नेपालका प्रख्यात महायोगी शिद्धबाबा कृष्णदासजीलाई भारतमा विशेष सम्मान्


 


काठमाडौँ, जेठ ३२

नेपालका प्रख्यात महायोगी शिद्धबाबा कृष्णदासजी महाराजलाई शनिबार भारतको अयोध्यामा जगतगुरु रामानन्दाचार्यको प्रमाणपत्र प्रदान गरिएको छ। उनलाई गत फागुनमा चतराधाममा आयोजित महायज्ञका अवसरमा उक्त पद विभूषित गरिए पनि प्रमाणपत्र अयोध्यामा आयोजित सन्तहरुको विशेष सभामा दिइएको हो। उक्त अवसरमा सन्त समाजले उनको सम्मानसमेत गरेको थियो।

चतराधाममा गत फागुनमा आयोजित श्रीराम तारक ब्रम्ह महायज्ञको पूर्णाहुतिका अवसरमा उनी विभूषित भएका थिए। महायोगी शिद्धबाबालाई राम जन्मभूमिन्यास अध्यक्ष तथा श्रीमणिराम छाउनी पीठका पीठाधिश्वर अनन्तश्री विभूषित श्रीनृत्यगोपालदासजी महाराजले अयोध्यामा उक्त विभूषणको प्रमाणपत्र दिएका हुन्।

उक्त अवसरमा अयोध्यामा चतुः सम्प्रदायका जगतगुरु लगायत शीर्षस्थ व्यक्तित्वहरु तथा अनि, निर्वाणी, दिगम्बर, महानिर्वाणी गरी चारै अखडा परिषदका अध्यक्ष्य तथा वैष्णव सम्राट पनि उपस्थित थिए। नेपालबाट करिब ६ सय भक्त उक्त सन्त सम्मेलनमा सहभागी हुन अयोध्या पुगेका छन्।

उक्त अवसरमा बृन्दावन, दिल्ली, अयोध्या, चित्रकुट, हरिद्वार उत्तरकाशी, अहमदाबाद, बनारस, उज्जैन, जयपुरका विशिष्ठ मण्डलेश्वर, महामण्डलेश्वर, जगतगुरुहरु पनि उपस्थित थिए। उक्त अवसरमा नृत्यगोपालदासजीको ८१ औँ जन्मोत्सव मनाइएको थियो। ७ जुनदेखि १४ जुनसम्म भक्तमाला कथासमेत वाचन गरिएको थियो।

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि भएको यो पहिलो विशाल सन्त सम्मेलन हो। गत फागुनमा चतराधाममा १२ सय साधक साधिकाहरुले निरन्तर तपस्या गरेको र विश्वमै दोस्रोपटक ७०५ वर्षपछि श्रीराम तारक ब्रम्ह महायज्ञ भएको थियो। त्यसअघि भारतमा उक्त महायज्ञ भएको थियो।

प्रकाशित मिति: ३२ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्