सकियो धिमाल जातीको जात्री पर्व, सबै जाती र धर्मबीचको एकतामा जोड


 


सुमन घिमिरे
उर्लाबारी, असार २

प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले समाज परिवर्तनका लागि सबै जाती र धर्मबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

मोरङको उर्लाबारी नगरपालिका – ३ स्थित धिमाल जाति विकाश केन्द्रले जात्री पर्व समापनको अवसरमा आज आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उपसभामुख तुम्बाहाम्फेले आफ्नो धर्म संस्कार मात्र होईन अन्य जातिको संस्कार संस्कृतिलाई पनि सम्मान् गर्नुपर्ने बताउनुभयो । उपसभामुख तुम्बाहाम्फेले नेपालको संविधानको मौलिक हकमा सबै धर्म र संस्कारको जगेर्ना गनुपर्ने कुरा उल्लेख भएकाले सरकार सबै धर्म र संस्कार संस्कृतिको जगेर्ना र प्रबद्र्धनमा लाग्नुपर्ने बताउनुभयो ।

संबिधानमा उल्लेख हुँदैमा आफ्नो धर्म, संस्कार र संस्कृतिको जगेर्ना नहुने उल्लेख गर्दै उहाँले त्यसका लागि यस विषयमा सबैले नयाँ पुस्तालाई हस्तान्तरण गर्दै लैजानुपर्ने बताउनुभयो । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले धिमाल समुदायको विकाश र प्रबद्र्धनका लागि नगरपालिका तयार रहेको बताउनुभयो । उहाँले आगामी वर्षको बजेटमा यस समुदायको जगेर्ना र उत्थानका लागि सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । केन्द्रका अध्यक्ष तेजबहादुर धिमालको अध्यक्षतामा भएको कार्यक्रममा धिमाल जातियबाट पहिलो पटक विद्यावारिधि गर्नुहुने मोरङकै पथरीशनिश्चरे नगरपालिकाका सोमबहादुर धिमाललाई सम्मान् गरिएको थियो ।

यस्तै धिमाल समुदायबाट खेलकुद, शैक्षिक, कला लगायतका क्षेत्रमा योगदान पुर्याउने एक दर्जन बढीलाई सम्मान् गरिएको थियो । धिमाल जाति पूर्वी नेपालको प्रदेश नंं १ मा बसोबास गर्दै आएको एक प्राचीन आदिवासी हुन् । मुख्य रुपमा झापा र पूर्वी मोरङमा बस्दै आएका धिमालहरुको जनसंख्या ५० हजारको हाराहारीमा रहेको संबिधानसभा सदस्य पर्तमान धिमाल बताउनुहुन्छ । बैशाख २ गतेदेखि असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व मनाउँछन् । नयाँ वर्षको आगमनसँगै जात्री पर्व शुरु हुने गर्छ । धिमाल जातिको उद्यमस्थल मानिएको मोरङको लेटाङ नगरपालिकाको भोगटेनीस्थित राजारानीमा मेला लगाएर जात्री पर्व शुरु हुन्छ ।

ग्रामथानमा हाँस कुखुरा, सुँगुरलगायतको बलि दिएर सो पर्व प्रारम्भ गरिन्छ । भोगटेनीबाट शुरु भएपछि धिमाल बस्तीको टोलटोलमा यो पर्व पुग्ने गर्छ । सिर्जात अर्थात् सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगब्याधि नलागोस्, शोक नपरोस् र सुख शान्ति छाओस् भनेर मनाइने गरिएको छ । यो पर्वमा धर्म ठाकुर, लक्ष्मी, चौमाझी, बूढा ठाकुरलगायतको पूजा गरिने धिमाल जाति विकाश केन्द्रका महासचिव केदार धिमाल बताउनुहुन्छ ।

यो पर्व धिमालका प्रदेश न १ का ९८ वटा भन्दा बढी टोलमा मनाइने गरिएको छ । जात्रीको अवसरमा गाउँगाउँमा मेलाको आयोजना हुने गरेको छ । आज उर्लाबारीमा जात्री मेला आयोजना गर्दै यसवर्षको पर्व समापन भएको छ । जात्रीको अवसरमा आज मोरङका उर्लाबारी, पथरीशनिश्चरे बेलबारी नगरपालिका तथा कानेपोखरी गाउँपालिका र झापाको दमक नगरपालिकाले स्थानीय सार्वजनिक विदा समेत दिएका छन् ।

प्रकाशित मिति: २ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्