प्रचण्डलाई बालुवाटार बोलाएर ओलीले के भने ?


 


काठमाण्डौँ । पार्टीभित्र जारी विवाद समाधानको प्रयासमा सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल भएको प्रधानमन्त्रीसमेत रहेका ओलीको सचिवालयले जनाएको छ । भेटमा राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद राख्ने ओलीको प्रस्तावपछि बढेको विवाद समाधानलगायत विषयमा छलफल भएको बुझिएको छ ।

शनिबारको नेकपा सचिवालय बैठकमा ओलीले पार्टीको राजनीतिक प्रतिवेदनमा बहुदलीय जनवाद लेखेर जान प्रस्ताव गरेपछि विवाद बढेको थियो । प्रचण्डसहित माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमले दुई पार्टी एकताका बेला पार्टी कार्यदिशा जनताको जनवादमा सहमति भएकाले महाधिवेशनसम्म त्यसैमा टेकेर अघि बढ्नुपर्ने अडान लिएपछि ओली समस्यामा परेका थिए ।

स्रोतका अनुसार प्रचण्डसँग ओलीले उक्त प्रस्ताव फिर्ता लिएका छन् । ‘अध्यक्ष ओलीले बहुदलीय जनवाद भन्ने आफ्नो प्रस्ताव फिर्ता लिनुभएको छ’, प्रचण्डले निकट स्रोतले काठमाण्डुटुडेसँग भन्यो, ‘उहाँले म ब्याक भएँ भन्नुभएपछि यो विवाद मिलेको छ ।’

यस्तै दुई अध्यक्षबीच मन्त्रिमण्डल पुनर्गठन, नेताहरुको कार्यविभाजन तथा विभागहरु ग्ठनबारेसमेत कुराकानी भएको बताइएको छ । विवाद सुरुभएपछि प्रचण्ड चितवन गएकाले दुई अध्यक्षबीच छलफल हुन पाएको थिएन ।

प्रकाशित मिति: ११ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्