आज भारत र पाकिस्तानबीच रोमाञ्चक भिडन्त


 


काठमाडौँ, असार १

आइसीसी एकदिवशीय विश्वकप क्रिकेटमा आज चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दै छन् । युद्धकै रुपमा तुलना गरिने यि दुईबीचको खेल लण्डनको म्यान्चेस्टर मैदानमा हुनेछ । प्रतियोगिताको सुरुवाती दुई खेलमा दक्षिण अफ्रिका र अष्ट्रेलियाबिरुद्ध भारतीय पक्षको प्रदर्शन सबै क्षेत्रमा उत्कृष्ट थियो । तर, शिखर धवनको अनुपस्थिति र पाकिस्तानी फाष्ट बलर मोहम्मद अमिरको सानदार लयका कारण भारतीय ओपनिङमा सहज नहुन सक्छ ।

भारतको सुरुआत रोहित शर्मासँग केएल राहुलले गर्नेछन् । तर, खाली रहेको चौथो नम्बरमा दिनेश कार्तिक या विजय शंकरलाई जिम्मा दिनेबारे निर्णय भइनसकेको बताइएको छ । पाकिस्तानले इंग्ल्याण्डबिरुद्ध अविश्वसनीय जित हासिल गरेको थियो । त्यसपछि उसले टाउनटनमा अष्ट्रेलियासँग ४१ रनले पराजित भयो ।

विश्वकपको हेड टू हेडमा सन् १९९२ यता यी दुईबीच विश्वकपमा ६ पटक भिडन्त भएकोमा पाकिस्तानले अहिलेसम्म जित्न सकेको छैन । एकदिवशीय अन्तर्राष्ट्रियमा भने यिनीहरुले १३१ पल्ट खेलेकोमा पाकिस्तानले ७३ पल्ट जितेको छ ।

तर, बहुप्रतीक्षित खेलमा सबैभन्दा चिन्ताको विषय वर्षालाई हेरिएको छ । बिहानको समयमा घाम लागे पनि मध्याह्नपछि म्यान्चेस्टरमा भीषण वर्षाको सम्भावना छ । दोस्रो ब्याटिङ गर्ने टिमले म्यान्चेस्टरको पछिल्लो पाँचमध्ये ४ खेलमा जित हासिल गरेको छ ।

प्रकाशित मिति: १ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्