महाभूकम्पको सन्देशः राम्रो कर्म गर



narayan nabarajनवराज भट्टराई ‘कोऽहम्’ र नारायणप्रसाद भट्टराई ‘सोऽहम्’
वि.सं. २०७२ वैशाख १२ गते शनिबार । राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएअनुसार नेपालको गोरखा जिल्लाको बारपाकलाई केन्द्र बनाएर ७.८ रेक्टर स्केलको महाभूकम्प गएको बेला थियो बिहानको ११ः५६ बजे । सो समयमा हामी विश्व दर्शन अभियान, नेपालद्वारा सञ्चालित विश्व दर्शन केन्द्र, नयाँ वानेश्वर, काठमाडौंमा थियौं । खाना खाइसकेपछि पत्रपत्रिकामा आँखा दौडिरहेका थिए । हामीसँगै योग तथा रेकी प्रशिक्षिका कविता ढुंगाना, काभ्रेपलाञ्चोकका रामशरण हुमागाईं र मकवानपुर, हेटौंडाकी सम्झना कप्रौला हुनुहुन्थ्यो । सामूहिक कुराकानी पनि चल्दै थियो ।
घरबेटीले भुईं तलामा वायरिङ गराइरहेको आवाज आउँदै थियो । केन्द्र माथ्लो तलामा रहेकाले सुरुमा अलि–अलि आएको धक्काको ख्याल भएन । जोडतोडका साथ घर हल्लिन थालेपछि सबैजना भुइँचालो आयो भन्दै ज¥याक्जुरुक उठ्यौं । कोही ढोका समाउन पुगियो त कोही भित्रै । बाहिर निस्किन सकिएन । खाटमुनि पसौं भनेर भित्र जाँदा सामान भरिभराउ । टाउको थोरै छिराएर केही सेकेण्ड बसेजस्तो ग¥यौं । कोक्रोमा बच्चालाई हल्लाएझैं हल्लाइरह्यो भूकम्पले । घर सरेर तलै पुग्यो होला जस्तो लाग्दै थियो । केही सेकेण्डपछि तला खस्ने हो कि, पूरै घर पल्टिने हो भन्ने सोचाईमा मुटु धड्कियो । प्राकृतिक विपत्ति हो, जे त होला भनेर मन बलियो बनाइयो । धन्यवाद भगवान् ! भन्दै कविता जी त ध्यान गर्न थाल्नुभयो । फेरि केही सेकेण्डपछि भूकम्पको गति कम भयो । लगत्तै सबैजना बाहिर निस्कन भनेर हिंड्यौं । ढोकामा पुगेपछि मोबाइलको सम्झना आयो । फर्किएर सबैले मोबाइल लियौं । विपत्तिमा पनि मोबाइलको याद । अब त स्वर्गमा पनि मोबाइल भएन भने बस्न सकिन्न होला ! चप्पल लगाएर बाहिर खुल्ला ठाउँमा निस्कियौं ।
बाहिर महिला र बच्चा रोइरहेका । मान्छेहरुको कोलाहल । कति त नाङ्गो खुट्टै पार्किङ्स्थल पुगेका । कोही नुहाउँदा नुहाउँदै टाउकोभरि स्याम्फु लगाएर आएका । कोही आउँदै गरेका । छेउछाउका सबै घरबाट मान्छे एकै ठाउँमा जम्मा भए । केही मिनेट नबित्दै पराकम्पन भयो । सबैजना फेरि आयो भन्दै कराउन थालियो । एकाअर्काका हात समाएर उभियौं । एक्लै उभिंन त निकै गा¥हो । धेरै मान्छे झन् हतास र त्रसित देखिए । छेउको एउटा घरको भित्ता त भत्केला–भत्केला जस्तै गरेर हल्लियो । तर भत्केन । हामी बसेको घरको कौसीका गमलाहरु पनि हल्लिरहेका । छिनछिनमा भइरहेको कम्पनको मापन हाम्रा लागि त्यही घरको भित्ता र गमला भए । अलि अलि हल्लिन थाल्दा नथाल्दै मान्छेहरु आत्तिएर आयो, आयो भन्दै कराइहाल्थे ।
