ओली सरकारका दुई निर्णयलाई आम नागरिकको स्वागत


 


काठमाडौं । चौतर्फी आलोचित बनिरहेको बर्तमान सरकारका पछिल्ला दुई निर्णय भने सकारात्मक ठानिएको छ । सरकारले विदेशी विज्ञापनमाथि नियमन गर्न ल्याएको विज्ञापन ऐन र क्लिन फिडको कार्यान्वयलाई आम नागरिकले सकारात्मक ठानेका हुन् । त्यस्तै विषादीयुक्त भारतीय तरकारी तथा फलफूल आयातमा लगाईएको प्रतिबन्धलाई पनि आम नागरिकले सरकारले महत्वपूर्ण कदमको रुपमा लिएका छन् ।

नेपाली टिभी सेवा प्रदायक कम्पनीहरुले शुल्क लिएर विज्ञापनसहितका विदेशी च्यानल चलाईरहेका छन् । सरकारले त्यसलाई रोक्न क्लिन फिड अर्थात विज्ञापनरहित टेलिभिजनको अवधारणा ल्याएको छ । त्यसैको विरोधमा टेलिभिजन सेवा प्रदायक कम्पनीहरुले २४ घण्टाको लागि विदेशी च्यानल बन्द गराएका छन् ।

अहिले टेलिभिजन सेवा प्रदायक कम्पनीहरुले ग्राहकहरुबाट पनि शुल्क लिईरहेका छन्, भने विज्ञापनसहित विदेशी च्यालन पनि चलाइरहेका छन् । अन्तर्राष्ट्रिय मान्यता अनुसार विदेशी च्यानल विज्ञापनरहित हुनुपर्छ । प्रस्तावित ‘विज्ञापन ऐन २०७६’ मा विज्ञापनसहित आउने विदेशी च्यानलहरु नेपालमा प्रसारण गर्न नपाउने उल्लेख छ ।

टेलिभिजन सेवा प्रदायक कम्पनीहरुले यसको विरोध गर्र्दै आएका छन् । उनीहरुले क्लिन फिडले नेपाली च्यानलहरुलाई धरासायी बनाउनुको साथै भारतबाट अवैध डिटीएचका सेटअप बक्सहरु भित्रिने र त्यसले प्रत्यक्ष रुपमा नेपाली च्यानलहरुलाई प्रभावित पार्ने दाबी गरेका छन् । भारतीय ब्रोडकास्टर फोरमले यसअघि नै विज्ञापनरहित च्यानल दिन नसकिने जनाईसकेको छ ।

सरकारले भने उक्त क्लिन फिड लागू गरेरै छोड्ने अडान लिँदै आएको छ । जानकारहरुले सरकारको यो कदमलाई ऐतिहासिक मानेका छन् । तर उनीहरुले कतै कम्पनीहरुसँग सरकार झुक्ने त होईन कि भन्नेमा आशंका व्यक्त गरेका छन् । नेपाली विज्ञापनहरुले सरकारलाई लाखौं रुपैयाँ कर तिर्दै आएका छन् । तर विदेशी विज्ञापनबाट वार्षिक रुपमा राज्यलाई अर्बौ रुपैयाँ घाटा भईरहेको छ ।

दोस्रो कदम विषादीयुक्त भारतीय तरकारीमा रोकः
हरेक काममा आलोचित सरकारले कैलाली–कञ्चनपुरमा भारतीय तरकारी र फलफूल आयातमा प्रतिबन्ध लगाएको छ । भारतबाट विषादीयुक्त तरकारी नेपाल आयात हुने गरेको भन्दै सरकारले प्रतिबन्ध लगाएको हो ।

विषादी परिक्षण विना भारतीय तरकारी र फलफूलको आयातमा प्रतिवन्ध लगाउन भन्सार विभागले निर्देशन दिएपछि आयातमा रोक लगाईएको हो । भन्सार विभागले असार २ गते नै परिपत्र गरेपनि दुई जिल्लाका भन्सार कार्यालयहरुले भने गत शुक्रवारदेखि मात्रै तरकारी र फलफूलको आयातमा रोक लगाएका थिए ।

भन्सार विभागको परिपत्रमा क्वारेन्टाइन जाँचको प्रमाणपत्र नभएका सबै फलफूल तथा तरकारी आयातमा प्रतिवन्ध लगाउन निर्देशन दिईएको थियो । भन्सार विभागको परिपत्रपछि भन्सार कार्यालय कैलालीले तरकारी र फलफूलको आयातमा रोक लगाएको हो । अब विषादी परिक्षणपछि मात्रै तरकारी र फलफूल आयात गरिनेछ । विषादी परिक्षणको व्यवस्था सुदूरपश्चिमका कुनै पनि स्थानमा छैन् ।

जसले गर्दा भारतीय तरकारी तथा फलफूलको आयात केही लम्बिने देखिएको छ । सरकारको उक्त कदमलाई पनि आम नागरिकले सकारात्मक मानेका छन् । पहिला निर्णय गर्ने अनि दबाब आउँदा त्यसबाट पछि हट्ने गरेको भन्दै यि दुई निर्णयबाट पछि नहट्न सरकारलाई सुझाव दिएका छन् ।

प्रकाशित मिति: ११ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्