प्रधानमन्त्री ओली भन्छन् देशमा केही भयाे गुरुरु कुद्यो, माइतीघर पुग्यो


 


काठमाडाैं गुठी विधेयकका बारे प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, संस्कार, मठ मन्दिर तथा मूर्तिहरु रक्षा गर्नका लागि गुठी विधेयक ल्याउनु परेको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा मंगलबार पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले काठमाडौंबाहिर गुठीको नाममा जनताहरु प्रताडित भएका बताए ।

पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले भूमी व्यवस्था, सहकारी, तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरी गुठी विधेयक फिर्ता लिएको बारेमा खण्डन गर्दै यो कस्ता विडम्बना भएको भन्ने प्रश्न गरे । उनले सरकारले गुठी विधेयक फिर्ता गरेकाेमा समर्थन गरेका थिए ।

सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले प्रदर्शनको नाममा आन्दोनकारीले माइतघर मण्डलाको मर्यादामाथि आँच पुर्‍याएको बताए । उनले भने, ‘देशमा केही भयो कि दौडिएर माइती घर मण्डलामा जाने, गुरुरु कुद्यो, त्यही पुग्यो ।’

उनले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आफूलाई संसदमा बोल्न नदिएर अत्यन्तै असंसदीय तथा अमर्यादित व्यवहार देखाएको टिप्पणी गरे । प्रतिनिधिसभा बैठकनै अवरुद्ध पारेर काँग्रेसले बोल्न नदिएकोमा आश्चर्य चकित भएको उनले प्रतिक्रिया दिए । प्रधानमन्त्रीलाई बोल्न नदिने, प्रधानमन्त्रीले लिएको समयभन्दा पहिले आफूले बोल्नुपर्छ भन्ने लोकतन्त्रमा कहीँ नहुने व्यवहार काँग्रेसले प्रर्दशन गरेको उनले बताए ।

लोकतान्त्रिक अभ्यासमा, संसदीय प्रणालीमा प्रधानमन्त्रीले समसामयिक विषयमा आवश्यक परेको बेला संसदलाई विभिन्न विषयहरुमा सरकारका दृष्टिकोणबारे जानकारी गराउने अभ्यास हुने उल्लेख गर्दै काँग्रेस त्यसको विपक्षमा उभिएको उनले बताए ।

‘लोकतान्त्रिक अभ्यासमा पहिला प्रधानमन्त्रीले, विपक्षी दलका नेताले र त्यसपछि वरिताक्रममा बोल्ने अन्तराष्ट्रिय प्रचलन हुन्छ । हरेक कुरामा निहुँ खोज्ने तरिकामा प्रधानमन्त्रीले होइन् मैले बोल्न पाउनुपर्छ भनेर शेरबहादुर देउवाजी नै रोष्टम घेराउको नेतृत्व गरेर अघि बढ्नुभयो,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यो घटनाबाट आश्चर्य चकित भएँ म । उहाँहरुलाई संसदीय मर्यादा थाहा हुनुपर्ने । ’

प्रकाशित मिति: ३ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्