नेपालकै सर्वाधिक ठूलो फलाम खानी सञ्चालन गर्ने तयारी, स्थानीयबासी उत्साहित


 


नवलपुर, असार १

नवलपुरको धौवादीमा फेला परेको फलाम खानीबाट व्यावसायिक उत्पादन थालिने भएसँगै स्थानीयबासी उत्साहित बनेका छन् । नेपालकै सबैभन्दा बढी क्षेत्रफलमा रहेको खानीको सञ्चालनबाट सो क्षेत्रको विकास हुने र रोजगारीका अवसर पनि खुल्ने आशामा स्थानीयबासी उत्साहित बनेका हुन् ।

आगामी आर्थिक वर्षको बजेटमा नवलपुरको धौवादीमा फेला परेको फलाम खानी उत्खनन् गरी व्यावसायिक उत्पादन गर्ने घोषणा गरिएसँगै स्थानीयबासी त्यसको प्रतिक्षामा छन् । २०६८ सालमा खानी तथा भूगर्भ विभागको टोलीले कोइलाखानीको संभाव्यता अध्यनन गर्ने क्रममा फलाम खानी भएको तथ्य खुलेको थियो ।

खानीको पहिचान भएको ७ वर्षसम्म त्यसको उत्खननका बारेमा कुनै पहल भएको थिएन । तर आगामी वर्षको बजेटले यस विषयलाई समेटेपछि स्थानीय खुसीले दंग छन् ।

पूर्वमा धौवादी, पश्चिममा नाम्जाकोट दक्षिणमा रुम्सी र उत्तरमा ल्यापेको १० किलोमिटर क्षेत्रमा फलाम खानी फैलिएको छ । खानीक्षेत्रसम्म पुग्ने सडकको दुरावस्था देखिन्छ भने खानेपानी, केन्द्रीय विद्युत प्रशारण लाइनसमेत पुग्न सकेको छैन । फलाम खानीको सञ्चालनपछि सो क्षेत्र विकास हुने आशामा रहेको स्थानीय धनबहादुर राना बताउँछन् ।

भूगर्भविद्को अुनसन्धानले हुप्सेकोट गाउँपालिका ५ को धौवादी क्षेत्रमा पर्ने यो खानीलाई नेपालकै सबैभन्दा ठूलो खानी भएको पुष्टि भएको छ । खानीको उत्खननका साथै उद्योग, पूर्वाधार र पर्यटन विकासको लागि तीनै तहका सरकारले सहकार्य गर्नुपर्ने हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेको भनाइ छ ।

केही साताअघिदेखि खानी तथा भूगर्भ विभागले औद्योगिक परीक्षणका लागि नमूना संकलन गरिरहेको छ । १६ स्थानबाट ५ हजार किलोग्राम संकलन गरी नमुना परीक्षणको लागि भारत वा चीन पठाइने छ । त्यसपछि औद्योगिक परीक्षण गरेपछि मात्रै उद्योग स्थापना कहाँ गर्ने भन्ने टुंगो लाग्ने छ ।

प्रकाशित मिति: १ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्