पार्किङ्को छेउको पर्खाल भत्किएनि नजिकका घरहरुमा कुनै ठूलो असर परेको देखिएन । त्यसैले अन्यत्र पनि त्यत्रो ठूलो कुनै हानी नोक्सानी भएन होला भन्ने अनुमान लगाईयो । घरपरिवार, साथीभाईलाई सम्पर्क गर्ने कोसिस गरियो । नमस्ते र एनसेल फोनले काम गरेनन् । पोस्टपेडबाट पोस्टपेडमा चाहिं सम्पर्क भयो । १÷२ साथीभाईसँग कुराकानी गरियो ।
मोबाइलमा रेडियो सुन्दै गरेका एक युवाले धरहरा भत्कियो रे भने । झसंग भइयो । त्यसपछि हामी पाँचै जना हेर्न जाऔं भनेर वानेश्वरबाट हिंड्यौं । सडकका किनारा र बीचका बगैंचामा मान्छेहरुको भीड । केही घर चर्केका । एभरेष्ट अस्पतालको बाहिर सडकमा घाइतेहरुको उपचार भइरहेको । कोही बेहोस भएर ढलेकाहरु त कोही आत्तिएर झ्यालबाट फाल हानेकाहरु भन्ने बुझियो ।
माइतीघर पुग्दा एकजनाले पुल्चोकमा घर भत्किएर मान्छेहरु हताहत भएको आफ्नै आँखाले देखें भने । अरुले पनि अन्य ठाउँमा भौतिक एवं मानवीय क्षति भएको खबरहरु सुनाए । नेपाली सेनाको मुख्यालय, भद्रकाली परिसरको पर्खाल भत्केको अनि केही ठाउँमा धाँजा फाटेका सडकहरु देख्दा अन्यत्र पनि ठूलै क्षति भयो कि भन्ने लाग्यो । शहीदगेट पुग्दा नपुग्दै फेरि कम्पन भयो । त्यसपछि पनि स–साना कम्पनहरु आई नै रहे । टाढैबाट देखिने काठमाडौंको मुटुमा रहेको ऐतिहासिक धरहरा कसै गर्दा नि देखिएन । सुन्धाराको आकाशेपुलभन्दा उता मान्छेहरुलाई जान दिईएको थिएन ।
एकपटक भएनि धरहरा चढेर काठमाडौंको दृश्य नियाल्ने प्रायको धोको हुन्थ्यो । शनिबार बिदा भएकाले कति मान्छे आएका थिए होला यहाँ चढ्न ? आफूसँगै ढलाएर कतिलाई यसले परमधाम पु¥यायो होला ? भन्दै यताउता हे¥यौं । शहीदगेटतिरै फर्कियौं । भीडका कारण हाम्रो टोली छुट्टिएछ । ३ जनाको समूह (नवराज, सम्झना र रामशरण) टुँडिखेलबाट रानीपोखरी हुँदै पुरानो बसपार्कतिर वस्तुस्थिति नियालेर र २ जना (नारायण र कविता) भोजपुर सानोदुम्माका यामप्रसाद भट्टराईसँग भेट गरेर वानेश्वर फर्कियौं ।
भुईं काँपिरहेकै थियो । स–साना झड्का पनि बेलाबखत् आउँदै थिए । मान्छेहरु कोही बारीमा त कोही घर अगाडिको खुल्ला ठाउँमा त्रसित बनेर बसेका । हामीचाहिं जे होला होला भन्दै घरभित्र पस्यौं । खाजा खायौं । सम्झना जी र रामशरण हुमागाईं इमाडोल जाने भनेर हिँड्नुभयो । घरपरिवारसँग कसैको पनि सम्पर्क नभएकाले थोरै चिन्ता थियो मनमा । साँझमा खाना पकाउनुपर्ला भनेर सल्लाह गर्दै थियौं । छेउको तलामा बस्ने भाईले आत्तिएर भने– ‘अझै ठूलो भुईंचालो गएर यो जमीन नै फाट्छ भन्दैछन्, गृहमन्त्रीले पनि घरभित्र नबस्नु भनिसके, वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बी.आई.सी.सी.) भित्र रहेको चौर सरकारले खुल्ला गरेको छ, हामी त त्यहीं जाँदैछौं ।’ हाम्रो भित्री मनले त बाहिर जान मानिरहेको थिएन । तर, सबै मान्छे खुल्ला ठाउँमै बस्ने, सुत्ने भएपछि हामी पनि किन घर भित्र बसौं त, नयाँ अनुभव पनि हुन्छ, मान्छेहरुको मानसिकता बुझ्न नि पाइन्छ, जाऔं न त भनेर बिस्कुट, पानी, म्याट, तन्ना र ब्लाङ्केट बोकेर बी.आई.सी.सी. भित्र गयौं ।
