स्रोतका अनुसार मृतक सिताराम मुटु रोगी बिरामी थिए। यता गर्मीका कारण बेहोस भएका राजुको उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ। ‘तीन दिनदेखि झापामा अत्यधिक गर्मी बढेको छ’, प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘मेची नदीमा दाहसंस्कारका लागि मलामी जाने व्यक्तिहरूको बस्ने मलामी घर नहुँदा यस्तो घटना हुन पुग्यो।’
प्रकाशित मिति: ३० जेष्ठ २०७६, बिहिबार