नेकपा अध्यक्षको गोठमा गाेबर फाल्छन् सरकारी कामदार !


 


काठमाडौं प्रधानमन्त्री रोजगार कार्यक्रमका कामदारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धुर्कोट गाउँपालिकाका अध्यक्ष गोपाल कुँवरको गाईगाेठमा गाेबर फाल्ने, घाँस काट्ने र बारी खन्ने काममा लगाएको छ ।

सरकारका १५ जना कामदारलाई गाउँपालिकाले ७ वडामा विभिन्न व्यक्तिका फर्महरुमा काम गर्न खटाएको हाे । राेजगारी दिनेले नै पठाएपछि आफूले व्यक्तिकाे गाेठमा गाेबर फाल्ने काम गर्नुपरेकाे जैसिथोकका रामप्रसाद पोखरेलकाे गुनासाे छ । फर्म सञ्चालक कुँवर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धुर्कोट गाउँपालिकाका अध्यक्ष हुन् ।

गुल्मीको धुर्कोट गाउँपालिकाको वडा नम्बर ४ जैसिथोकका रामप्रसाद पोखरेलले साेही वडाका गोपाल कुँवरको गाईगाेठमा गाेबर फाल्ने काम पनि गरेकाे बताएका छन् । “छनाेट भएपछि तपाइँ गोपाल कुँवरकोमा जानुस् भनेर अध्यक्षले पठाउनुभयो” उनले भने, “उहाँको गाईगोठमा गाेबर फाल्ने, घाँस ल्याउने र बारीमा टनेल बनाउनका लागि खन्ने काम गरेको छु ।”

श्रम मन्त्रालयले तयार पारेकाे कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यविधि, २०७६ मा विभिन्न आठवटा क्षेत्रहरुलाई प्राथमिकता दिएर कार्य सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ ।

कार्यविधिको दफा ३ (९) मा सडक निर्माण तथा मर्मत, कृषि तथा सिंचाई, ग्रामीण खानेपानी, स्वास्थ्य तथा सरसरफाइ, शिक्षा, वन तथा जलाधार, पर्यटन र स्थानीय आवश्यकता अनुसारका अन्य श्रमप्रधान आयोजनाहरुमा खटाउने व्यवस्था छ । तर व्यक्तिगत फर्महरुमा काममा लगाउन नमिल्ने श्रम मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत धुर्कोट गाउँपालिकामा एक सय ५० जनाले रोजगारी पाएका छन् ।

जसमध्ये शिक्षण संस्थामा १३ जना, स्वास्थ्य संस्थामा ४ जना, कृषि र पशुपालनमा १५ जना, सिंचाई कुलो मर्मतमा १५ जना, विद्युत मर्मतमा ७ जना, खानेपानी मर्मतमा १५ जना र सडक मर्मतमा १५ जना छन् ।

प्रकाशित मिति: १ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्