चौरभरि मान्छे नै मान्छे । आ–आफ्नो ठाउँ रोक्न र त्रिपाल टाँग्न व्यस्त । हामी पनि बिछ्यौना ओच्छ्याएर बस्यौं । छेउमा बसेका दाईहरु कुरा गर्दै थिए– ‘करोड खर्च गरेर घर बनाइयो, अहिले खुल्ला चौरमा आएर सुत्नुपर्दैछ । केही काम रहेनछ, भुईंचालोमा हल्लिएको मन यति डराइरछ कि फर्केर आफ्नै घरमा जान मानेको छैन । आफूले बनाएकै घर, अहिले सबैभन्दा ठूलो डर । फेरि भूकम्प आएर जमीन नै चिरा पर्न सक्छ भन्छन्…।’ अरुहरु पनि त्रसित भावमा कुराकानी गरिरहेका थिए ।
लेखनाथ दाजु र इन्दिरा भाउजुसँग दिउँसो फोन सम्पर्क भएपनि धेरै कुराकानी हुन सकेको थिएन । भोजपुर घरमै रहनुभएका बुवाआमाहरुसँग भने राती ११ बजेतिर फोनमा विस्तृत कुराकानी भए । ‘रेडियोले काठमाडौंमा त धेरै नोक्सान भएको खबर भन्यो, फोन गर्दा पनि लागेन, तिमीहरुलाई केही भयो कि भनेर हामी त निकै आत्तियौं, बल्ल अहिले कुरा हुँदा खुशी लाग्यो,’ उहाँहरुले भन्नुभयो । घर अनि पूर्वतिर खासै असर नपरेको सुन्दा मन ढुक्क भएपनि रेडियोले विभिन्न ठाउँमा भएको जनधनको क्षतिबारे समाचार भनेको सुन्दा धेरै दुःख लाग्यो ।
भूकम्पको ठूलो झट्का आएपछि मान्छेहरुले आयो, आयो भनेर कोलाहल मच्चाईहाल्थे । रातको १२ बजेपछि पानी छिट्याउन थाल्यो । जे भएनि होस् भनेर हामी निवासस्थान आयौं । ठूलै भुईंचालो आइहाल्यो भने बाहिर निस्कन सजिलो होला भन्ने सोचेर योग गर्ने ठाउँमै सुत्यौं । सुताई आनन्दको भन्दा साहसको थियो । ‘बहादुर त्यो होइन, जो डराउँदैन, बहादूर त्यो हो जो डरका बाबजुद पनि अगाडि बढ्न सक्छ’ भन्ने भनाईको याद भयो । अचम्म त के थियो भने घामपानी, हावाहुण्डरी आउँदा सधैं सुरक्षित ठानिने घरको कोठाभित्र आज सुत्नुचाहिं ठूलै साहसिक काम गरेजस्तै अनुभूति भइरहेथ्यो । अरुले नि त्यसै भन्थे ।
१३ गते बिहान घरमै खाना पकायौं । अन्तिम २–३ गाँस जति खान बाँकी के थियो, फेरि घर हल्लिन थाल्यो । हिजोको भन्दा कमै हल्लिएर रोकियो । खाना खाइसकेर बाहिर निस्कियौं । चाँगुनारायण– ११, भक्तपुरस्थित आफ्नो गाउँ जान भनेर कविता जी हिँड्नुभयो । कतै मोटरसाईकल त कतै एम्बुलेन्सको सहयोग लिएर पुग्नुभएछ । कच्ची घर भत्किएर गाई मरेछ । परिवारका सबै सदस्य सकुशल । कान्छा दाई (चन्द्रमणी) की छोरीलाई भने निकै मेहनेत गरेर निकाल्नु परेछ । घरभित्र सुताएर परिवारका अन्य सदस्य बाहिर कुरा गरिरहेका बखत् भुईंचालो गएकाले त्यस्तो अवस्था आएको हो भन्ने जानकारी फोनमार्फत् पाइयो ।
