गर्मीका कारण निजी विद्यालयहरु पाँच दिन विदा


 


धरान: अत्यधिक गर्मी तथा विविध कारण देखाउदै धरानमा सञ्चालनमा रहेको निजी एवं संस्थागत विद्यालयहरु ५ दिनलाई विदा गरिएको छ ।

प्याब्सन, एन प्याब्सन र ए.सि.सि.धरानको संयुक्त बैठकले ५ दिनसम्म स्कुल विदा दिने निर्णय गरेको हो । तिनै संस्थाले असार २ गते(सोमबार)देखि ६ गते शुक्रबारसम्म निजी विद्यालयहरु विदा दिने सहमति गरेको छ । सहमति पछि जारी गरेको सुचनामा गर्मी तथा अन्य विविध कारणले पठनपाठनमा समस्या भएको खुलाइएको छ । केही दिनयता गर्मी असाध्यै बढेको छ भने धरानमा डेंगु रोगको प्रकोप पनि छ । डेंगुको कारण केही दिनलाई विद्यालयहरु विदा दिइनुपर्ने आवाज पनि उठ्दै गएको थियो ।

ए.सि.सि.धरानका अध्यक्ष राजेन्द्र गुरुङले गर्मी असाध्यै बढेको र डेंगु, विजुलीको भोल्टेज अभाव, खानेपानी अभावलगायत विविध कारणले गर्दा विदा दिने निर्णय गरिएको बताए । ‘डेंगुको कारणले गर्दा मात्र होइन, सबै कुराले गर्दा विदा दिनु उचित ठान्यौं,’उनले भने,’गर्मी असाध्यै बढेको छ, यही बेला पानी छैन । विजुली आउदैन, आउदा पनि भोल्टेज छैन, डेंगुको पनि प्रकोप छ, यी सबै कारणले ५ दिन विदा दिने निर्णय गरेका हौं । ‘

प्रकाशित मिति: १ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्