“केपीको पनि बीपीको जस्तै नियति हुने खतरा बढ्यो”


 


काठमाण्डौँ, असार ८

नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले केपी ओली सरकारमाथि पनि २०१७ सालको खतरा उत्पन्न हुने संकेत देखिएको बताएका छन् । काँग्रेसका विदेशस्थित जनसम्पर्क समितिहरुको डेनमार्कमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता महरले नेपालमा नयाँ–नयाँ राजनीतिक घटना हुने गरेको भए पनि स्थितातिर लिन नसकिएको बताए ।

उनले भने, ‘नेपालमा नयाँ–नयाँ राजनीतिक घटनाहरु हुने गरेका छन् । तर यसलाई स्थिरतातिर कसरी लैजाने भन्ने छ । अहिले झल्झली याद आउँछ, बीपी कोइरालाको सरकार कसरी असफल भएको थियो भनेर । कता– कता हेर्दा केपी ओलीको सरकार पनि त्यतातिर गइसकेको अवस्था देखिन्छ ।’

कम्युनिस्ट सरकार अतिवाद र सर्वसत्तावाद भएपनि नागरिकको हैसियत सोच्दा देशको अवस्था सोचनिए बनेको बताए । ‘यो कम्युनिस्ट सरकार हो । उ अतिवाद छ, सर्वसत्तावाद छ । त्यो आफ्नो ठाउँको कुरा भयो,’ उनले भने, ‘तर देशको एउटा नागरिकको हैसियतले भन्ने हो भने कुनै पनि सबल श्रष्ठा, सबल व्यक्ति नेपालमा असफल हुने एउटा प्रणाली जसरी चलेको छ, यसले राष्ट्रलाई राम्रो रिजल्ट दिँदैन भन्ने हो । यसतर्फ पनि हामीले सोच्नु पर्ने देखिन्छ ।’

फरक प्रसंगमा नेता महरले पार्टी र भ्रातृ संघ संगठनलाई संघीय संरचनाअनुसार बढाउन ढिलो गर्न नहुने तर्क गरे । ‘हामीले संघीय संरचना अनुसार पार्टी, पार्टीका संघ–संस्थाहरु अगाडि बढाउनुपर्ने विषय पनि जटिल छ । तर यसमा ढिलो गर्नु हुँदैन,’ उनले भने ।

नेपाली काँगे्रस गैरआवासी नेपालीलाई नागरिकता र लगानीको सहज वातावरण बनाउन प्रतिबद्ध रहेको र रहने पनि उनले बताए ।

प्रकाशित मिति: ८ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्