अरु यताउता लागेपछि हामी २ भाई मात्र थियौं । झापाको बिर्तामोड पुग्नुभएका विश्व दर्शन अभियानकर्मीद्वय रोहित ढकाल र शारदा के.सी. ले पूर्वी भेगमा भूकम्पको खासै असर नपरेको जानकारी गराउनुभयो । मध्यमाञ्चलका विभिन्न जिल्लामा भएको क्षतिबारे रेडियो नेपालले प्रत्यक्ष प्रसारण गरिरहेको थियो । राष्ट्रमा नै विपत्ति आइलागेको महसुस भयो । शान्तिनगरतिर गयौं । हिजो त्यहाँको द्वार भत्किएर माइक्रोमा सवार यात्रुको मृत्यु भएको खबर पायौं । त्यहाँको चौरभरि पाल हालेर मान्छे बसेका । मैंया दिदी, शाहिल भाञ्जा र अनिता भाउजु निन्याउरो मुख लगाएर बस्नुभएको । घरमा गएर खाना पकाएर खान मान्छे डराइरहेका । सुख्खा तयारी खानेकुरा खाँदै बसेका । दिदी–भाउजुले चौरमै बसौं, कोठामा नजानु भन्दै हुनुहुन्थ्यो । हामी चाँबी मागेर भुईंचालो आयो भने आउँला नत्र सुत्ने हो भन्दै गयौं । निदाउन लाग्दा गेट घन्द्रङ–घन्द्रङ् बज्यो, खाट हल्लियो । शौचालयभित्र पसिसकेकी मैया दिदी पिसाबै नगरी आयो भाई निस्क भनेर कराउँदै दौडेर चौर पुगिसक्नुभएछ । गेट हल्लिन छोडिसकेको थियो । ताला मारेर हामी पनि दिदीहरु भए ठाउँमा गयौं । साँझ चौरमै स्टोभमा चाउचाउ पकाएर खाइयो ।
अरुबेला नाक थुन्दै हिँड्ने फोहोरी चौरको इट्टामाथि आज ओछ्यान लागेका छन् । सधैं सडक र फोहोरी चउरमा सुत्ने मान्छेहरुको स्मरण भयो । बाढी पीडितहरुले यस्तै ठाउँमा खाना खाएको देखेको दृश्य मानसपटलमा खेल्यो । टेलिभिजनले विभिन्न ठाउँमा विपद्मा परेका मान्छेहरु देखाएको याद भयो । आज त सबै भव्य भवन भएका, धनीमानी, कोठामा बस्नेहरु, गरिबदुःखी भनेर हेपिएकाहरु सबै एक ठाउँमा भेला भएर सुतेका छौं । भूकम्पले सबैलाई एकै ठाउँ ल्याइदिएको छ । सबै समान । नेपालीहरु एकताबद्ध भएर अगाडि बढ भन्ने सन्देश सायद उसले दिएको होला । ‘वसुधैव कुटुम्बकम्’ को अभ्यास गराएको छ । पृथ्वी सबैको साझा घर, आकाश स्थायी छानो, खुल्ला ठाउँ स्थायी बासस्थान । यस्तै अनुभूति भयो ।
सुतिरहेको शरीरलाई इट्टा बिझाईरहेको थियो । पानी परेर भिजाउन थाल्यो । दिदी–भाउजुलाई कोठामै गएर सुतौं भन्यौं । मान्नुभएन । पानी बन्द भयो । अर्को ठाउँमा ओछ्यान लगाएर सुतियो । येनकेन प्रकारेण रात कटाइयो ।
१४ गते बिहान दिदी–भाउजुलाई कोठामा लिएर आयौं । गेटतिर हेर्दै खाना पकाउनुभयो । हामीले नुहाईधुवाई ग¥यौं । भाईहरु भएकाले घरभित्र खाना पकाएर खान आँट आयो भनेर उहाँहरुले भन्नुभयो । दिदीको करकापमा आएका भाञ्जाले ठूल्ठूला गाँस हालेर खाइसकेपछि भन्नुभयो– ‘सधैं अरुभन्दा अघि खान सुरु गरेर सबभन्दा पछि सक्ने मैंले आज सबभन्दा पछि सुरु गरेर सबभन्दा अघि सके ।’ हतार–हतार चुठेर उहाँ त निस्किहाल्नुभयो ।
