धान रोप्ने समयमा मल अभाव, किसान चिन्तित


 


काठमाडौं । मानो रोपेर मुरी फलाउने किसानको महोत्सव धानबाली रोपाइँलाई यस वर्ष न प्रकृतिले साथ दियो, न त सरकारी अनुदानित मलले। यस वर्ष किसान सरकार र प्रकृृति दुवैबाट ठगिन बाध्य भए । करिब १० दिन ढिलो गरी सुरु भएको मनसुनी वर्षा सबै क्षेत्रमा एकै रूपले सक्रिय हुन सकेन ।

कुनै स्थानमा थोर बहुत परेको छ । कुनै स्थानमा मनसुनी पानी नपरेर धानको ब्याडसमेत किसानले राख्न पाएका छैनन् । यसले अघिल्लो वर्षको तुलनामा देशभर धान रोपाइँ प्रभावित भएको छ ।

धानको अत्यधिक उत्पादन मध्य र पूर्वी क्षेत्रमा हुन्छ । तर, ती दुवै स्थानमा यस वर्ष औसतभन्दा कम परिमाणमा मनसुनी वर्षा हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी पानीले मात्रै साथ नदिने हो भने यस वर्ष धानबाली उत्पादनमा ५ प्रतिशत कमी आउने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आन्तरिक प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा मौसमका कारण ५ प्रतिशत कम उत्पादन हुने उल्लेख छ । अर्थात् ५६ लाख १० हजार टन हाराहारीमा धान उत्पादन हुने प्रक्षेपण गरिएको छ । समयमा रासायनिक मलसमेत उपलब्ध नहुने हो भने धानबाली उत्पादनमा थप परिमाणमा गिरावट आउने सम्भावना छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रकाशित मिति: १४ असार २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्