उर्लाबारी नगरपालिकाद्धारा पाठशाला कृषि सहकारीलाई अनुदानमा पावर टिलर


 


उर्लाबारी, ३ असार ।

मोरङको उर्लाबारी नगरपालिकाले उर्लाबारी – ६ स्थित पाठशाला कृषि सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गरेको छ ।

संस्थाले संचालन गर्दै आएको सब्जी खेतीको जग्गामा मेयर खड्ग फागोले आज बेलुका पावर टिलर संचालन गर्दै संस्थालाई हस्तान्तरण गर्नुभएको थियो । संस्थाले साढे चार बिगाहा क्षेत्रफलमा संचालन गर्दै आएको सब्जी खेतीलाई प्रोत्साहन गर्नका लागि अनुदानमा पावर टिलर उपलब्ध गराएको मेयर फागोले बताउनुभयो ।

मेयर फागोका अनुसार उर्लाबारीलाई कृषि क्षेत्रको रुपमा विकाश गर्नका लागि कृषक समुह तथा कृषकहरुलाई कृषिका आधुनिक उपकरण तथा यन्त्रहरु अनुदानमा उपलब्ध गराउँर्दै आएको छ । कुल दुई लाख २३ हजारको लागतमा खरिद गरिएको सो पावर टिलरका लागि नगरपालिकाले आधा रकम उपलब्ध गराएको थियो भने संस्था आफैले आधा रकम बेहोरेको थियो ।

भाडामा ट्याक्टर लगाउँदा बढी खर्च हुने भएकाले नगरपालिकाले अनुदानमा उपलब्ध गराएको पावर टिलरबाट संस्थालाई सब्जी खेती गर्न सहज हुने अध्यक्ष दुर्गाप्रसाद खतिवडाले बताउनुभयो ।

प्रकाशित मिति: ३ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्