चौरको नजिक रहेको एक घरका बूढा बा कौसीमा निस्केर मुस्काराउँदै भित्र छिरे । मान्छेहरु भन्दै थिए– ‘घरको माथिल्लो तलामा मन्दिर बनाएका छन्, बूढाबूढी पूजापाठ गर्छन्, भुईंचालो आएपनि बाहिर निस्किदैनन् ।’ अचम्म लाग्यो– ती बूढा बाआमा बाहिर ननिस्केको देखेर । पालभरि कति बूढाबूढी बसेका छन् । भगवानप्रतिको भरोसा र आस्थामा होला उनीहरु आफ्नै घरमा त्यसरी बस्न सकेका । उनीहरुको आँट देखेर हामी पनि भित्र जाऔं भनेर दिदीहरुलाई भन्यौं । तर नि मान्नुभएन । हरी भट्टराई दाई गाडी लिएर पुग्नुभएछ । उहाँसँग सबैजना भृकुटीमण्डप गयौं ।
साथी ईच्छा बोहोराले निकै राम्रो र सुरक्षित भनेर प्रचार गरिएको ग्राण्डी अस्पताल भासिएको, १७ तले घर चिरिएको लगायत धेरै संरचनाका अवस्थाबारे बताउनुभयो । त्यसपछि हामी दुई धरहरा परिसर पुग्यौं । ठूलो रुख काटेर ढालेपछि बाँकी रहने ठूटो जस्तै देखियो धरहराको फेद । अनि काठ दाउरा छुट्याएर जमीनमा चोइटा छरिएझैं टुक्रा–टुक्रा बनेर छरिएको त्यसको माथिल्लो भाग । साँझ परेकाले हामी फर्कियौं ।
हरी दाईले होटलमै सबैलाई खानाको बन्दोबस्त मिलाउनुभएको रहेछ । घरमा गएर खाना पकाएर खान डर थियो सबैलाई । भृकुटीमण्डपमा प्लाष्टिकका छाना भएको बजारभित्रै होटल भएकाले जोखिम कम । सामान राख्ने खटियाहरुमा मान्छे सुतेका । हरि श्रेष्ठको पसलमा मात्र उनीहरुको र हाम्रो समूह नअट्ने भयो । अलिक परको पसलमा सुत्ने ठाउँ खोजियो । तारा भाउजुले छेउमै राखेको गाडी देखाउँदै भन्नुभयो– ‘धेरै टाढा नहोऔं, भाञ्जा र तपाईंहरु गाडीमा अट्नुहुन्छ, यही सुत्नु, भुईंचालो आएर मर्नै पर्ने भयो भने एकै ठाउँमा मरौंला । खान, बस्न, मर्न सबै कुरामा सामूहिक भावनाको विकास गराइदिएको छ यो भूकम्पले ।
तारा भाउजु र शान्ति बहिनीले ओछ्यान लगाइदिनुभयो । ढल्केर रेडियोबाट समाचार सुन्दै थियौं । फेरि भूकम्पले झट्का हान्यो । हामी उठ्न नभ्याउँदै सँगै सुतेका साहिल भाञ्जा आफ्नी आमा भए ठाउँमा पुगिसक्नुभएछ । बिजुली चम्केको गतिजस्तो । यो महाभूकम्पले कति बालबालिकाको मन हल्लाइदिएको छ, सडक चर्किएझैं मानिसहरुको मुटु चर्काएको छ…यस्तै कुरा गर्दै हामी गाडी भित्रै सुत्यौं ।
१५ गते बिहानै हामी विश्व दर्शन केन्द्रमै आयौं । जयपुर, राजस्थान भारतबाट प्रकाशित दैनिक ‘राजस्थान पत्रिका’ का पत्रकार माधव शर्मा, स्पेनकी रोजा भ्रुम लगायतको जिज्ञासा बमोजिम महाभूकम्पबारे जानकारी दियौं । खाना पकाएर खायौं । अगाडि चौरमा पनि घर भएका÷नभएका मान्छेहरु सुख्खा खानेकुरा खाइरहेका छन् । कोही अझै त्रिपाल हाल्दै छन् । त्रास अझै कायमै छ मान्छेहरुमा । साँच्चै मर्नदेखि मान्छेलाई कति डर लाग्ने होला !
