ठेकेदार कम्पनी पप्पु कन्सट्रक्सनलाई कारवाही गर्न निर्देशन


 


काठमाडौं, जेठ ३१

संसदको विकास तथा प्रविधि समतिले ठेकेदार कम्पनी पप्पु कन्सट्रक्सनलाई कारवाही गर्न निर्देशन दिएको छ । संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले उपत्यका सडक विस्तार आयोजनाको निर्देशन विपरित गुणस्तरहिन काम गरेको भन्दै पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको हो ।

काठमाडौंको तीनकुनेस्थित बागमती नदीमा निर्माणाधीन पुल निर्माणमा पप्पु कन्ट्रक्सनले चरम लापरवाही भएको ठहर गर्दै पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्नुपर्ने समितिको स्थलगत अध्ययन रिपोर्टमा उल्लेख छ ।

केही दिनअघि पुलको स्थलगत अध्ययन गरेका समितिका सदस्यहरुले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार बागमती नदीमा निर्माणाधीन पुल ‘डिजाइन र निर्माण’ पद्धतिबाट २०७५ असार ५ गते निर्माण सक्ने गरी सम्झौता भए पनि निर्माणले गति लिन सकेन ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले पुल निर्माणका लागि पप्पुसँग २०७१ पुस ४ गते सम्झौता गरेको थियो । पुल निर्माणको लागत अनुमान ३० करोड ८५ लाख भए पनि निर्माण कम्पनीसँग २१ करोड ३३ हजार (करबाहेक)मा सम्झौता भएको थियो ।

२९।५ मिटर गहिरो (लम्बाइ) का १६ वटा एक २० एमएमको पाइल्स निर्माण गर्ने गरी डिजाइन स्वीकृत भए पनि निर्माण व्यवसायीले एउटा पाइल्स १६।५ मिटरको मात्र निर्माण गरेको र २ वटा पाइल्स क्रयाक भएको प्राविधिक परीक्षणबाट देखिएको समितिको स्थलगत अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

निर्माण व्यवसायीलाई फाउन्डेसनमा रहेको पाइल्सको समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन निर्देशन भएको तर व्यवसायीले उक्त निर्देशनको पालना नगरी पुलको सब–स्ट्रक्चर निर्माण गरी स्ल्याब ढलानको तयारी गरेको बताइएको छ ।

सडक विस्तार आयोजनाले तत्काल इन्जिनियरिङ अध्ययन संस्थानसँग समन्वय गरी परिमार्जित डिजाइन प्राप्त गरी सोही अनुसार निर्माण अघि बढाउने व्यवस्था मिलाउनुपर्ने समितिको निष्कर्ष छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्