हामी दिनभर केन्द्रमै रह्यौं । घरबेटी, छिमेकी सबै बाहिर पालमै छन् । परिवार बाहिरै भएपनि एक छिमेकी भाई हाम्रोमा आए । उनी डराइरहेकै थिए । हामीले भन्यौं– ‘मान्छे एकदिन मर्नैपर्छ, आयु सकिएको रहेछ भने जतिसुकै सुरक्षा अपनाए पनि मरिन्छ, विपत्तिमा होस् वा अरुबेला जसरी, जहाँ भएपनि मान्छे आफ्नो दिन सकिएरै जाने हो, त्यसैले निडर बनौं, प्रकृतिकै भरमा रहौं ।’ विश्वस्त हुँदै ती भाई केहीबेर बसे, पढे अनि सुते । साँझ खाना खाएर घरमै सुत्यौं ।
१६ गतेदेखि रेडियोले धेरै नचर्केका, नभत्केका बाहेकका घरमा चनाखो भएर बस्न सकिन्छ भन्ने सूचना जारी ग¥यो । धेरै मान्छेहरु शंका गर्दै भित्र पसे ।
त्यसपछि पनि हरेक दिन सानातिना कम्पन आउनुलाई स्वभाविकै मानिएको थियो । तर, महाभूकम्पको १७ दिनपछि वैशाख २९, २०७२ को मध्यान्ह १२ः५० बजे राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६.८ रेक्टर स्केलको पराकम्पन भयो । सो समयमा पनि हामी कार्यालयमै थियौं । तत्पश्चात् सामान्य बन्दै गइरहेको जनजीवन असामान्य बन्यो । मृत्यू र घाईते हुनेको संख्या थपियो । तर, पूर्व सर्तकता र पहिलाकै भूकम्पले सिकाएको पाठले जनधनको क्षति कमै मात्रामा भयो । बढी असरचाहिं दोलखा र सिन्धुपाल्चोक जिल्लातिर प¥यो । धेरै मान्छेले खुल्लाचौरमा रात बिताएपनि हामी चाहिं विश्व दर्शन केन्द्रमै सुत्यौं । यसप्रकार जीवनमै पहिलोपल्ट महाभूकम्प र महाकम्पनको अनुभव गर्न पाइयो ।
महाभूकम्प गएको केही दिनमै हल्ला चल्यो– ‘काठमाडौंमा महामारी, रोगव्याधि फैलिन्छ, सुरक्षित स्थानतर्फ जानुपर्छ ।’ दोब्बर भाडा तिर्दै पनि मान्छे काठमाडौंबाट बाहिरिएको खबर आयो । यस्तो विपत्तिका बेला पनि व्यवसायीलाई कमाउनुकै दाउ छ । मानवता नभएपछि कसको के लाग्छ । २ दिनसम्म नीजि विद्यालयहरुले निःशुल्क बस चलाए । केही दिनसम्म धमाधम मान्छेहरुले काठमाडौं छोडे । हामीलाई पनि बुवाआमा, दाजुदिदीलगायतका आफन्तजनले फोन गरेर आउनु भन्दै हुनुहुन्थ्योे ।
हिजोआज पनि सानातिना पराकम्पन भइरहेका छन् । तर वास्तै हुन छाडेको छ । बडादशैंका बेलामा झैं हिजोआज काठमाडौं खाली छ । सडकमा यातायातका साधन कम गुडेका छन् । अरुबेला खुट्टा हाल्ने ठाउँ नहुने सार्वजनिक साधनले २,४ यात्रु लिएर पनि हिंडेका छन् । पसल, कार्यालय, कलकारखाना बन्द भएका छन् ।
यो महाभूकम्प बाजा बजाएर नआएपनि बिदाको दिन पारेर आयो । जसका कारण अझ धेरै जनधनको क्षति हुन पाएन । घर भत्किएर पुरिएकी ४ महिनाकी बालिकादेखि धरहराको टुप्पोसँगै ढलेका मान्छेसमेत बाँचेको खबर छ । पुरिएको १२८ घण्टापछि पनि जीवितै उद्धार गरिएका खबर सञ्चारमाध्यममा छाइरहेका छन् । नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको साहस र विदेशी प्रविधिका कारण उद्धारमा सजिलो भएछ । भूकम्प पीडितका लागि देश, विदेशका चर्चित व्यक्तिदेखि सामान्य जनसम्मले हार्दिकतापूर्ण सहयोग गरिरहेका छन् । विभिन्न देशले गरेको उद्धार र राहतबारे चर्चा÷परिचर्चा भइरहेको छ ।
भारतले सडेगलेका खाद्यान्न बाँडेको हल्ला चलेको छ भने पाकिस्तानले गाईको मासु । योभन्दा ठूलो चर्चा छ, भारतीय टी.भी. र पत्रकारहरुले नेपालीको संवेदनशीलता र सार्वभौमिकतामाथि आँच आउने हिसाबले गरेको समाचार प्रसारणको । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका पत्रकार अनि उद्धारमा आएका सेनाले देखाएको दम्भ र हस्तक्षेप विश्वसामु छताछुल्ल भएको छ । भारतीय टेलिभिजनले नेपालको विपत्तिको खबरलाई टेलिश्रृंखलाझैं, अतिरञ्जित तरिकाले गरेको बढाईंचढाईं र भियतनामी छाँयाचित्रकार ना सान गुएनले उत्तरी भियतनाममा करिब एक दशक अघि खिचेको बालबालिकाको तस्वीरलाई भूकम्पमा परि सम्पूर्ण आफन्तजन गुमाएका नेपालका बालबालिका भन्दै गलत प्रसारण गरेका कारण मे ३ को विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन भारतीय सञ्चारमाध्यमको विश्वभर आलोचना भयो । सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमार्फत् नेपालीहरुले भारतीय सहयोगलाई भन्दा भारतबाट भएको हस्तक्षेपलाई विश्वव्यापी बनाए । ‘नेपाल कहिल्यै, कसैको गुलाम किन बनेन भन्ने विषयमा नेपाली जनताले ७ दिनमै हाम्रा भारतीय मिडियाले गरेको अतिरञ्जनालाई विश्वसामु नंग्याईदिएपछि बुझेको बताउँदै स्वयं भारतीयले भारतीय टेलिभिजनहरुका कारण विश्वसामु आफूहरु लज्जित र दुःखी भएको बताएका छन् ।
यसप्रकार जनजीवन सामान्य हुँदै गएको छ । यो महाविपत्तिले हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीलाई एकजुट भएर देशको पुनर्निमाणमा लाग्न सन्देश दिएको छ । सरकारले कुशलतापूर्वक दातृ निकायको सहयोग लिनुपर्छ । सरकारी निकाय प्रभावकारी ढंगले परिचालित हुनुपर्छ । सबैले भूकम्प प्रतिरोधी घर बनाउनुपर्छ । महाविपत्ले राष्ट्रलाई एकातिर तहसनहस पारे पनि अर्कातिर उन्नत बनाउने बाटो खोलेको छ । घरबास उठेका लाखौं नेपालीको हितमा सरकार लाग्नुपर्छ । जिम्मेवार ढंगले सरकार, नेता र जनता प्रस्तुत भएको खण्डमा नेपालको मुहार निश्चय नै फेरिनेछ । किनकी स्वप्नदर्शी नेपालीहरु समृद्ध नेपाल बनेको सपना देखिरहेका छन् ।
अन्त्यमा महाभूकम्पबाट ज्यान गुमाउने समस्त स्वदेशी÷विदेशी जनप्रति हार्दिक श्रद्धाञ्जली ! घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना ! महाभूकम्प र महापराकम्पनले ज–जसलाई बचायो, बाँच्नेहरुका लागि यसको विशिष्ट सन्देश हुनुपर्छ– ‘तिमीहरु बाँचेका छौं, अब अरुलाई बचाउ र बाँचुञ्जेल राम्रो कर्म गर ।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News